काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमाडौं गोर्खाज ब्याटिङका लागि मैदान उत्रिन लागेको हो । जारी लिगमा पाँचौं खेल खेल्न लागेको लुम्बिनी आजको खेल जित्दै दुई खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।
यसअघि खेलेका तीन खेलमा जित र एक खेलमा अंक बाँड्दै ७ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, चार खेलमा दुई जित र दुई हारसहित ४ अंक जोडेको काठमाडौं गोर्खाज चौथो स्थानमा छ । काठमाडौंले आजको टोलीमा एक परिवर्तन गर्दै देव शाहको स्थानमा आदिल आलमलाई मैदान उतारेको छ ।
विगतको नतिजा हेर्दा काठमाडौंविरुद्ध लुम्बिनीको पल्ला भारी देखिन्छ। लिगका अघिल्ला दुई संस्करणका साथै अघिल्लो सिजनको एलिमिनेटरमा पनि लुम्बिनीले काठमाडौंलाई पराजित गरेको थियो। पछिल्ला ११ खेलमा अपराजित रहँदै उत्कृष्ट फर्ममा रहेको लुम्बिनी आज पनि सोही लय कायम राख्न चाहन्छ ।
आजको खेलका लागि दुवै टोलीमा लुम्बिनी लायन्सबाट रोहित पौडेल (कप्तान), सन्दीप जोरा, तिलक भण्डारी, अविशेक गौतम, आशिफ शेख, दीलीप नाथ, शेर मल्ल, रुवेन ट्रम्पलम्यान, निरोशन डिकवेल्ला, डार्सी सर्ट र ग्रान्ट स्टेवार्ट छन् । यस्तै, काठमाडौं गोर्खाजमा करण केसी, भीम सार्की, रासिद खान, आदिल आलम, सन्तोष यादव, साहब आलम, साहिल पटेल, डेविड वार्नर, सहान, विलियम बसिस्टो र जनादन खान छन् ।