कात्तिक ३० गते कलाकार तथा गायक गायिकाबीच दौड प्रतियोगिता हुँदै
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा समापन हुने आयोजक सस्थाले जानकारी गराएको छ । भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि यस कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता हरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमलाई रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।
मेलम्चीपछिको ठूलो मर्दी खोला खानेपानी आयोजनाको काम धमाधम अघि बढ्दै
काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी पिउनयोग्य बनाउने उद्देश्यले जापान सरकारको सहयोगमा उक्त आयोजनाको काम अघि बढाएको छ । आयोजनाको काम शुरु भएको पाँच महिना पूरा भएको छ । गत जेठ महिनामा खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास गरेकी थिइन् । मन्त्री मगरले पोखरामा बन्दै गरेको यस आयोजनालाई ढिलाई नगर्न निर्देशन दिएकी छिन् । खानेपानी मन्त्रालयको मेलम्ची आयोजना पछिको यो दोस्रो ठूलो आयोजना हो । आयोजनाको काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई चार अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । जापानले दिएको कुल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाज्मा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाज्मा कम्पनीसँग संस्थानले गत २४ फागुनमा सम्झौता गरेको थियो । हाज्मा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको हो । संस्थानका अध्यक्ष जिउलाल चौधरीले खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको र यस आयोजनाबाट अधिकांश पोखरेलीबासीले प्रत्यक्ष लाभ पाउने बताए । यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ३ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष चौधरीको भनाई छ । यो पाँच महिनाको अवधिमा उल्लेख्य भौतिक प्रगति भएको संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले जानकारी दिए । जापानले दिएको अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, रिजर्भवायर ट्यांकी निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. प्रसादको भनाइ छ । दैनिक ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने गरी ट्रिटमेन्ट प्लान्टको काम रफ्तारमा अघि बढेको महाप्रबन्धक प्रसादले बताए । त्यस्तै, खानेपानी भण्डारण गर्न २०-२० लाख लिटरको तीनवटा रिजर्भवायर पानी ट्यांकीको निर्माण कार्य पनि धमाधम भईरहेको छ । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माणको काम भईरहेको संस्थानका पोखरा शाखा प्रमुख आशिष कार्कीले जानकारी दिए । शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ । पस्र्याङ, फूलबारी, कोलपाटनमा निर्माण भईरहेको ट्यांकी मार्फत पोखरामा पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन बिछ्याइने छ । सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो ।
साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी
काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ । ‘इमेल फिसिङ’ भनेको दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो । अपराध महाशाखा साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लिलाराज डाँगी नेपालबाट विदेशमा हुने कारोवारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको बताउँछन् । “विदेशबाट सामान आयात गरेर इमेलमार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ”, उनी भन्छन् । यस्तै, प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ । महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा साइबर अपराधसम्बन्धी ४५२ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा पर्यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताए । “विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ”, उनले भने । महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२.०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९.९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७.९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् । “सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ”, उनी भन्छन् । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । महाशाखामा चालू आवमा साइबर अपराधमा ४५२ उजुरी दर्ता भए पनि ११ जनाविरुद्ध मुद्दा चलाएको छ । सामाजिक सञ्जालमा छ, ह्याकिङ गर्ने दुई र जथाभावी एसएमएस गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै, आव २०७३÷०७४ मा एक हजार १९७ उजुरी दर्ता भएकोमा २६ जनाविरुद्ध मुद्दा चलेको थियो । आव २०७४÷०७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकोमा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको तथा आव २०७५÷०७६ मा एक हजार ९३८ उजुरी दर्ता भएकोमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख थापा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको बताएका छन् । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही गर्दै आएको छ । विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने प्रावधान छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विसं २०७५ मा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताउनुहुन्छ । साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ । स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाको बारेमा पूर्ण अनुसन्धान गर्न नसके पनि केही घटनाको भने अनुसन्धान गर्दै आएको छ । महाशाखाले समेत अहिले साइबर अपराधका घटनाको अनुसन्धानका लागि ब्यूरोमा पठाउन थालेको छ । प्रहरीले लागू गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधसमेत रोकथाम हुने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ । रासस