डिभी परेका वडाध्यक्ष अमेरिकामा, हस्तलिखित राजीनामा नदिंदा उपनिर्वाचन नहुने
हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो । अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए । निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताए । उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ । अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका थिए । उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिए । शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि भएर इमेलमा राजीनामा पठाएको उनको भनाइ छ । उनले भने, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।” भदौमा इमेलमार्फत राजीनामा दिएका घिसिङको अझैसम्म पनि लिखित राजीनामा नआएको जनाइएको छ । देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको हो । उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गरेका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गरेका थिए ।
भवन निर्माणमा चिकित्सक पाण्डेद्वारा एक करोड प्रदान गरिने
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरेका छन् । उनले भने, “महानगरले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए । समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका सङ्ख्या बढिरहेको बताए । के हो चिनीरोग ? वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा चिकित्सक पुकार श्रेष्ठका अनुसार शरिरमा चिनी (सुगर)को मात्र बढी हुनुलाई चिनीरोग भनिन्छ । शरीरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गौला र आँखालाई यसले असर पुर्याउँछ । चिकित्सकका अनुसार छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् । नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले कूल जनसङ्ख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् । “चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।” चिकित्सक श्रेष्ठ भन्छन्। यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । रासस
आज मधुमेह दिवस, अल्का अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर
काठमाडोँ । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका विहिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विहान साढे ९ बजेबाट सुरु हुने शिविर अपरान्ह ४ बजेसम्म चल्नेछ। अस्पताल र काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। शिविरको मुख्य विशेषता भनेको र्याण्डम ब्लड सुगर, एचबिएवान सी, ७ दिनदेखि १० दिन सम्मका लागि निशुल्क औषधि बितरण र २८ दिनभित्र एक पल्ट निशुल्क फलोअप हो । शिविर आयोजना अघि अल्का अस्पतालले सचेतनामुलुक र्याली निकालेको छ । र्याली अल्का अस्पतालबाट जावलाखेल चोक हुदैँ कुमारीपाटी, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अस्पताल परिसरमा नै आएर टुंगिएको थियो । मधुमेह कसरी थाहा पाउने ? (वरिष्ठ चिकित्सक अंशुमाली जोशीका अनुसार) – खाना रुचेर पनि तौल घटदै जाने । – पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने । – मुख सुख्खा हुने, प्यास धेरै लाग्ने । – भोक बढी लाग्ने तर दुव्लाउदै जाने । – कमजोरी हुने र खुट्टाहरु झम्झमाउने । – खुट्टाहरु पोल्ने । – पिसावमा कमिलाहरु देखिने । – घाउहरु छिटो निको नहुने । कसरी बच्ने ? – हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने । – मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने । – सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, (आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो । – व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने। – दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।