सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा

चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैं एउटै पन पाउने हुँदा दोहोर्याएर आउन छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक घट्दै गएको जानकारी दिए । उनले भने, “वर्षौंदेखि एउटै गतिविधि मात्र भएकाले पर्यटकको सङ्ख्या बढ्न सकेन ।” निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने, नयाँ गतिविधि गर्न नसकीने हुँदा समस्या उत्पन्न भएको उनले गुनासो गरे । निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जीप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन् । पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैँमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम खोज्ने भए पनि दिन नसकिएको जनाइएको छ । वर्षेनी निकुञ्ज प्रवेशको राजश्व बढ्दै जाँदा पर्यटकको खर्च पनि बढ्दै जाने गरेको छ । खर्च धेरै हुने र नयाँ पन पाउन नसक्ने भए पछि दोहो¥याएर पर्यटक आउने क्रम घटेको छ । अध्यक्ष भट्टराईले निकुञ्ज बाहिर रात्रिकालीन जीप सफारी, धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउनेजस्ता नयाँ कार्यक्रम गर्न लागेको बताउँछन् । क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनाल होटलको सङ्ख्या बढ्दै जाने तर पर्यटकको सङ्ख्या बढ्न नसकेपछि व्यवसायी धराशायी बन्दै गएको गुनासो गर्छन् । व्यापार नभएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले गुनसो राखे । नयाँ कार्यक्रम दिएर प्रचारप्रसार गर्न नसकिएमा यहाँको पर्यटन व्यवसाय टिक्न नसक्ने खनाल बताउँछन् । सौराहा क्षेत्रबाहेक अन्यत्र जहाँतहीँ सामुदायिक वनमा पर्यटक छिर्दा निकुञ्ज प्रवेश शुल्क नलाग्ने भए पनि यहाँ सामुदायिक वनमा हात्ती चढ्ने पर्यटकले निकुञ्जलाई राजश्व बुझाउनुपर्ने बाध्यताले खर्चिलो बनेको जनाइएको छ । सौराहा क्षेत्रमा ११५ होटल रहेका छन् । जसमा रु १० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । यसमध्ये ६० प्रतिशतभन्दा बढी बैंकको लगानी रहेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरे पर्यटक आइदिए हुन्थ्यो भन्ने मात्र चाहना व्यवसायीमा हुँदा सङ्ख्या बढ्न नसकेको बताउँछन् । नयाँ कार्यक्रम दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण एवं प्रचारप्रसार हुन नसकेमा यस क्षेत्रको पर्यटन व्यवसाय धराशायी हुने उनको चिन्ता छ । उनले भने, “यही हिसाबले अघि बढ्यो भने यहाँको पर्यटन व्यवसाय विस्थापित हुन सक्छ ।” पर्यटकीय क्षेत्रका सडक, विद्युत्जस्ता पूर्वाधारमा सरकारको मुख ताके पनि अन्य गतिविधिमा व्यवसायी आफैँ अघि बढ्नुपर्ने र नयाँ प्याकेज उत्पादन गरी बजारीकरण अहिलेको अपरिहार्यता रहेको निवर्तमान अध्यक्ष घिमिरेले जानकारी दिए । पहिले पहिले वर्षात्को समयमा होटलक कर्मचारीलाई व्यापार नभएपछि बिदा दिने गरिन्थ्यो । झण्डै १० वर्षयता वर्षात्मा समेत पर्यटक आउन थालेपछि बिदा दिन रोकिएकोमा पछिल्ला वर्षमा वर्षात्को समयमा पर्यटक निकै कम मात्र आउन थालेको व्यवसायी बताउँछन् । क्रिसमस र नयाँ वर्षपछि यतिबेला गत वर्षहरुमा पर्यटकको आगमन बढ्न शुरु हुन्थ्यो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराई यस वर्ष भ्रमण वर्षका अवसरमा छुटका प्याकेज दिइएको भए पनि पर्यटक आगमनमा निकै कमी रहेको बताएका छन् । अहिले दैनिक २ सय ५० हाराहारी पर्यटक सौराहा आउने गरेको उनले बताए । विगतका वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक आउने गर्दथे । अहिले आएका चिनियाँ पर्यटक केही सीमित होटलमा आउने भएकाले अन्य होटल सुनसान रहेका छन् । यहाँबाट दैनिक आठ वटा वस काठमाडौँ र चार वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटकमात्र हुने गरेका छन् । रासस

आरक्ष पीडितका समस्या समाधान गर्ने तीन मन्त्रीको सामूहिक प्रतिबद्धता

