काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् । यही फागुन ४ र १९ गते गरिएको अनुगमनको क्रममा १४ वर्ष मुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको हो । मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ । बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्पर्क गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिएका छन् । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरुको उद्धार गर्दै आएको छ । संस्थाले सरकारी कार्यालयका साथै विभिन्न बाल अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, स्थानीय, सरोकार निकायसँग समन्वय गरी उद्धार, स्याहार तथा जनचेतनाको कार्य गर्दै आएको प्रमुख भट्टराईले जानकारी दिएका छन् । रासस
आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित
डाेटी । सुदूरपश्चिम प्रदेशमा आठ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित भएका छन् । यसकारण नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको हाे । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् । अभियानमा पाँच हजार २ सय खोप केन्द्र र नौ हजार ३ सय स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिब २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए। अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै चैत १६ देखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी, शिखर नगरपालिका , पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यक्रम तय भएको उनले जानकारी दिएका छन् । उहाँले भने, “बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दुई चरणमा लगाउने योजना बनाएका छौँ, हाम्रो अभियानमा सबै स्थानीय तहले साथ र सहयोग गर्न जरुरी छ ।” कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । ढुक्क साथ आफ्ना बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन जिल्ला अस्पताल डोटीका डा. ज्योति पाण्डेले आग्रह गरे । जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित रहेकोे कार्यालयको तथ्याङ्कमा रहेको छ । स्वास्थ्य कार्यालयका अध्यक्ष यज्ञराज जोशीले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले यहाँका स्थानीय तहसँगको सहकार्यमा खोप अभियान सञ्चालन हुँदैछ । यसमा सहयोग गर्न म सबैमा आह्वान गर्छु । ” रासस
जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित
काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते ‘प्रेरणादायक र साहसी महिला’ लाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको हो । उक्त अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा र्याडिसन होटलले आयोजित गरेको थियो । येलो रोज डे २०२० मा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए । यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तन ल्याउछ र यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्दछ । जोन्टा क्लब अफ काठमाडौंका पुरस्कार कोटि र पुरस्कृतहरु यस प्रकार रहेका छन् ः – प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर: एआईजी डा. आशा सिंह, नेपाल प्रहरी – अमर राना गेम चेन्जर अवार्ड: आयुषी के.सी., प्रमुख कार्यकारी अधिकृत, खालीसीसी – ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप: प्राश्ना भट्टराई – ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी: छिरिङ डिके लामा त्यस्तै, नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५००० रुपौंया प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यो त्यस्ता ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् । सम्मानित हुने महिलाहरु: – लक्ष्मी नापित – नाई (बारबर) – सरस्वती सुवाल – मेकानिक – हर्मिता श्रेष्ठ- साझा बस चालक – मन्धिरा भण्डारी – इलेक्ट्रिशियन सन्नी रौनियार प्रधानको सुन्दर गीत ‘खुल्ला आकाश’ ले यस दिनको थिमलाई समादर गर्दै कार्यक्रमलाई थप रमाइलो बनायो । सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण-क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर-नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो । जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म-रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना-शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् । यो दुई वर्षको अवधी (२०१८-२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ ।