इंग्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डले नेपाललाई १८५ रनको उच्च लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको इंग्लान्डलेर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । इंग्ल्यान्डका लागि ज्याको बेथहेलले ५५ रनको र ह्यारी ब्रुक्सले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । बेथहेलले ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दा कप्तान ब्रुक्सले भने ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।  यी दुईबाहेक जोस बटलरले २६ रन बनाउँदा विल ज्याक्स ३९ रनमा नटआउट रहे । उनले १८ बलमा १ चौका र ४ छक्काको विष्फोटक इनिङ्स खेले । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिँदा शेर मल्ल र सन्दीप लामिछानेको नाममा १(१ विकेट रह्यो । विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

भिभोको विश्वकप उपभोक्ता अफर सार्वजनिक, स्मार्टफोन खरिदमा निःशुल्क जर्सी उपहार

काठमाडौं । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नयाँ विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको हो । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, 'नेपालमा क्रिकेट केवल एक खेल मात्र होइन, यो साझा राष्ट्रिय भावना हो । यस अभियानमार्फत हामी फ्यानहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै उनीहरूलाई भिभोको नवीन विशेषतासँगै राष्ट्रिय रंग (जर्सी) गर्वका साथ लगाउने अवसर दिन चाहन्छौं ।' यस योजना अन्तर्गत, भिभोको आधिकारिक अनलाइन प्लेटफर्म पार्टनर दराज मार्फत यही माघ २७ गतेसम्म रु. ३५,००० भन्दा माथिको जुनकुनै भिभो स्मार्टफोन खरिद गर्दा ग्राहकहरूले निःशुल्क विश्वकप जर्सी उपहार स्वरुप पाउनेछन् । यो अफर भिभो वाई ४००, भिभो भि६० लाईट, भिभो भि६०, भिभो एक्स २०० प्रो र भिभो एक्स ३०० प्रोमा लागू हुनेछ । उपभोक्ता अफरका अतिरिक्त, भिभोले विभिन्न डिजिटल तथा अन–ग्राउन्ड गतिविधिहरू पनि सञ्चालन गर्नेछ, जहाँ फ्यानहरूले अन्तरक्रियात्मक गतिविधिहरूमा सहभागी भई निःशुल्क जर्सी तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । यो पहलले उपभोक्ताहरूलाई आफ्नो स्मार्टफोन अपग्रेड गर्नुका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रति एकीबद्धता जनाउने मौका पनि दिएको छ । नेपाल प्रिमियर लिगदेखि विश्वकपसम्म, भिभोले सधैं क्रिकेट समुदायसँगै उभिँदै फ्यानहरूको उत्साहलाई सम्मान गर्दै नेपाली क्रिकेटलाई विश्वमञ्चमा अघि बढाउन समर्थन गर्दै आएको छ ।

लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग स्वरूप २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले विगत वर्षदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै पोखरा–१७ दोबिल्ला, कास्कीस्थित एकेडेमीलाई उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखा प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउनु खुशीको विषय भएको बताए । साथै, साहारा क्लबले समाजमा उदाहरणीय तथा प्रशंसनीय कार्य गर्दै आएको भन्दै क्लबका पदाधिकारीहरूको प्रशंसा गरे । सहयोगका लागि आभार व्यक्त गर्दै साहारा क्लबका अध्यक्ष थापाले प्राप्त रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा तथा खानामा खर्च गरिने जानकारी दिए । हाल एकेडेमीमा १५ जिल्लाका ३० जना कठिन तथा विपन्न परिस्थितिका बालकहरू आश्रित छन् । क्लबले उनीहरूको लालनपालन, शिक्षा तथा फुटबल प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । साहारा क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दै आएको छ । देशका सातै प्रदेशमा शाखा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका हाल ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा सञ्चालनमा छन् । 'निरन्तर सहयात्रा' भन्ने नारासहित बैंकले आधुनिक प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत खातामा उच्च ब्याजदरको विशेष योजना पनि सञ्चालन गर्दै आएको जनाएको छ ।