मेगा बैंकले दृष्टिविहीन विद्यार्थीलाई दियाे शैक्षिक सामाग्री र कम्प्युटर
काठमाडौं। मेगा बैंक नेपालले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक
काठमाडौं । मानिसहरुले कोभिड १९ बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकार भएदेखि बजारमा ह्याण्ड स्यानिटाइजरको व्यापार ह्वात्तै बढेको छ । भाइरस तथा व्याक्टेरिया संक्रमणबाट जोगिन मानिसले जथाभावी रुपमा यसको प्रयोग गरिरहेको छन् । यसले किटाणु मार्न भन्दै आफूमात्र नभई बालबालिकाहरुमा पनि जथाभावी प्रयोग गरिरहेको छन् । तर स्यानिटाइजरको कहाँ प्रयोग गर्न र यसले कसरी काम गर्छ भन्ने कुरा जान्न आवश्यक छ । स्वास्थ्य विशेषज्ञहरु सम्भव भएसम्म साबुन पानीले हात धुने सल्लाह दिन्छन् । किनभने यसले हातमा भएको सबै प्रकारका किटाणु र रसायनहरुको मात्रा घटाउँदछ । तर, साबुन र पानी जतिबेला पनि उपलब्ध नहुनाले विशेषज्ञहरु यसको विकल्पको रुपमा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाव पनि दिन्छन् । स्यानिटाइजरले तपाईंको हातमा भएको किटाण मार्छ । साबुनले त्यसलाई पखाल्छ । साबुनले सिधै किटाणु मार्दैन तर यसले किटाणुहरु कम गराउँछ । प्रत्येक्ष रुपमा देखिने हातका फोहोरहरुलाई हटाउन ह्याण्ड स्यानिटाइजरले काम दिँदैन । यसको लागि साबुन नै प्रयोग गनुपर्छ । बजारमा विभिन्न किसिमका ह्याण्ड स्यानिटाइजरहरु पाईन्छन् । तर ६० प्रतिशतभन्दा बढी अल्कोहल मिसिएको स्यानिटाइजरले मात्र किटाणुहरु मार्ने र सर्नबाट जोगाउने विशेषज्ञहरुको बताउँछन् । ह्याण्ड् स्यानिटाइजर अन्वेषक सन् १९६६ मा पहिलोपटक एक विद्यार्थी नर्स ल्युप हरन्यानडेजले हात धुने सामाग्री नभएको अवस्थामा रक्सी मिसिएको जेल जस्तो सामाग्री प्रयोग गर्न सकिन्छ भनेकी थिईन् । तर, सन् २००९ मा एचवान एनवान भाईरस स्वाईन फ्लुले महामारीको रुप लिएपछि स्वास्थ्य संस्थाहरुमा यसको प्रयोग गर्न थालिएको हो । सम्भव भएसम्म साबुन पानी नै आफ्नो सुरक्षित स्थानमा आइसकेपछि हात साबुन पानीले सफा गनुहोस् । सुरक्षित स्थान भन्नाले तपाईको घर, तपाईको कार्यस्थल, तपाईको बस्ने कुर्सी आदि हुन् । तर याद गर्नुहोस् साबुन पानीले गरिएको सरसफाईलाई केहीले पनि जित्न सक्दैन । साबुन पानी नभएको अवस्थामा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । सकेसम्म घर बाहिर हँुदा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । यसलाई तपाईले ब्याकअपको रुपमा राख्न सक्नुहन्छ । थोरै प्रयोग गरौं किटाणु मार्छ भन्दैमा जति पायो त्यति स्यानिटाईजरको प्रयोग गर्नु राम्रो होइन । स्यानिटाइजर थोरै पनि धेरै हुने गर्दछ । चाहिनेभन्दा बढी स्यानिटाइजरको प्रयोग गर्दा छाला सुख्खा हुने, फुट्ने, छालाको प्राकृतिक तेल हराउने जस्ता समस्या देखापर्दछ । बालबालिकाको लागि हानिकारका ह्याण्ड स्यानिटाइजरमा सामान्यत ६० प्रतिशतभन्दा बढी मात्रामा अल्कोहल हुने गर्दछ । बालबालिकाहरु आफ्नो हात बारम्बार आँखा, मुखमा लैजाने गर्दछन् । विभिन्न अध्ययनले अल्कोहलयुक्त स्यानिटाइजरले बालबालिकाहरुको मुखमा परेको अवस्थामा स्वास्थ्यमा असर गर्न देखाएको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यसले विशेष असर गर्ने देखिएको छ । स्यानिटाइजर बालबालिकाको मुखमा परे आँखा चिलचिलाउने, सुन्निने, वान्ता हुने, मुख चिलाउने, खोकी लाग्ने, पेट दुख्ने र कुनै अवस्थामा त बालबालिकाको मृत्युसमेत हुने पनि गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले स्यानिटाइजर प्रयोग गरिसकेपछि बालबालिकाले नभेट्ने गरी टाढा राख्नुपर्छ । अभिभावकालाई सचेत बनाउन औषधी पसलेहरुले मुख्य भुमिका खेल्न सक्छन् । भाइरसलाई बाँच्न र अर्काे भाइरस जन्माउनको लागि एक जिवित कोषको आवश्यक हुन्छ । त्यसैले हात फोहोर भएको अवस्थामा वा अन्य समयमा पनि आँखा मिच्ने, हात बारम्बार मुखमा लैजाने, घाउहरु छुने काम नगरौं । यसो गरियो भने भाइरस बाँच्न वा अर्काे भाइरस जन्मन सक्ने खतरा रहन्छ । अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमहरुले तयार पारेको सामग्रीमा आधारित
त्रासभित्रको बाध्यता !
