भारतीय आप्रवासी कोरोनाको त्रासमा : खुट्टामा चप्पल छैनन्, सयौं माइल हिडेर घर जाँदै

नयाँदिल्ली । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ माइल हिँड्दै थिए । उनीहरु विभिन्न समूहमा छन् र केही आ –आफ्नो परिवार र आफ्ना बालबालिकासँग पनि थिए । कतिपय बृद्धबृद्धा छन् त कति स–साना केटाकेटी । केही मात्र त्यो समूहमा युवायुवती छन् । महिला र पुरुष बराबारी छन् । उनीहरु त्यो मरुभूमिको बाटोमा हिँडीरहेका छन् । कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन् । अनि युवायुवतीहरुले आफ्ना साना सन्तानलाई काखमा लिइरहेका देखिन्छन् । भारतका ठूला शहरहरुमा कामगर्ने मजदुर आप्रवाशीहरु ती शहरहरु कोरोना भाइरसको त्रासका कारण बन्द भएपछि यति लामो बाटो हिँडेर आफ्नो घर फर्किँदैछन् । शहरमा मजदुरी काम गर्दै आएका उनीहरु शहरमा सरकारले ‘लकडाउन’ गरेपछि उद्योग कारखाना पनि बन्द भए । त्यसपछि कामबिहीन बनेका उनीहरु सयौँ माइल हिँडेर गाउँघरमा फर्किदैछन्। उनीहरु आफै पनि कोरोना भाइरससँग तर्सिएर आफ्नो घर फर्किन लागेका हुन् । उनीहरुले शहरमा बस्दा प्रयोग गरेका आफ्ना सरसामानहरुसहित यति लामो बाटो हिँडेर गाउँ जान लागेका हुन् । भारत सरकारले २१ दिने भारत बन्दको घोषणा गरेको छ । यसबाट भारतका करिब एक अर्ब ३० करोड नागरिक घरभित्रै बस्नु परिरहेको छ । सामान्य रुपमा बिहान बेलुकी खाद्यान्न र तरकारीका लागि खोल्ने बाहेक भारतमा पसलहरु पनि खुलेका छैनन् । विश्वको दोस्रो ठूलो धेरै जनसंख्या भएको देश भारतमा यसरी गरिएको यो लकडाउनले नागरिकमा खाद्यान्न लगायतको संकट पनि निम्त्याउन सक्ने अनुमान धेरैले गरेका बताइएको छ । यसले दिनहुँ नै ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा रहेका करोडौं भारतीय नागरिकहरु ठूलो मार परेका छ । बजार तथा उद्योगहरु नै बन्द भएका कारण यहाँका करोडौं नागरिकले बिहान बेलुकी खानाको समस्यामा पनि पर्नसक्ने बताइएको छ । यसरी शहरबाट ती नागरिक लुकिछिपी भित्री बाटोहरु भएर आफ्नो घरमा पुग्ने गरेका छन् । यदि भारतमा हाल जारी राखिएको वर्तमान लकडाउनलाई अझै केही दिन लम्बाउने हो भने यहाँ यस्तो मजदुर बर्गमा ठूलो समस्या ल्याउने बताइन्छ । रासस/एपी

काेराेना भाइरसकाे महामारी सन्नाटामा विश्व शक्तिशाली राष्ट्र अमेरिका

वासिङ्टन डिसी । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुईजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका थिए र विश्वलाई यसैगरी बडो तीब्र गतिमा नियालिरहेका हुन्थे । तर अहिले त्यस्तो छैन । अमेरिकामा यतिबेला महिनादिन अघिको जस्तो तीब्र गतिको आर्थिक विकासको भन्दा बढी महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुदैछ । सम्भवत कतिपय बहुराष्ट्रिय कम्पनीहरु यतिबेला सन् २०२० लाई स्वागत गरेर आगामी एक दशकको रणनीति तर्जुमा गर्न