नागभुषण महादेव मन्दिरलाई जनता बैंकको १ लाख ५० हजार सहयोग
काठमाडौँ । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरे । ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।
नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली पोखरातर्फ प्रस्थान
काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन् । रासस
एक करोड ७५ लाख बराबरकाे कभर्ड हल निर्माण शुरु
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमिन सम्याउने काम भइरहेको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमिन दिने निर्णय गरेको छ । “यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमिनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भने । कभर्ड हलका लागि गत आर्थिक वर्षमा रु एक करोड ७५ लाखको विस्तृत परियोजना प्तवेदन (डिपिआर) तयार गरिएको थियो । हाललाई भलिबल, ब्याटमिन्टन, बास्केटबल तथा अन्य साना (इन्डोर) खेल सञ्चालनका लागि संरचना निर्माण गरिने परियोजनाका सव–इञ्जिनीयर मनोज दाहालले बताए । कभर्ड हल निर्माणपश्चात् जिल्लाको खेल क्षेत्रमा ठूलो योगदान हुने तथा क्षेत्रीयस्तरमा खेलिने विभिन्न इन्डोर खेल सहज रुपमा आयोजना गर्न सकिने प्रदेश सभासदस्य रत्न ढकालले बताएका छन् । उनका अनुसार कभर्ड हलमा करिब ६०० मानिस अट्नेछन् । ३ नम्बर प्रदेशस्थित रामेछापको मन्थलीमा कभर्ड हल निर्माण शुरु भइसकेको छ भने दोलखाको मैनापोखरी, सिन्धुपाल्चोकको चौतारामा निर्माण प्रक्रियामा छन् । सिन्धुली जिल्लाको कमलामाई र दुधौलीमा भने रङ्गशाला निर्माणको प्रक्रिया थालिएको धुलिखेलस्थित प्रदेश परियोजना कार्यान्वयन एकाईले जनाएको छ । रासस