काठमाडौं । मानिसहरुको कोचाकोच भिड । कसैका मुहार पछ्यौरीले छोपिएका्, कसैका माक्सले त कसैका खाली । सबैका मलिन मुहार । एकले अर्कालाई अटेर गरेको भान हुने ती दृश्य साँच्चीकै कहाली लाग्दा थिए । ती दृश्यहरुमा न मित्रताको भाव भल्किन्थ्यो नत कुनै आफन्त र साथीसँगीको । ती दृश्यहरुमा देखिन्थ्यो त केबल अटेर निर्दयीपना । कोही मोबाइलमा व्यस्त, कोही एकोहोरो टोलाइरहेका थिए । प्रष्ट भनौं त्यहाँ एकले अर्कासँग कूरा गरेको दृश्य देखिदैनथ्यो । यो दृश्य हो बिहिबार मैतिदेवीदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको एक बसभित्रको । ती मान्छेहरु त्रसित देखिन्थे । तर, त्यो त्रासभित्र भने उनीहरुको आफ्नै बाध्यता थियो । एउटा भनाइ छ नी–‘आफु भलो त जगत भलो ।’ हो यही भनाइको सुत्रमा बाँधिएका थिए उनीहरु । विश्वभरी कोरोना भाइरस ( कोभिड १९) को त्रास छ । स्वास-प्रस्वासबाट सर्छ भनिएको यही भाइरसको कारण कयौंले ज्यान गुमाइसकेका छन् । त्यही भाइरसबाट बँच्न, आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न मान्छेहरु अहिले अटेर बनेका छन् । एकले अर्कासँग कूरा गर्न मान्दैनन् । भिडभाड गर्न मन पराउँदैनन् । साथीसँगी र आफन्तहरुसँगै बस्न, खेल्न र बोल्न चाँहदैनन् । यो सब कोरोना भाइरसले सिर्जना गरेको परिस्थिती हो । तर, यति हुँदाहुँदै पनि मान्छे कहाँ भोकै मर्न चाहन्छन् र ? जबसम्म शरिर स्वस्थ छ, हिडडुल गर्न सक्ने अवस्था छ भने उसले आफ्नाे दैनिकी बिगार्न चाहन्न। हुनत नेपाल सरकारले अनावश्यक रुपमा बाहिर हिडडुल नगर्न, २५ जनाभन्दा बढीको भिडभाड नगर्न र सभासम्मेलन नगर्न निर्देशन दिइसकेको छ । तर, बाध्यताको अगाडि कसले पो रोक्न सक्छ र ? ३०/४० जना मानिस अटाउने गाडीमा ५०/६० जना मानिसहरु बसेर यात्रा गर्नु पर्ने बाध्यता कायमै छ । अहिले सबैभन्दा बढी त्रास काठमाडौंमा छ । मानिसहरुको बसोबास बढी र मानिसको आवतजावत बढी हुने ठाउँ काठमाडौं नै भएकोले पनि मानिसहरु अहिले काठमाडौंबाट बाहीरने क्रम बढ्दो छ । अहिले काठमाडौं छोडेर आ-आफ्नै जिल्ला जाने मान्छेहरु दिनानुदिन बढ्दै गएका छन् । बिहिबार मात्र एक लाखभन्दा बढी मानिस उपत्यका छोडेर गए । अहिले यही बाध्यतामा छन् धेरै मानिसहरु । आफ्नो गुजारा चलाउनका लागि भए पनि बाध्यताका लागि घर बाहिर निस्कने गरेका छन् उनीहरू। त्यो भिडमध्येकी मैतिदेवी बस्ने गरेकाे बताउने कमला रेग्मी मनमा कोरोनाको त्रास भएपनि बाध्यताका कारण बसमा यात्रा गर्नु परेको बताउँछिन् । ‘सरकारले बाहिर ननिस्कनु भनेर के गर्नु, बाहिर ननिस्किए खानलाई पाइँदैन, साँझको छाक टार्न पनि बाहिर काम गर्न जानै पर्यो’, उनले भनिन् । कोरोना त अहिले आएको छैन, कोरोनाकै कारण भित्र बस्यो भने भोकैले मर्ने डर हुने उनको भनाइ छ । अहिले सम्भव भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्न छाडेका छन् तर यो भन्दा अन्य विकल्प नभएकाहरु बाध्यताका कारण पनि भिडभाड भएको बसमा यात्रा गर्न विवश छन् । कमला मात्र होइनन् उनी जस्तै धेरै मानिसहरु दिनभर पैसाकाे