काठमाडौं । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने तीन मन्त्रीले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कंचनपुरमा आरक्ष पीडित जनताका अगाडि वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र खानेपानी मन्त्री बिना मगरले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । वन मन्त्री बस्नेतले कंचनपुरका भूमिहीन आरक्ष पीडितहरुका समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाएको बताए । ‘भूमिहीन भएर बस्नु पर्दाको पीडा हामीलाई थाहा छ, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘जनता दुखी भएर मुलुकको समृद्धि हुँदैन । समतामूलक समाज पनि बन्दैन । त्यसैले कंचनपुरको समस्याप्रति सरकार निकै गम्भीर छ ।’ कार्यक्रममा भूमि व्यवस्था मन्त्री अर्यालले आरक्ष पीडित जनतालाई सधैं पीडामा राख्नु हुँदैन भन्ने कुरामा सरकार दृढ प्रतिबद्ध रहेको बताएका छन् । उनले कंचनपुरका आरक्ष पीडित भूमिहीन जनताको समस्या समाधान गर्न नै आफू आएको स्पष्ट पारे । ‘सुकुम्बासी र भूमिहीन जनतालाई बासस्थानको व्यवस्था गर्ने सरकारको संकल्प हो, उनले भने, ‘यसका लागि हामीले भूमि ऎन ल्याएका छौं । भूमि ऎन मार्फत शक्तिशाली आयोग बनाएर भूमिहीन भएका जनताको समस्या समाधान गर्छौं ।’ त्यस्तै, खानेपानी मन्त्री मगरले आरक्ष पीडित जनताका अगाडि यस अघि गरिएका बाचा तथा प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएकी छन् । ‘धेरै वर्ष देखि यहाँहरुले त्रासदीपूर्ण जीवन बिताइरहनु भएको छ, उनले सम्बोधन गर्दै भनिन्, ‘त्रासदी पूर्ण जीवन र झुपडीमा बस्नुपर्ने दिनको अब चाडैं अन्त्य हुनेछ । हामी सबै प्रतिबद्धता र बाचा पुरा गर्ने छौं भनेर भन्न आएका हौं ।’ खानेपानी मन्त्री मगरले कञ्चनपुरका आरक्ष पीडित जनताको उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उनकै अग्रसरतामा दुई मन्त्री कन्चनपुर आएका हुन् । तत्कालीन सरकारले माओवादी जनयुद्धको बेला संकटकालको समयमा आरक्षलाई विस्तार गर्ने भन्दै त्यस क्षेत्र वरिपरिका जनतालाई अन्यत्र पठाइएको थियो । त्यो समय देखि घरबार विहीन हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा यस अघिका जन प्रतिनिधि र सरकारले कुनै ठोस पहल गरेका थिएनन् । यस अघिका सरकारहरुले समस्या समाधानका लागि भन्दै विभिन्न आयोग बनाए पनि त्यतिबेलाका आयोगले कुनै समाधानको निकास ननिकालेको पीडित स्थानीयहरुको आरोप छ ।२०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका दश गाविस रौतेली बिचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो । विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन् ।

सरकारको प्राथमिकतामा धार्मिक पर्यटन, फागुन १ गतेदेखि चन्द्रागिरीमा बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् । उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त भएको जानकारी गराए । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे । शनिबार बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए । ‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने,‘हाम्रो देश सानो देश भएपनि सांस्कृति, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’ नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थल पनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे । वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्नको लागि दुईवटा संस्था धार्मिक संस्था पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले अहिले राम्रोसँग काम गरिरहेका छन् । धार्मिक पर्यटनलाई पनि भ्रमण वर्षसँग जोड्ने काम गरेका छौं ।’ उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्रशान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्न ेपनि घोषणा गरे । त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले धार्मिक महायज्ञले धर्म, संस्कृतिको रक्षा गर्ने विश्वास व्यक्त गरे । ‘यस्तो महायज्ञले धर्म र संस्कृतिप्रतिको आस्था र विश्वास बढाउँछ । यो भनेको सबैको साझा गन्तब्य हो ।’–धमलाले थपे । नेपाल गौतम बुद्ध, मुक्तिनाथ, माता जानकी, पशुपतिनाथको देश भएको सुनाउँदै नेपालमा धार्मिक पर्यटनको ठूलो संभावना रहेको धमलाको भनाई छ । ‘धार्मिक पर्यटनको विकास र सम्वद्र्धनको लागि अब राष्ट्रव्यापी अभियान अघि बढाउनुपर्छ । यस्तो कोटिहोमलाई राज्यले सहयोग गर्नुपर्छ । माननीय मन्त्री योगेश भट्टराईले यो महायज्ञलाई सहयोग गर्नुहुन्ुछ ।म यसमा पूर्ण विश्वस्त छु । आगामी दिनमा पनि यस्ताखाले धार्मिक महायज्ञ गर्दै जानुपर्छ ।’ धमलाले नेपालको धार्मिक यात्राको लागि भारत र चीनबाट ठूलो संख्यामा पर्यटकहरु आउनेपनि बताए । कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए । ‘हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान नदिएको उनले बताए । भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ ।’ उनले नेपाल धार्मिक र जैविक विविधिता भएको देश भएकोले आफूहरुसँग राज्यले धर्म पर्यटनबारे छलफल नगरेकोमा भने दुःख व्यक्त गरे । ‘यो धार्मिक पर्यटनको देश हो । सरकारले यसलाई समावेश गरेर लैजानुपर्छ । अनिमात्रै भ्रमण वर्ष सफल हुन्छ ।’–उनले थपे । चन्द्रागिरी नगरपालिका काठमाडौंभित्र रहेको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटनको महत्व बोकेको क्षेत्र भएको पनि अधिकारीको भनाई छ । ‘यो क्षेत्रको विकास हुनुपर्छ । यो आजको आवश्यकत्ता हो । यसप्रति सरकारको ध्यान जाओस् । हामी यो महायज्ञमा भ्रमण वर्षसँग जोडेर हवन गर्नेछौं । यो यज्ञले श्राप देशबाट सबैखाले हटाउँछ । देशलाई समृद्ध बनाउँछ ।’ पछिल्लो समय देशमा भएका सबैखाले मठ–मन्दिरहरु अनियन्त्रित रुपमा चलिरहेको सुनाउँदै यसलाई नियन्त्रण गर्न जरुरी रहेको आवश्यकत्ता औंल्याए । कार्यक्रममा श्री १००८ स्वामी भागवत आचार्यले नेपाल भ्रमण वर्षलाई आफूहरुले आयोजना गर्न लागेको यज्ञले सहयोग पुर्याउँने विश्वास दिलाए । ‘यो धार्मिक कार्यमा सम्बन्धित मन्त्रालयले यसमा आर्थिक सहयोग र योगदान पुर्याओस भनेर आग्रह र अपेक्षा राखेका छौं ।’–उनले भने । उक्त यज्ञमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि आमन्त्रण गरेको सुनाए । त्यतिमात्रै नभएर भारतका विभिन्न मठ, मन्दिरका पीठाधिश, मठाधिशलाई पनि निमन्त्रणा गरिएको उनले जानकारी दिए । उक्त महायज्ञको सुरुदेखि अन्तिमसम्म (९ दिन) सम्म प्राईम टाईम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेपनि उनले स्पष्टा परे । उनले भने,‘अरु मिडियाले पनि साथ दिनुहोस् । यस यज्ञमा विभिन्न देश र ठाउँबाट आएका मानिसहरुको गाँस, बाँसको व्यवस्था गरिदिन म सरकारी निकायहरुलाई आग्रह गर्न चाहन्छु ।’आजको पत्रकार सम्मेनलको सभापतित्व भने समितिका अध्यक्ष राजाराम थापाले गरेका थिए । उनले भ्रमण वर्षलाईनै टेवा पुर्याउनेगरि आफूहरुले उक्त महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना गर्न लागेको सुनाए । उनले भने,‘हामीले धार्मिक पर्यटनको विकासमा जोड दिएका छौं । यसको लागि विभिन्न देशका धार्मिक निकायहरुसँग कुरा गरिरहको छौं । हामीले यस्तो आग्रह गर्दा उहाँहरुबाट सकारात्मक सन्देश पाएका छौं ।’ उनले उक्त यज्ञ सफल बनाउनको लागि सहयोगको अपिल गर्नुको साथ यज्ञमा सहभागी हुनको लागि निमन्त्रणा पनि दिएका थिए । समितिका अनुसार दैनिक कोटी हवन विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान्ह २ बजेदेखि ५ बजेसम्म रहेको छ । उक्त महायज्ञमा एक करोड दीप प्रज्वलन गरिनेछ भने कथा वाचन विहान ११ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।