बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव माघ १६ गतेदेखि हुँदै
काठमाडौं । प्रदेश नं. २ लाई व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित भ्रमण वर्ष २०२० सफल पार्न ‘आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६’ माघ १६ गतेदेखि शुरू हुने भएको छ । बर्दिबास नगरपालिकाे गौतम होटलमा माघ २५ गतेसम्म हुन लागेको यस महोत्सवले बर्दिबासको आर्थिक संवृद्धिका लागि सहायक हुने स्थानीय बासिन्दाको भनाइ छ । त्यस क्षेत्रमा रहने स्थानीयवासीलाई सर्वसुलभ तरिकाले सम्पूर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले सुरु हुन लागेको मेलाले समग्र बर्दिबासवासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुर्याउनेछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीको मुख्य आयोजना तथा नेपालका विभिन्न जिल्लाहरुमा औंधोगिक तथा व्यापार मेला गर्दै आएको संस्था औंद्योगिक शान्ति नेपाल सस्थाको सहकार्य र बर्दिवास नगरपालिकाको संरक्षणमा उक्त योजना हुन लागेको हो । बर्दिबास आफैमा एक व्यापारिक धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल रहेको छ । यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीका अध्यक्ष शान्तराज मोक्तानले जानकारी गराए । उक्त मेलामा २ सय भन्दा बढी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउनेछन् । त्यसैगरी, अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको जानकारी औंद्योगिक शान्ति नेपाल सस्थाको अध्यक्ष सन्दिप महतले गराएका छन । प्रदेश स्तरीय बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६ मा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाई भरपुर मनोञ्जन दिनेछन् । मेलामा बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्यान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी अध्यक्ष महतले गराए । साथै उक्त मेला अवलोकन गरी आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाई प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले आव्हान गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्थामा अध्यक्षमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिवमा शंकर गुरुङ , कोषाध्यक्षमा प्रितम मल्ल तथा सचिवालय व्यवस्थापकमा बिनोद जैसवाल रहेका छन ।
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, बिक्री वितरणमा रोक
पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए । उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शङ्का लागेको बताए । । आज बिहान यस्तो समस्या देखेपछि उनले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य सङ्घलाई खबर गरेका थिए । खबरपश्चात पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिएका छन् । शङ्कास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रीका लागि रोकसमेत लगाइएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।रासस
दिनहुँ बढ्दै अपराध, बढी मुद्दा लागुऔषधका
बाँके । केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्च रुपमा बढेको हो । विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार, चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अपराधको सङ्ख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने प्रहरीको दाबी छ । “अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले सङ्ख्या बढेको हुन सक्छ”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले भने, “शान्ति सुरक्षा भनेको तथ्याङ्कभन्दा पनि अनुभूत गर्ने कुरा हो ।” प्रहरी उपरीक्षक ओलीले आम नागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको बताए । उनले भने, “विगतमा प्रहरीमा आउन हिच्किचाउनेहरु आज सहजै प्रहरी कार्यालयमा आएर न्याय खोज्न थालेका छन् । यो अपराधरहित समाज निर्माणका लागि राम्रो पक्ष हो ।” पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासले मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको उनको दाबी छ । प्रहरी उपरीक्षक ओलीका अनुसार जिल्लामा सबैभन्दा बढी मुद्दा लागुऔषधका छन् । अन्य मुद्दाभन्दा लागुऔषधका मुद्दा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको हो । आव २०७१/०७२ मा ९९, आव २०७२/०७३ मा ७८, आव २०७३/०७४ मा १३७, आव २०७४/०७५ मा १४७ र आव २०७५/०७६ मा २४९ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् । चालू आवको पछिल्लो ६ महिनामा लागुऔषधका १०८ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालू आवको पछिल्लो ६ महिनामा ३०२ किलोग्राम लागुऔषध गाँजा, चरेश ९०९ ग्राम, अफिम चार किलो, कोरेक्स एक लिटर, नाइट्रोजेपाम दुई हजार ९२३ ट्याब्लेट बरामद गरेको छ । यसैगरी, जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि उल्लेख्य रुपमा बढेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २४, आव २०७५/०७६ मा १२२ र चालू आवको पहिलो ६ महिनामा ६ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । त्यस्तै आव २०७१/०७२ मा कूल ७३८ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो भने आव २०७५/०७६ मा कूल एक हजार १५६ मुद्दा दर्ता भएको छ । यसले पाँच वर्षको अवधिमा मुद्दा दर्ताको सङ्ख्या दोब्बरले वृद्धि भएको देखाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७२/०७३ मा ७५५, आव २०७३/०७४ मा ८५५, आव २०७४/०७५ मा एक हजार २१ मुद्दा दर्ता भएको तथ्याङ्क छ । चालू आवको पहिलो ६ महिनामा ५६४ मुद्दा दर्ता भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । “चालू आर्थिक वर्षको अहिलेसम्म ५६९ मुद्दा फस्र्यौट भएका र ५४ मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन्”, प्रहरी उपरीक्षक ओलीले भने, “चालू आवको पछिल्लो ६ महिनामा ६२३ मुद्दामा ७७३ पुरुष र ३३ महिलालाई मुद्दा प्रक्रियामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।” उनले चालू आवको ६ महिनामा विभिन्न ४७ शीर्षकमा ५६४ मुद्दा दर्ता भएको जानकारी दिएका छन् । सहकारीको रु ५२ करोड अपचलनको मुद्दा अनुसन्धान गरी अदालत पठाएको जानकारी दिँदै उनले हत्या, आगजनी, लुटपाटलगायतका घटनाको अनुसन्धान गरी कानुनी कारवाही गरेको बताए । बाँकेमा चालू आर्थिक वर्षको पुस महिनासम्म १२ हजार ६५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा रु ६९ लाख ९ हजार राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष ३० हजार ५६२ सवारी साधनबाट रु एक करोड ६७ लाख ७८ हजार ५०० राजश्व सङ्कलन भएको थियो । त्यस्तै प्रहरीले चालू आवको ६ महिनामा ८८ जना जुवाडेलाई कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिनामा ५९ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । तीमध्ये फरार भएका १४ र अदालतबाट सजाय तोकिएका फरार ४५ जना अभियुक्त रहेका छन् । “फरार घोषित अपराधीलाई पक्राउ गरी अदालत बुझाएका छौँ”, प्रहरी उपरीक्षक ओलीले भने । यसैगरी पछिल्लो ६ महिनाको अवधीमा आगलागीका २२ घटना नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको उनले बताए । रासस