४ हजार ९९९ रुपैयाँको इन्टरनेट प्याकेजबारे नेपाल टेलिकमको स्पष्टीकरण

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएसको ४ हजार ९९९ रुपैयाँको इन्टरनेट प्याकेजका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले उक्त प्याकेजबारे तथ्यभन्दा फरक समाचार प्रकाशित तथा प्रसारित भइरहेको भन्दै भ्रममा नपर्न सरोकारवालालाई आग्रह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषयमा जारी गरेको प्रेस विज्ञप्तिलाई आधार मानेर प्याकेजबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल टेलिकमले विगतदेखि नै सञ्चालन गर्ने विभिन्न प्याकेज स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको छ । असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइसकिएको टेलिकमले स्पष्ट पारेको छ ।

टेलिकमका अनुसार उक्त प्याकेज यसअघि विद्यार्थी अफरका रूपमा समेत प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको थियो ।

कम्पनीले ४ हजार ९९९ रुपैयाँको इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा भ्रममा नपर्न सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

नेपाल सरकारको स्वीकृत नीति तथा प्रचलित कानुनको परिधिभित्र रहेर काम गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमले कानुनको पालना गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।   

Share News