केही कार्यक्रमहरु गर्ने तयारीमा थिए । तर नयाँ वर्षलाई स्वागत गरेको दोस्रो महिनामै आफ्नो कूल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत अर्थात ५० खर्ब डलर वरावरको घाटा व्यहोर्नु परेको तथ्याङ्क वाहिरिनु र नागरिकहरुले अकालमा मृत्युवरण गर्न वाध्य हुनुपरेका कारण अमेरिकी राज्य सञ्चालनको सम्पूर्ण संयन्त्र यतिखेर तरङ्गित छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण अमेरिकामा मात्र करिब ४ हजार व्यक्तिले जीवन गुमाउनु परेको छ भने यस भाइरसको सङ्क्रमणमा परेकाको सङ्ख्या १ लाख ८० हजार नाघेको छ । यसरी भाइरसको सङ्क्रमणमा परेको यति ठूलो सङ्ख्याका नागरिकले यसबाट मुक्त हुन सङ्घर्ष गरिरहेका छन् । चीनको वुहानवाट उत्पत्ति भएर विश्वका झण्डै दुइ सय देशलाई नै सङ्क्रमणमा पारेको भाइरसका कारण अमेरिकामा ३६५ दिन र चौबीसै घन्टा खुल्ने व्यापारिक प्रतिष्ठानहरु पनि अर्को सूचना नभएसम्मको लागि बन्द गरिएका छन् । यो घडी आउला भनेर अमेरिकाका ती कम्पनी एवं सिंगो देशले नै विरलै सोचेको थियो । विगत वर्षहरुमा हरेक शुक्रवार साँझ खचाखच भरिने रेष्टुरेन्ट, बार र पवहरु सुनसान छन् भने यहाँ ‘लाइभ म्युजिक’ बाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लाखौं ‘लाइभ व्याण्ड’का सदस्य पनि वेरोजगार भएका छन् । सूचना प्रविधिले मारेको फड्कोसँगै आफ्नो हातको औँलामा विश्वका घटनाहरु केलाउने र खेलाउने कार्यमा अभ्यस्त करोडौँ अमेरिकी अहिले वेरोजगार छन् । यसबेलाको अमेरिकीहरुको दैनिकीले यस अगाडिका कहालिलाग्दा घटनालाई समेत ओझेलमा पारिदिएको महसुश भएको छ । पचासै राज्यका गभर्नर आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले २४ सै घण्टा चनाखो भएका छन् । अहिले अमेरिका कोरोना भाइरसको विरुद्धमा विश्वयुद्धमा होमिएभन्दा पनि बढी होमिएको छ । झण्डै १७ करोड नागरिकलाई घरभित्रै बस्न भनिएको छ भने ८ करोड भन्दा बढीले आउने साताको ‘पे चेक’ वुझ्न नपाउने स्थिति छ । हजारौँ साना ठूला कार्यक्रम स्थगित भएका छन् भने हजारौँ जहाज एयरपोर्टमा ग्राउण्डेड भएका छन् । त्यसलाई उकास्न ह्वाइट हाउस, सिनेट, हरेक राज्य, नेशनल गार्ड देखि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु एकसाथ परिचालित छन् । अहिले अमेरिकाको सारा संयन्त्र देशलाई कारोनाको सङ्क्रमणबाट कसरी मुक्त गर्ने भन्ने ध्याउन्नमा जुटेको छ जुन पहिलो र दोश्रो युद्धमा होमिएको अमेरिका भन्दा फरक छैन यहाँका पुराना नागरिकहरु । यसैले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत स्वास्थ्य क्षेत्रहरुको विज्ञ टोलीले पछिल्लो अवस्था बारेमा जानकारी दिन दिनहुँ पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिँदै सञ्चालन गरेका कदमदेखि चुनौतीको बारेमा समेत प्रकाश पारिरहेका छन् । यसरी हेर्दा अमेरिकी सरकारबाट जनउत्तरदायी