अब अनलाइनबाटै नेपाल टेलिकमको सिम, हुलाकमार्फत प्राप्त गर्न सकिने

सिम र डेलिभरी शुल्क गरी १६० रुपैयाँ

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त गराउने उद्देश्यले ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । 

यस सेवामार्फत ग्राहकले अब घरमै बसेर अनलाइन आवेदन दिई नयाँ प्रिपेड सिमकार्ड हुलाकमार्फत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए ।

सेवाको शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाकमार्फत सिम वितरण गर्ने कार्य सानो देखिए पनि नागरिकलाई सहज सेवा उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

आफू उक्त सेवाको पहिलो ग्राहक बन्न पाएकोमा खुसी व्यक्त गर्दै उनले यसको दायरा थप विस्तार गर्न निर्देशन दिए ।

उनले आगामी दिनमा नेपाल टेलिकमका अन्य सेवा पनि पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउनुपर्नेमा जोड दिए । यसबाट सरकारी सेवालाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने सरकारको प्रयासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलले नयाँ पुस्ताको अपेक्षाअनुसार प्रविधिमा आधारित सेवा सुरु गर्न सक्नु सकारात्मक उपलब्धि भएको बताए । 

उनले सरकारी सेवा हुलाकमार्फत नागरिकको घरदैलोमा पुर्याउने सरकारको योजनामा यसले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले कार्यालय र डिलरमार्फत सेवा दिँदै आएको कम्पनी अब ग्राहकको घरदैलोसम्म पुग्न सक्षम भएको बताइन् । 

उनले हुलाक सिम सेवालाई कम्पनीको सेवा प्रवाहमा महत्त्वपूर्ण कोशेढुंगाका रूपमा व्याख्या गरिन् ।

उनका अनुसार यस सेवाबाट सुगम क्षेत्रका ग्राहक मात्र नभई सडक सञ्जालको पहुँच नभएका दुर्गम ग्रामीण क्षेत्रका नागरिकसमेत लाभान्वित हुन सक्नेछन् । आगामी दिनमा कम्पनीका अन्य सेवा पनि घरदैलोमै पुर्याउन आवश्यक पहल गरिने उनले प्रतिबद्धता जनाइन् ।

हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार गर्न हुलाक सञ्जाल प्रभावकारी माध्यम बन्न सक्ने बताइन् । उनले दुई संस्थाबीच अन्य सेवा वितरणमा समेत सहकार्य विस्तार गर्न सकिने धारणा राखिन् ।

कसरी मगाउने सिम ?

नेपाल टेलिकमको हुलाक सिम सेवा लिन ग्राहकले esim.ntc.net.np मा प्रवेश गरी ‘पोस्टल सिम पोर्टल’ छनोट गर्नुपर्नेछ ।

त्यसपछि पोर्टलमा दिइएको निर्देशनअनुसार दर्ता गरी व्यक्तिगत विवरण भर्नुपर्नेछ । आवेदनका क्रममा पूरा नाम, जन्ममिति, ठेगाना, नजिकको चिनिने स्थान (ल्यान्डमार्क) लगायतका विवरण उपलब्ध गराउनुपर्नेछ ।

ग्राहकले आफ्नो प्रोफाइल फोटो तथा नागरिकता वा राहदानीको अगाडि र पछाडिको स्पष्ट तस्बिर अपलोड गर्नुपर्नेछ । त्यसपछि आफूलाई नजिक पर्ने नेपाल टेलिकमको काउन्टर छनोट गरी आवेदन पेस गर्न सकिनेछ ।

आवेदन प्राप्त भएपछि नेपाल टेलिकमले पेस गरिएका कागजात परीक्षण गर्नेछ । कागजात जाँचको नतिजा ग्राहकलाई एसएमएसमार्फत जानकारी गराइनेछ । आवेदन स्वीकृत भएमा भुक्तानी प्रक्रियामा अघि बढ्न सकिनेछ भने कुनै विवरण अपुग वा त्रुटिपूर्ण भएमा सच्याउन सकिने व्यवस्था छ ।

सिम र डेलिभरी शुल्क गरी १६० रुपैयाँ

हुलाकमार्फत नयाँ सिम प्राप्त गर्न ग्राहकले कुल १६० रुपैयाँ तिर्नुपर्नेछ । यसमध्ये सिमकार्डको शुल्क ९० रुपैयाँ र हुलाकमार्फत घरसम्म पुर्याउने शुल्क ७० रुपैयाँ तोकिएको छ ।

आवेदन स्वीकृत भएपछि ग्राहकले अनलाइनमार्फत उक्त रकम भुक्तानी गर्न सक्नेछन् । कुनै पनि बैंकिङ एप वा डिजिटल वालेटबाट क्यूआर कोड स्क्यान गरी अथवा नमस्ते पेमार्फत सिधै रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

भुक्तानी सम्पन्न भएपछि नेपाल टेलिकमले ग्राहकका लागि मोबाइल नम्बर निर्धारण गर्नेछ । त्यसको जानकारीसँगै सिम डेलिभरी पुष्टि र सक्रिय गर्ने कोड (एक्टिभेसन कोड) एसएमएस तथा इमेलमार्फत पठाइनेछ ।

ग्राहकले उक्त एक्टिभेसन कोड सुरक्षित राख्नुपर्नेछ । सिम प्राप्त भएपछि सक्रिय गर्न सो कोड आवश्यक पर्नेछ ।

सिम कहाँ पुग्यो भनेर ट्र्याक गर्न सकिने

भुक्तानी र आवश्यक प्रक्रिया पूरा भएपछि ग्राहकको नजिकको हुलाक कार्यालयमार्फत सिम पठाइनेछ । सिम वितरणको अवस्थाबारे अनलाइनबाटै ट्र्याक गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

हुलाक कर्मचारीले सम्बन्धित ग्राहकको घरमै पुगेर सिमकार्ड हस्तान्तरण गर्नेछन् । त्यसक्रममा ग्राहकले आफ्नो मोबाइल नम्बर र आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ ।

घरमै प्राप्त भएको सिमकार्ड दुई तरिकाबाट सक्रिय गर्न सकिनेछ । पहिलो, सम्बन्धित पोर्टलमा लगइन गरी एक्टिभेसन कोड प्रविष्ट गरेर सिम सक्रिय गर्न सकिनेछ ।

दोस्रो, नयाँ सिमकार्डबाट *१४१४# डायल गरेर पनि सिम सक्रिय गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

Share News