बेवारिसे शव व्यवस्थापन गर्ने विनयलाई १५ सय डलर सहयोग
काठमाडौं । विनयजंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसुस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन । त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । दुव्र्यसनबाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बेवारिसे रुपमा फालिएका शवहरुको व्यवस्थापन गर्न लागिपरेका छन् । ‘बाँचुन्जेल त मानिसले समान रुपमा बाँच्न पाएका छैनन्,’ मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बस्नेतले भने, ‘मृत्युपछि शवमाथि पनि अहिले अन्याय गरिन्छ, त्यसलाई रोक्नु आजको आवश्यकता हो ।’ तिनै विनयलाई उनको काममा सहयोग होस् भनेर अष्ट्रेलियाको शिक्षण संस्था बक्स हिलका म्यानेजर तथा अन्तर्राष्ट्रिय भाइस प्रिन्सिपल जोन क्यूले सहयोग गरे । उनले विनयको काम राम्रो भएको भन्दै आफू र कलेजको तर्फबाट विनयलाई १५ सय अष्ट्रेलियन डलर दिएका हुन् । ‘उहाँले गरेको काम साँच्चिकै मानवीय भावले ओतप्रोत छ,’ जोनले कार्यक्रममा भने, ‘यसलाई सहयोग गर्दा मेरो मन पनि प्रफुल्ल भएको छ ।’ यो कार्यक्रम अष्ट्रेलियाका शिक्षण संस्थाहरुमा जाने नेपाली विद्यार्थीलाई समायोजन गरिरहेको शैक्षिक परामर्श कम्पनीहरुको संस्था नायरले समायोजन गरेको थियो । कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले भने, ‘विनयजीको काम साँच्चिकै सम्मानयोग्य छ, उहाँलाई यो सहयोग गर्ने अवसर जुटाउन पाएकोमा हामी खुसी छौँ ।’ त्यस्तै, नायरका अध्यक्ष विज्ञान श्रेष्ठले पनि यो कार्यक्रम गर्न पाउँदा नायरलाई खुसी लागेको बताए । ‘अष्ट्रेलियामा हामी विद्यार्थी पठाइरहेका छौँ,’ उनले भने, ‘त्यहाँका शिक्षण संस्थाहरुले नेपाली समाजप्रति देखाएको यो सदाशयता निकै प्रशंसनीय छ ।’ यो कार्यक्रम हब प्रोफेसनल सर्भिसेसको सहयोगमा सम्पन्न भएको थियो ।
संगित सापकोटाको ‘टीका’ कुञ्ज नाटकघरमा
काठमाडौं । भदौ २० गतेदेखि कुञ्ज नाटकघरमा ‘टीका’ मञ्चन भईरहेको छ । निर्देशक संगित सापकोटाको निर्देशनमा मञ्चन भएको उक्त नाटक भदौ २० गते शुक्रबारदेखि थापागाँउ स्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेकाे हाे। भिमनिधि तिवारीले लेखेकाे साे नाटक बुधबार बाहेक साँझ ५ः३० बजे र शनिबार १ बजेदेखि मञ्चन हुँदै आइरहेको छ । दशैं नजिकिँदै गर्दा कामका लागि विदेशिने नेपालीहरुको कथामा केन्द्रित रहेर लेखक तिवारीले नेपाली युवाहरुको विदेशिनु पर्ने बाध्यता, चाडपर्व सँगै मनाउन नपाउँदाको पिडालाई प्रस्तुत गरेका छन् । घरमा रहेको एउटा मात्रै छोरा त्यो नि परिवारकाे दैनिकी अवस्था सुधार गर्न, आवश्यकता परिपूर्ति गर्नका लागि विदेशिने लाखौं नेपाली युवाको बाध्यतामा आधारित भई निर्देशक सापकोटाले सरल एवं मार्मिक तवरबाट उक्त टिका नाटकको मन्चन गरेका छन् । प्रत्येक वर्ष आफ्नो देशको जनशक्ति बाहिरिँदा नेपाललाई पर्ने असर र युवालाई देशप्रति उत्पन्न हुने भावनालाई प्रस्तुत गर्दै नेपालमा नै युवाले केही गर्न सक्छन् है भन्ने सन्देश उक्त नाटकले प्रदान गर्दछ । दिलिप खड्काकाे प्रोडक्सन डिजाईनमा रहेको उक्त नाटकमा श्रवण राना मगर, विनिता गुरुङ, राजकगल फकिर, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन र आनन्द महत रहेका छन् । त्यस्तै नाटकमा संगीत संगित सापकोटा र मोनिस निरौलाको रहेको छ ।
निर्माणधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा
डडेलधुरा । डडेलधुरामा निर्माणाधीन ‘सेमी कभर्डहल’ अलपत्र अवस्थामा परेको छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएको सो कभर्डहल बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । जिल्लामा रहेको एकमात्र ४० वर्ष पुरानो टिटी कभर्डहल गत वर्ष साउन महिनामा वर्षातका कारण भत्किएको थियो । गत आवमा रु १० लाख बराबरको कर्भडहल निर्माणको काम भएको भए पनि चालू आवमा भने कभर्डहल निर्माणका लागि रकम विनियोजन नभएको जिल्ला खेलकूद विकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर भण्डारीले बताएका छन् । कभर्डहलसँगै जोडिएको जिल्ला खेलकूद विकास समितिको कार्यालय पनि भत्किए पछि एक वर्ष यतादेखि भाडाको घरमा सञ्चालन भइरहेको छ । खेल मैदानबाट एक किलोमिटरको दूरीमा कार्यालय हुँदा खेल खेलाउनका लागि समस्या हुने गरेको जिल्ला खेलकूद विकास समितिका भलिबल प्रशिक्षक नरेश थापाले बताए । अहिले इन्डोरमै गेम सञ्चालन गर्ने समयमा डडेल्धुरामा कभर्डहल नहुँदा वर्षातको समयमा जिल्लामा खेलकूद गतिविधि शून्य रहेको उनले बताएका हुन् । कभर्डहल नहुँदा वर्षातको समयमा इन्डोरका साथै भलिबल गेम हुन सकेका छैनन् । नेपाली सेनाको स्वामित्वमा रहेको टँुडिखेलबाहेक अन्य खेलमैदान नहुँदा खेलकूद गतिविधिमा कमी आएको छ । त्यसैले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्नका लागि तीनवटै सरकारले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । रासस