सरकारले गर्ने एउटा कामको अभिभारा पूरा गर्न कुनै कसर नराखिएको देखिन्छ । यसै सिलसिलामा सिनेटले २ ट्रिलियन अर्थात २० खर्ब अमेरिकी डलरको राहत प्योकजलाई अनुमोदन गरेको छ । दुवै सदनले अनुमोदन गरेपछि गत शुक्रवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याइएको छ । यसले अमेरिकाको इतिहासमा पहिलो पटक सवैभन्दा बढी धनराशी खर्चिनु परेको छ । यो राहत प्याकेज सन् २००८ मा वित्तीय सङ्कटको वेलामा गरिएको वेलआउटको रकम ७०० विलयन डलर भन्दा तीन गुणा वढी छ । यसको अन्य विभिन्न शीर्षक लगायत नागरिकलाई सिधै रकम दिने प्रावधानले कठिन घडीमा जनताको लागि आशाको केन्द्र वनाएको छ । अमेरिकाको कूल जनसङ्ख्याको ९० प्रतिशत अर्थात करिव ३१ करोड अमेरिकीलाई न्यूनतम १ हवार २०० डलरको दरले सिधै रकम दिने प्रस्ताव यसमा गरिएको छ । यो प्रस्ताव अनुसार हरेक परिवारका सदस्यले १ हजार २०० डलर र प्रति नावालकलाई पाँच सयका दरले अतिरिक्त रकम दिने उल्लेख गरिएको छ । यो राहत प्याकेजले अमेरिकाको अर्थव्यवस्थालाई थप चलायनमान वनाउने र नागरिक तथा व्यवसायीहरुको मनोवल उच्च वनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । अमेरिकाको कोरोना भाइरसको वारेमा तथ्याङ्क राख्दै आएको मेरिल्याण्ड राज्यमा रहेको र विश्वको उत्कृष्ट चिकित्सा विज्ञानको पढाई हुने जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्याङ्कअनुसार वाशिङ्गटन राज्यबाट पैmलिएको यो कोरोना भाइरसले सवैभन्दा बढी विश्वको वित्तीय राजधानीको रुपमा रहेको न्यूयोर्कलाई इपिसेन्टरको रुपमा गाँजेको छ । न्यूयोर्क राज्यमा मात्र मृत्युवरण गर्नेहरुको सङ्ख्या १ हजार २ सय नाघेको छ भने ६६ हजार ४ सय ९७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यसैले अहिले अमेरिकाको ध्यान न्यूयोर्क शहरका नागरिकलाई कसरी आश्वस्त पार्ने भन्नेमा केन्द्रित छ । अत्याधिक मात्रामा विरामी भएपछि सार्वजनिक स्थलहरुलाई अस्पतालको रुपमा परिणत गरिएको छ भने सोमवार मात्र नेभीको एउटा पानी जहाजलाई अस्थाई अस्पतालको रुपमा विकसित गरेर न्यूयोर्क पुर्याइएको छ । यसको क्षमता एक हजार अस्पतालको वेड वरावरको रहेको छ । न्यूयोर्कका मेयर विल डि व्लाजियोले भेन्टिलेटरको सङ्ख्या बढाइएको र वेडको सङ्ख्या पनि ३४ हजारसम्म पुर्याइएको जानकारी दिए । उता अर्को राज्य क्यालिफोर्नियामा पनि नेभी अस्पताल पानी जहाज लस एञ्जेलसको वन्दरगाहमा शुक्रवार पुगेको छ उक्त अस्पतालमा पनि एक हजार वेड क्षमताको भएको जनाइएको छ । एकपछि अर्को राज्य गर्र्दै पुगेको कोरोना भाइरसको कारणले टेक्सास राज्यले न्यूयोर्क र न्यूजर्सी राज्यमा भ्रमण गरेर आएकाहरुले अनिवार्य रुपमा १४ दिन सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियम बताएको छ । अहिले अमेरिकाका सत्रवटा राज्यमा स्वास्थ्यको दृष्टिकोणले सङ्कटकाल