जाेहाे गरेर त्यही पैसाले साँझ खाना खाने पनि छन् । उनीहरुलाई कोरोनाको कारण मर्नु भन्दा पनि साँझ खाना के खाने भन्ने पीरले पिरोल्छ । रत्नपार्क सडक पेटीमा हातमा सामान लिएर बेच्ने धादिङका यादव कार्कीको पनि समस्या उस्तै छ । उनले बसमा यात्रा नगरी उनी आफु र आफ्ना परिवारलाई साँझ खाना दिन सक्दैनन् , दिनभरीको कमाइले उनी रातिको छाक टार्छन् । उनलाई पनि कोरोनाको भन्दा बढी चिन्ता साँझको छाकको हुन्छ । उनले बिहान सामान बेच्न जाँदा र साँझ घर फर्किदा बसको नै यात्रा गर्नु पर्छ । बुधबार सरकारले सार्वजनिक सवारीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको थियो । र यातायात व्यवस्था विभागले बिहिबार एक सूचना पनि जारी गर्दै यातायात कम्पनीलाई सिटक्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशन दियो । तर त्यसको कार्यान्वयन भने देखिँदैन । सवारी चालकहरु कोरोनाको त्रासभन्दा पनि व्यापार घट्ने चिन्तामा छन् । संक्रमण फैलाउने हिसावले सार्वजनिक यातायात सबभन्दा जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन् । फेरि सार्वजनिक सवारी प्रयोग गर्ने अधिकांश यात्रुलाई कसरी सतर्कता अपनाउने भन्ने जानकारी पनि छैन । स्वास र नाकमुखबाट निस्कने छिटाका कारण स्वास्थ सुरक्षाको हिसाबले सार्वजनिक सवारी त्यसैपनि उच्च जोखिममा छ तर, सवारी साधनमा यतिसम्मको हेल्चक्याईँ उचित होइन । यातायात व्यवस्था विभभागका महानिर्देशक गोगन बहादुर हमालले सार्वजनिक यातायात सार्वजनिक यातायातमा भिडभाड नहुनका लागि सिटभन्दा बढी यात्रु नचढाउ निर्देशन दिइसकेको बताए । उनले सबै गाडिमा स्यानिटाइजरको प्रयोग भइरहेको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सरकारी निर्देशन पालना भए नभएको अनुमगमन सुरु भइसकेको बताएको छ । महाशाखाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले अनुगमन सुरु गरिसकेको बताए । उनले यसरी भिडभाड गरे यात्रु बोक्ने गाडीलाई कारबाही पनि भइरहेको बताए । अहिले आफै सचेत हुने समय भएकोले आफै सचेत नहुनेलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । यस्तै, नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवस्थित र सुरक्षित तरिकाले यात्रा गराउनका लागि बस व्यवसायी लागि परेको बताए । उनले कतिपय बसहरुमा स्यानिटाइजरको प्रयोग गरी यात्रुलाई सहज बनाएको बताए । सार्वजनिक सवारीमा यात्रु–यात्रुबीचको दूरी निकै कम हुने हुँदा एक जना बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा धेरैजना प्रत्यक्ष प्रभावित हुन्छन् । एउटा यात्रु उठेको सिटमा तुरुन्तै अर्को बस्छ । सबै यात्रुले समाउने डण्डी, ढोकाको ह्यान्डल, रेलिङ, सिट बार उही हुन्छ । यो अवस्थामा कुनै एक संक्रमित यात्रुले समातेको डण्डी नै सहरभरि संक्रमण पुर्या उन काफी हुन्छ । यसले भोली नेपालमा ठूलो महामारीको रुप लिन सक्छ । त्यसैले सरकारले गरेको निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्दै सवारीभित्र सतर्कता बढाउनुपर्ने जानकारहरु बताउँछन् ।