ह्यारी केनले जिते बालोन डी’ओर

२५ वर्षपछि इंग्ल्यान्डलाई सफलता

काठमाडौं । इंग्ल्यान्डका स्टार स्ट्राइकर ह्यारी केनले विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ ओर जितेका छन् । गत सिजन क्लब र राष्ट्रिय टोलीबाट असाधारण प्रदर्शन गरेका केन सन् २०२६ को पुरुष बालोन डी’ओर विजेता बनेका हुन् ।

केनले गत सिजन जर्मन क्लब बायर्न म्युनिख र इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट जम्मा ६५ खेलमा ७३ गोल गरेका थिए । उनले बायर्नबाट ६१ र इंग्ल्यान्डबाट १२ गोल गरेका हुन् ।

यससँगै केन सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । इंग्ल्यान्डका खेलाडीले २५ वर्षपछि यो प्रतिष्ठित पुरस्कार जितेका हुन् ।

केनको यो सफलताले उनको फुटबल करिअरमा नयाँ इतिहास रचेको छ । लामो समय इंग्लिस क्लब टोटनहम हट्सपरमा बिताएर उपाधिको खोजीमा जर्मनी पुगेका उनले अन्ततः विश्व फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत सम्मान हात पारेका हुन् ।

टोटनहम छाड्ने निर्णयले बदलियो करिअर

केनको फुटबल यात्रामा सन् २०२३ को अगस्ट महत्त्वपूर्ण मोड बन्यो । उनले करिब १९ वर्ष बिताएको इंग्लिस क्लब टोटनहम हट्सपर छाडेर जर्मनीको बायर्न म्युनिख जाने निर्णय गरेका थिए ।

११ वर्षको उमेरमा टोटनहमको युवा टोलीमा प्रवेश गरेका केन पछि क्लबका कप्तान र सर्वाधिक गोलकर्ता बने । तर, लामो समय क्लबमा बिताउँदा पनि उनले प्रमुख उपाधि जित्न सकेका थिएनन् ।

null

टोटनहम छाड्दा उनी इंग्लिस प्रिमियर लिगमा एलन सियररको सर्वाधिक गोलको कीर्तिमान तोड्न केवल ४७ गोलले पछाडि थिए । त्यसैले उनको जर्मनी जाने निर्णयलाई धेरैले आश्चर्यका रूपमा लिएका थिए ।

तर, केन व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलता चाहन्थे । यही उद्देश्यले बायर्न पुगेका उनी अहिले फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार जित्न सफल भएका छन् ।

एकै सिजन ६१ गोल, रोनाल्डोको कीर्तिमानसँग बराबरी

सन् २०२५–२६ को सिजन केनको करिअरकै उत्कृष्ट रह्यो । उनले बायर्न म्युनिखबाट सबै प्रतियोगितामा ६१ गोल गरे । यो युरोपका प्रमुख पाँच लिगका अन्य कुनै पनि खेलाडीको भन्दा १९ गोल बढी हो ।

सन् २०१४–१५ मा क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका लागि ६१ गोल गरेयता युरोपका शीर्ष पाँच लिगका कुनै पनि क्लबका खेलाडीले एकै सिजन यति धेरै गोल गरेका थिएनन् ।

केनका ६१ गोलमध्ये १७ पेनाल्टीमार्फत भएका थिए । ती गोल हटाउँदासमेत उनको संख्या ४४ पुग्छ । यो दोस्रो स्थानमा रहेका किलियन एम्बाप्पेको कुल ४२ गोलभन्दा बढी हो ।

केनले जर्मन बुन्डेसलिगामा मात्रै ३६ गोल गर्दै लगातार तेस्रोपटक गोल्डेन बुट जिते । बुन्डेसलिगाको इतिहासमा लगातार तीन वा त्यसभन्दा बढी सिजन सर्वाधिक गोलकर्ता बन्ने उनी रोबर्ट लेवान्डोस्कीपछि दोस्रो खेलाडी हुन् ।

बुन्डेसलिगाको इतिहासमा एकै सिजन ३६ भन्दा बढी गोल गर्ने उपलब्धि यसअघि तीनपटक मात्रै हासिल भएको थियो । लेवान्डोस्कीले सन् २०२०–२१ मा ४१ तथा गर्ड मुलरले सन् १९७१–७२ मा ४० र १९६९–७० मा ३८ गोल गरेका थिए ।

गत सिजन केनले पाँच ह्याट्रिकसमेत गरे । तीमध्ये चार बुन्डेसलिगामा थिए ।

च्याम्पियन्स लिगदेखि विश्वकपसम्म उत्कृष्ट प्रदर्शन

केनले युरोपेली च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले प्रतियोगितामा १४ गोल गर्दै आफ्नो व्यक्तिगत कीर्तिमान बनाए ।

च्याम्पियन्स लिगमा सर्वाधिक १५ गोल गरेका एम्बाप्पेभन्दा उनी एक गोलले मात्रै पछाडि रहे । यद्यपि, एकै सिजन च्याम्पियन्स लिगमा कम्तीमा १४ गोल गर्ने उनी इतिहासकै छैटौं खेलाडी बने ।

राष्ट्रिय टोलीबाट पनि केनको प्रदर्शन उत्तिकै प्रभावशाली रह्यो । उनले सन् २०२६ को विश्वकपमा इंग्ल्यान्डका लागि ६ गोल गरे ।

यससँगै विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान उनले आफ्नो नाममा लेखाए । केनले विश्वकपमा कुल १४ गोल गर्दै ग्यारी लिनेकरको १० गोलको कीर्तिमान तोडे ।

उनी पाँच फरक प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने इंग्ल्यान्डको पुरुष टोलीका पहिलो खेलाडीसमेत बने ।

लगातार उत्कृष्ट प्रदर्शन नै केनको सबैभन्दा ठूलो विशेषता

केनको सफलताको प्रमुख आधार उनको निरन्तर उत्कृष्ट प्रदर्शन हो । उनी कुनै एक सिजन मात्रै चम्किएका खेलाडी होइनन् ।

सन् २०१४–१५ देखि २०२५–२६ सम्म लगातार १२ सिजन उनले क्लब फुटबलमा कम्तीमा २० गोल गरे । तीमध्ये आठ सिजनमा उनको गोल संख्या ३० वा त्यसभन्दा बढी रह्यो ।

यस अवधिमा युरोपका शीर्ष पाँच लिगका क्लबबाट सबै प्रतियोगितामा केनले ४२१ गोल गरे । उनीभन्दा बढी गोल गर्ने खेलाडी रोबर्ट लेवान्डोस्की मात्रै थिए, जसले ४६४ गोल गरेका थिए ।

गत सिजन केनले क्लब र राष्ट्रिय टोलीबाट ४७ फरक खेलमा गोल गरे । उनी लगातार दुई खेलभन्दा बढी गोलविहीन रहेनन् ।

गोल गर्ने अवसर सदुपयोग गर्ने क्षमतामा पनि केन उत्कृष्ट देखिए । गत सिजन पेनाल्टीबाहेकका उनका २४.१ प्रतिशत प्रहार गोलमा परिणत भए ।

यो दर एम्बाप्पेको १५.८ प्रतिशत, मिकेल ओयारजाबालको १६.३ प्रतिशत र फेरान टोरेसको १८.८ प्रतिशतभन्दा निकै माथि थियो । एर्लिङ हालान्डको गोल रूपान्तरण दर भने २५.२ प्रतिशत थियो ।

त्यस्तै, सन् २०२१–२२ देखि २०२५–२६ सम्मको पाँच सिजनमा केनले पेनाल्टीबाहेकका प्रहारबाट अपेक्षित गोल (एक्सजी) ९०.२ हुँदा वास्तविक रूपमा ११२ गोल गरे । अर्थात् उनले अपेक्षाभन्दा २२।८ गोल बढी गरेका थिए ।

यसले केन गोल गर्ने अवसरलाई परिणाममा बदल्न कति सक्षम छन् भन्ने देखाउँछ ।

खेल निर्माणमा पनि उत्तिकै सक्रिय

केनलाई केवल गोल गर्ने स्ट्राइकरका रूपमा मात्रै हेर्न मिल्दैन । उनी मैदानमा पछाडि झरेर टोलीको आक्रमण निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्छन् ।

गत सिजन उनले बल छोएका कुल अवसरमध्ये १४.८ प्रतिशत मात्रै विपक्षीको पेनाल्टी क्षेत्रभित्र थिए । तुलनात्मक रूपमा हालान्डको यो दर २६.८ प्रतिशत थियो ।

केनले विपक्षीको पेनाल्टी क्षेत्रबाहिर प्रतिखेल औसत ३७.१ पटक बल छोएका थिए भने हालान्डको संख्या १६.४ थियो ।

केन पछाडि झर्दा विपक्षी डिफेन्डरलाई आफ्नो स्थान छाड्ने वा उनलाई खाली ठाउँ दिने भन्ने समस्या पर्छ । यसबाट बायर्नका तीव्र गतिका अन्य आक्रमणकारीले फाइदा उठाउँछन् ।

गत सिजन केनले ६ असिस्ट गर्नुका साथै खुला खेलबाट ६७ गोलका अवसर सिर्जना गरेका थिए ।

बायर्नका माइकल ओलिसे र लुइस डियाजको सफलतामा पनि केनको भूमिका महत्त्वपूर्ण रह्यो । ओलिसेले २६ र डियाजले १९ असिस्ट गरेका थिए ।

टोटनहममा रहँदा प्रमुख उपाधि जित्न नसकेपछि नयाँ चुनौती स्वीकार गर्दै जर्मनी पुगेका केनको निर्णय अहिले सार्थक बनेको छ । व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई प्राथमिकता दिएका उनले आफ्नो करिअरकै सबैभन्दा ठूलो व्यक्तिगत सम्मान जितेका छन् । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाे सहयाेगबाट)

Share News