लगाइएको छ । त्यसमध्ये आक्रान्त राज्यहरु क्यालिफोर्निया, न्यूयोर्क र वासिङ्गटन रहेका छन् । खासमा भाइरसको प्रकृतिअनुसार मानिसको मानिससँगको नजिकको संसर्गबाट लाग्ने भनेर सचेत गराइएको भए पनि कतिपय मानिसहरु थाहा नपाई यो भाइरसको शिकार भएका छन् । अहिले अमेरिकाको न्यूयोर्कमा नै भाइरसको सङ्क्रमण अत्याधिक हुनुको कारणबारे टिप्पणी गर्नु त त्यति व्यावहारिक नहुन सक्छ । तर अमेरिकाको पर्यटकीय गन्तव्य भएको कारणले विश्वसँग यसको ठूलो सञ्जाल संयन्त्र नै भाइरस सङ्क्रमणको मुख्य कारण बन्न पुगेको सञ्चारमाध्यमहरु वताउँछन् । कूल १ करोड जनसङ्ख्या भएको न्यूयोर्कमा वार्षिक करिव ७ करोड पर्यटक भ्रमण गर्ने र त्यसमध्ये १ करोड ५० लाख भन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्याङ्क देखिएको छ । न्युयोर्कको कम्तीमा एक पटक भ्रमण गर्ने इच्छात्यसमध्ये १ करोड ५० लाख भन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्याङ्क देखिएको छ । रासस

राहतले छाएकाे खुसी, ‘धन्य सरकार ! यति भए बाँचिन्छ’

काठमाडौं । ‘धन्य हो सरकार ! अब यति भए बाँचिन्छ ।’ एक अधवैंशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन् । उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन् । ‘हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु ।’ सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया झिन्कू हरिजनको खुशी हो यो । उनको भान्सामा तेल र नुन सकिएको थियो । एक छोरा र तीन छोरीसँगै बस्दै आएकी हरिजन हप्ता दिनदेखि काममा जान पनि पाएनन् । उनी भैरहवा क्षेत्रमा दैनिकरूपमा घरघरमा पुगेर कपडा धुने, भाडा माँझ्ने काम गरेर गुजारा चलाउँदै आएकी थिईन । दैनिक घरेलु काम गरेर जीविकोपार्जन गर्दै आएकी हरिजनसँग यतिबेला पैसा पनि छैन र नजिकमा कुनै किराना पसल पनि नहुनाले दुई दिनदेखि भोकै विताइरहेकी छन् । कोरोना भाइरसको सङ्क्रमणले महामारी फैलिँदै जाँदा नेपालमा पनि सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उनको दैनिक काममा जान पाएकी छैन । काममा जान नपाउँदा सोमबार साँझदेखि भुजा र चना खाएर बिताएको र मङ्गलबार बिहानै वडाका कर्मचारीको खबरले राहत वितरण लिन पुगेकी हरिजन राहत पाएपछि निकै खुशी थिईन । राहत थाप्न मङ्गलबार दिउँसो १२ बजेदेखि राहत लिन डेढ घण्टासम्म कुर्दा वडाध्यक्ष रमेश मल्ल वडासचिवसहित आए । उनीहरुले नआत्तिएर बस्न र केहीबेरमा राहत सामग्री लिएर नगरप्रमुख आउने जानकारी दिएपछि सबैजना ढुक्क भए । राहत सामग्रीसहित केहीबेरमा नगरप्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले आएर वडा कार्यालयले तयार गरेको सूचिअनुसार उपस्थित सबैलाई खाद्यान्न वितरण गरे । खाद्यान्न पाएपछि झिन्कु मात्रै होइन, सोही ठाउँकी बहुरी अहिर पनि गद्गद् परे । परिवारमा पाँच छोरा र एक छोरीसहित