करातेमा नेपालले जित्यो १० स्वर्ण पदक
काठमाडौं । काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पारेकी छन् । महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गरिन् । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । सोही प्रतिस्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ । यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जितेका थिए । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन । रासस
उसु खेलमा नेपालका दीपक हमालले जिते स्वर्ण पदक
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका छन् । लगनखेलस्थित आर्मीको कर्भडहलमा बुधबार भएको खेलमा उनले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जितेका हुन् । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए । त्यस्तै, यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही प्रतिस्पर्धामा भारतका साजन लामाले रजत जिते भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पारेका हुन् । त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो । नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिएका थिए । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस प्रतिस्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पारे । रासस
शहरका होर्डिङ बोर्ड हटाउन कामपाकाे सक्रियता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो । कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात दिनको समय सम्बन्धित व्यक्ति र संस्थालाई दिइएको छ । उक्त समयभित्र पनि नहटाए कामपाले नै हटाउने र कारबाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ । अहिले पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका विज्ञापन राख्ने कार्य भएको कामपाले जनाएको छ । नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्ने नपाइने, झ्याल ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमा सम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ । विसं २०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले शहरका घर, पर्खाल, छत, बिजुलीको पोल र सडकका डिभाइडरमा रहेका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनः प्रयोग गर्न नदिन आवश्यक निवारणात्मक व्यवस्था गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको चार वर्षसम्म पालना नभएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलनामा कारबाही गर्न हालै रिट दायर गरेका थिए । रासस