देश लक डाउनमा, चाेर टाउन-टाउनमा

काठमाडाैं । सरकारले देशलाई लक डाउन घोषणा गरेसँगै चोरीका घटनाहरु बढ्न थालेका छन् । सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लक डाउन गरेको मौका छोपेर देशका विभिन्न ठाउँमा चोरीका घटना बढ्न थालेका हुन् । चोरहरुले काठमाडौंको पेप्सीकोला क्षेत्रमा दुई दिनमा ३ वटा पसल चोरेका छन् भने अन्यधेरै ठाउँमा चोरीको प्रयास भएका छन् । स्थानीयका अनुसार प्याप्सीकोलामा आधा दर्जन पसलमा चोरी र चोरीका प्रयास भएका छन् । चोरी भएको बारे जानकारी गराउँदै काँडाघारी प्रहरी प्रभागमा निवेदन लिएको स्थानियले जानकारी दिएका छन् । यसैगरी, बुधबार राति काठमाडौै ३२ पेप्सीकोला, टाउनप्लानिङमा रहेको सरिता कस्मेटिक पसलबाट पनि चोरी भएको छ। ती पसलमा रड ताल्चा फोरेर उक्त पसलभित्रका सामान र नगद चोरी भएको बताइएको छ । कोरोनाको संक्रमण बढिरहेको बेला मौका छोपेर चोरी र आपराधिक घटना बढेका छन् । देशमा कोरोना संक्रमण रोक्न लकडाउन भएको समयमा काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले सक्रियता बढाएको छ। हिजाे राति मात्रै ललितपुर निवासी सुजित बगौटीको घरमा जना तीन जना अपरिचित व्यक्ति घरमा पसकाे बुझिएकाे छ । तर, तिनीहरू चाेर्न भने असफल भएका छन् । यस्तै, कैलालीका सबै सरकारी कार्यालय लकडाउनकाे माैका उठाउँदै जंगलबाट अवैध काठ तस्करी हुन थालेपछि डिभिजन वन कार्यालय कैलालीले वन गस्तीमा सक्रियता बढाएको जानकारी  दिइएकाे छ ।

काठमाडौं उपत्यकामा लकडाउनको पूर्ण पालना

काठमाडाैं । कालिका खड्का कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौं उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाडौँ उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सरकारले लकडाउन घोषणा गरेको तेस्रो दिन आज त्यसको पूर्णरुपमा पालना भएको छ । ‘पहिलो दिन धेरै नै उल्लङ्घन भयो, कतिले लकडाउनको अर्थ नबुझेर पनि हो कि, दोस्रो दिन केही कम उल्लङ्घन भयो तर आज पूर्णरुपमा पालना भएको छ’, उनले भने, ‘प्रहरीले ‘कृपया घरमै बस्नुस्’ भनेर उपत्यकाभरि माइकिङ गरिरहेको छ ।’ प्रहरीले उपत्यकाका ३२ ठाउँबाट माइकिङ गर्ने व्यवस्था गरेको छ । प्रहरीको भ्यानमा माइक राखेर सरकारको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ । ‘प्रहरीले टोलटोलमा गएर घरमै बस्नुस्, तपाईं र तपाईंको परिवारको सुरक्षाका लागि हो भनेर सचेतना जगाउने काम गरिरहेको छ’, प्रवक्ता बोगटीले थपे, ‘सरकारका लागि वा प्रहरीका लागि घरमा बस्नु भनेको होइन, आफ्नो ज्यान जोगाउनका लागि भनेर बुझाइरहेका छौं ।’ प्रहरीले पहिलो र दोस्रो दिन लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गरेको थियो । तर आज पूर्णरुपमा लकडाउनको पालना भएको हुनाले एकजनालाई पनि अहिलेसम्म पक्राउ गर्नु नपरेको प्रवक्ता बोगटीले जानकारी दिए । विश्वव्यापी रुपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्यो । सरकारले बन्द गर्ने भनेपछि कफ्र्यु लगाउने शब्द सुनेका नागरिकले लकडाउनको अर्थ नबुझेर पनि केही मानिस घर बाहिर निस्किए । तर प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई पक्राउ गर्न लागेपछि कति सचेत भएर घरमै बस्न थाले । सरकारले सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि देशैभर पहिलो पटक कार्यान्वयनमा आएको लकडाउनबारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मङ्गलबार प्रहरी प्रशासनलाई बुझाउन निकै मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि पक्राउ गर्नुपर्ने प्रहरीलाई बाध्यता नै भयो । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरु सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् । सरकारले अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई आग्रह गर्दा पनि त्यस्ता पसल पनि बन्द देखिएका छन् । रासस

घरमै बसेर दैनिक नयाँ नयाँ नाटक हेर्न सकिने, शुरू हुँदै छ थिएटर फेस्टिभल

काठमाडौं । ‘लक डाउन’को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । ‘कोभिड-१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए । ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने । हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल (www.fb.com/theatremall) बाट एउटा नाटक देखाइनेछ । थिएटर मल तथा टिसिसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो । यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ ।’ महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए । ‘यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन,’ उनी भन्छन्, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं । यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ ।’ उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गरेका छन् । महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव-२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ । लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए । उनले भने, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ ।’ उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे । फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ । त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने उनले बताइन् । उनी भन्छिन्, ‘हामीलाई थाहा छ- हामीले यो समयमा जे काम गर्दैछौं, रङ्गमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौं । उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ । सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ ।’ फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन् । अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए । उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ ।’ नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए । लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ । फेस्टिभलबारे बढिभन्दा बढि रङ्मञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन् । त्यसलाई बढीभन्दा बढी शेयर गरिदिनु हुन पनि उनले आग्रह गरिन् । महोत्सव सफल पार्न मिडियाको ठूलो हात रहने भन्दै त्यसमा सहयोग गरिदिन मिडिया कोअर्डिनेटर कला अनुरागीले अनुरोध गरेका छन् । ‘संकटको समयमा सिर्जनात्मक कार्य गर्नु चुनौतिपूर्ण छ । तर यस्तै समयमा सिर्जनाको शक्ति र यसले प्रदान आत्मबलको अनुभूति गर्न सकिन्छ’, उनले भने, ‘त्यसैले संकटको समयमा हुने यस्ता सकारात्मक तथा सिर्जनात्मक कार्यको प्रचारमा मिडियाले प्राथमिकता दिनेछ भन्ने विश्वास छ ।’