काठमाडौं । अर्जेन्टिनाका युवा फुटबल खेलाडी एबल नुनेजको खेलका क्रममा टाउकोमा चोट लागेपछि मृत्यु भएको छ ।
उनी एफसी एजेइजाको युवा टोलीबाट खेल्थे । उनको क्लबले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेको हो ।
खेलसम्बन्धी समाचार वेबसाइट टीवाईसी स्पोर्ट्सका अनुसार गत नोभेम्बर १२ मा डेपोर्टिभो मुनिजविरुद्धको खेलका क्रममा नुनेजको टाउकोमा बल लागेको थियो ।
अर्जेन्टिना फुटबल संघको ‘जुभेनिलेस सी’ प्रतियोगिताअन्तर्गत उक्त खेल क्लब एट्लेटिको ला सोनियाको मैदानमा भइरहेको थियो ।
घटनाको तीन दिनपछि आइतबार (नोभेम्बर १५) उनको मृत्यु भएको पुष्टि गरिएको हो । घटनापछि उक्त खेल रोकिएको थियो । त्यसपछि खेलाइने तय भएको अर्को युवा टोलीबीचको प्रतिस्पर्धा पनि स्थगित गरिएको थियो ।
एफसी एजेइजाले विज्ञप्तिमा यस घटनालाई क्लबका लागि अत्यन्तै दुःखद खबर भनेको छ । क्लबले नुनेजको परिवार, साथीभाइ र सहखेलाडीहरूप्रति समवेदना व्यक्त गरेको छ ।