चुरेमा क्षेत्रमा बढ्याे काठ तस्करी

निजगढ । चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको छ । दैनिक काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयलाई नियन्त्रण गर्न समस्या भएको छ । केही दिनअघि तस्करले बिक्रीका लागि लुकाएर राखेको सालको काठ डिभिजन वन कार्यालयले बरामद गरेको थियो । निजगढस्थित सेक्टर वन कार्यालयले पसाहा खोला, रतनपुर, सिगौललगायत क्षेत्रबाट ठूलो परिमाणमा काठ बरामद गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख महमद मन्सुरले जानकारी दिएका छन् । तस्करले काठ माटो, बालुवा तथा स्याउलाले छोपेर राख्ने गरेका छन् । उनीहरुले सालको एउटा कडी रु तीन हजारभन्दा बढीमा बिक्री गर्ने गरेका छन् । निजगढ नगरपालिका– १, २ र ३ अन्तर्गत पर्ने सिगौल–फापरबारी सडकखण्डमा साल तथा साजका रुख काटिएका छन् । तस्करले काठ ट्र्याक्टरमा ढुवानी गर्ने गरेका छन् । उनीहरुले दिउँसै रुख काटेर तस्करी गर्ने गरेका हुन्। रासस

आज सार्वजनिक बिदा, मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाइदै

धनुषा । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । “जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, आन्तिरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

पुर्खाको नासो जनताको हक भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान शुरु

काठमाडौं । टुँडिखेल अतिक्रमणमुक्त गरौं अभियानका साथ रत्नपार्क र खुल्लामञ्चलाई मानव साङ्गो बनाई घेरिएको छ । सरकार तथा महानगरले ‘अकुपाई टुँडिखेल’को स्थितिको बारे ध्यान केन्द्रित नगरेपछि विहान ८ः३०मा सो क्षेत्रलाई मानिसले घेरेका हुन् । पुर्खाको नासो जनताको हक भन्ने नाराका साथ साथै शुरु भएको सो घेराउ कार्यक्रममा टुँडिखेल कस्को विर्ता अब लिनेछौं फिर्ता जस्ता विभिन्न नारा गुन्जिएको थियो । हातमा हात समाई घेर्न सम्भव नभए पछि हरियो रिवनको साहेताले रत्नपार्कदेखि टुँडिखेल घेरिएको थियो । आगामी तीन महिनासम्म हुने उक्त कार्यक्रम सफल बनाउन स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जन दबाब अभियानमा जुटेका छन् । विश्व स्वतन्त्रता दिवसको अवसर पार्दै टुँडिखेल बचाउ अभियानको सुचारु गरिएको हो । बाजा सहितकाे सहितकाे उक्त घेराउ टाेलीमा केन्द्रिय, स्थानिय तहका नेता तथा जनप्रतिनिधिको बाक्लाे उपस्थिति रहेको थियो ।