नेपाल टेलिकमको सस्तो फाइबर इन्टरनेट अब ५ हजार रुपैयाँमै

काठमाडौं । नेपाल टेलिकमले फाइबर इन्टरनेट प्रयोगकर्ताका लागि नयाँ प्याकेज सार्वजनिक गरेको छ । 

कम्पनीले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत वाइफाई ६ प्रविधिसहितका नयाँ प्याकेज उपलब्ध गराउने भएको हो ।

टेलिकमले एनटी फाइबर प्रयोगकर्ताका लागि विभिन्न गतिको इन्टरनेट सेवा समेटिएका वार्षिक प्याकेज ल्याएको हो । 

नयाँ व्यवस्थाअनुसार ग्राहकले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि फाइबर इन्टरनेट सेवा लिन सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ प्याकेजअन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यस्तै, वाइफाई ६ इन्डिभिजुअल प्याकेजअन्तर्गत इन्टरनेट र टेलिफोन सेवासहित १०० एमबीपीएस गतिको प्याकेज वार्षिक ११ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । 

१५० एमबीपीएस गतिको प्याकेजका लागि वार्षिक १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेजका लागि १६ हजार ४९९ रुपैयाँ शुल्क तोकिएको छ ।

यी प्याकेज लिने वार्षिक ग्राहकले ८०० देखि एक हजार एमबीसम्म मोबाइल डाटा पनि प्राप्त गर्नेछन् ।

टेलिकमले सबै नयाँ प्याकेजको अवधि १२ महिना तोकेको छ । साथै, नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्कसमेत छुट दिने व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार नयाँ प्याकेज तथा छुट सुविधा आगामी असोज ३० गतेदेखि लागू हुनेछन् ।

Share News