भाडाको घरमा बस्दै आएकी बहुरी अहिर घर बनाउने श्रमिकको काम गर्छन। लकडाउनका कारण आठ दिनदेखि उनको पनि काम ठप्प छ । “काम नगरे खान पाइन्नँ, जसोतसो हप्ता दिन त चल्यो । यस्तै रहिरह्यो भने कसरी चल्छ र ?”, अहिरले निरास हुँदै भने, “सरकारले यस्तै दाल चामल दिए त बाचिएला नत्र …..” छेउमै रहेकाले सम्झाउँदै भने सरकार छँदै छ किन आतिएको ।” झिन्कु र बहुरीजस्तै १ सय ३९ जनाको घरधुरीलाई सिद्धार्थनगर नगरपालिकाले दैनिक जीवनमा अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको छ । परिवार सङ्ख्याको आधारमा दिइएको उक्त राहत सामग्री चार जनाको परिवार हुने घरधुरीलाई पाँच केजी, १० जनासम्म परिवार हुने घरधुरीलाई १० केजी चामल दिइएको नगर उपप्रमुख उमा काफ्लेले बताए । काफ्लेका अनुसार हरेक विपन्न परिवारलाई एक लिटर खानेतेल, एक केजी नुन, एक केजी दाल पनि प्रदान गरिएको छ । उनले भने, “शुरुमा केही कम वितरण गरेका छौँ, लकडाउन लम्बिँदै गयो भने फेरि दिन्छौं । सरकार छ, कोही भोकै बस्न पर्दैन ।” लकडाउनका कारण कोही पनि भोकै हुन नपरोस् भनेर नै सिद्धार्थनगर नगरपालिकाले नगरमा भएका मजदुरहरुको लगत सङ्कलन गरेको छ । नगरप्रमुख हरिप्रसाद अधिकारीका अनुसार नगरको १३ वटै वडामा एक हजार ८ सय ७२ ज्याला मजदुरी गरेर खाने परिवार रहेका छन् । “दैनिक काम गरेर बिहान बेलुकाको जोहो गर्नेहरु कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनमा परी घरभित्र बस्न बाध्य छन् । उनीहरुले काम गर्न पाएका छैनन् । उनीहरुको जीवनयापनलाई सहज बनाउन हामीले राहत वितरण शुरु गरेका हौँ”, नगरप्रमुख अधिकारीले भने । सिद्धार्थनगर पालिकाको कार्यपालिका बैठकले चार दिन अगाडि बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुको लगत सङ्कलन गर्ने निर्णय गरेको थियो । नगरले कोरोना भाइरस नियन्त्रण राहत कोष स्थापना गरेको छ । उक्त कोषमा नगरले यसअघि नै ११ लाख ५१ हजार रुपैयाँ जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी व्यक्तिले पनि सहयोग गरिरहेका छन् । राहत कोषमा नगरका प्रमुखले २१ हजार रुपैयाँ, उपप्रमुखले १५ हजार रुपैयाँ र वडाध्यक्षले १० हजार रुपैयाँका दरले रकम जम्मा गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । सिद्धार्थनगरमा १३ वडा छन् । लकडाउनका कारण खाद्यान्न, तरकारीमा देखिएको अभावलाई मध्यनजर गर्दै नगरले वडा कार्यालयको समन्वयमा टोलस्तरमा अत्यावश्यक वस्तुको प्रबन्ध मिलाउने तयारी गरिरहेको मरासिनीले बताए । नगरपालिकाले समाजसेवी कृष्णप्रसाद न्यौपाने, नारायणप्रसाद अग्रवाल, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार सङ्गठनका अध्यक्ष नारयाणप्रसाद भण्डारी, बैंकर्स एशोसिएसनका अध्यक्ष रामराज उपाध्यायसहितले श्रमिकका लागि अत्यावश्यक खाद्यान्न व्यवस्थापन सहयोग समिमिसमेत गठन गरेको छ । रासस