इमान गुमेको समाजमा इनमको चर्चा

प्रहरी हेडक्वाटरदेखि न्यायाधीशहरु विचौलियाको छायामा

काठमाडौं । देशलाई अर्नब र पश्चिमी वायुले चिसो बनाइरहेको बेला इनम सापकोटा प्रकरणले भने माहोल तताएको छ । मुलुकको राजनीति, प्रहरी प्रशासन, न्यायालय र सञ्चार क्षेत्रलाई यो विषयले निकै तताएको हो । 

सबै क्षेत्र यसरी तात्नुको एउटै कारण हो, इनम सापकोटा प्रकरण । राज्यका विभिन्न निकायमा उपस्थिति जनाएर आफू अनुकुल काम गर्ने र गराउने नव विचौलिया इनम सापकोटा प्रकरणले पूर्वप्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणालाई समेत प्रहरी खोरमा पठायो ।

प्रहरीका उच्च अधिकारीदेखि न्यायाधीशसम्मलाई भेटेर आफ्नो सम्बन्ध विस्तार गर्ने र उनीहरूबाट आफू अनुकूलको काम फत्ते गराउने प्रमाणहरू सार्वजनिक भएपछि यो विषयले चर्चा पाएको हो । केही साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएपछि सापकोटा प्रकरणको रहस्य खुलेको हो । 

राणाको मोबाइलमा अनुसन्धान गर्दा सापकोटासँग सम्बन्ध देखिएको प्रहरीको भनाइ छ । सोही प्रकरणमा मुछिएका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनसँगै बर्खास्तीमा पनि परे । 

प्रहरीदेखि पूर्वन्यायाधीशसम्मको सम्पर्क

इनमको नेक्सस नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र एआईजी राजन अधिकारीसँग भएको संवाद बाहिरिसकेको छ । प्रहरीका उच्च अधिकृतहरूसँग संवाद भएका प्रमाणहरू समेत सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । 

अहिले प्रहरी प्रधान कार्यालय नक्सालमा उनले गरेको संवादलाई लिएर प्रहरी अधिकृतहरू तरंगित बनेका छन् । उनले प्रहरी प्रशासनलाई मात्र नभई न्यायालय क्षेत्रलाई समेत छोडेनन् । न्यायालयका न्यायाधीशहरूसँग सम्पर्क बढाएर आफू अनुकूलको फैसला गर्न लगाउने पनि खुलेको छ । 

सापकोटासँगको ‘कनेक्सन’ पूर्वप्रधानन्यायाधीश जबरा हुँदै वर्तमान प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, न्यायाधीश हरिप्रसाद फुयाल, तीन जना पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरू, पूर्वएआइजी एवं रास्वपा सांसद विश्वराज पोखरेलसहित उच्चपदस्थ अधिकारीसँग सम्पर्क भएका तथ्यहरू बाहिरिएका छन् ।

एक व्यक्ति इनम सापकोटाले देशको प्रहरी प्रशासन, न्यायालय र राजनीति र शासकलाई समेत हल्लाइ दिएका छन् ।

इनमको नाम राज्यका निकायसँग जोडिएपछि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटघाट पनि गरिसकेका छन् । इनमसँग प्रहरी प्रशासनदेखि न्यायालयसम्म लम्पसार बनेको सार्वजनिक विभिन्न प्रमाणहरूले देखाएको छ ।

सर्वोच्च अदालतकै न्यायाधीश हरि फुयालले इनमसँग आफूसहित अन्य न्यायाधीशले पनि होटलहरूमा भेट्ने गरेको स्वीकार गरिसकेका छन् । उनले अन्तिम पटक हिमालयन होटलमा भेटघाट  गरेको पत्रकार सम्मेलनमै स्पष्ट पारिसकेका छन् । 

को हुन् इनम सापकोटा ? 

३० वर्षीय सापकोटा विदेशमा बसोबास बसोबास गर्ने खुलेको छ । झापा स्थायी घर भएका सापकोटा अमेरिकी ग्रिनकार्ड होल्डर नेपाली हुन् ।

असोजको तेस्रो साता भारत जान लागेको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो । इनम यतिखेर थुनामा छन् ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका इनाममाथि सम्पत्ति शुद्धीकरण र अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ । परिसरका प्रवक्ता दानबहादुर थापाले प्रचलित कानुन, विधि, प्रक्रिया बमोजिम अनुसन्धान भइरहेको बताए ।

‘गोप्य रूपमा अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध गराइएको छैन,’ उनले भने । 

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न प्रहरी दत्तचित्त भएर लागेको उनको भनाइ छ ।

न्यायाधीशहरूको प्रष्टीकरण

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताइसकेका छन् ।प्रधानन्यायाधीश शर्माले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यता प्रकट गरेका हुन् ।

‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन,’ उनले भनेका छन, ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहिल्यै भेटेको पनि छैन ।’

शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको अवधिमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्थामा रहेको बताएका छन् ।

यस्तै, न्यायाधीश फुयालले भने आफू लगायत अन्य न्यायाधीशले पनि भेटघाट गरेको स्वीकार गरेका छन् । सापकोटाले आफूलाई प्रधानमन्त्रीको मान्छे भन्ने गरेकोले भेटेको तर्क फुयालले गरेका छन् । 

‘मुलुक शून्यतामा भासियो’ 

एक अर्कालाई बदनाम गर्दागर्दै मुलुक शून्यतामा भासिएको राजनीतिक विश्लेषक मुमाराख खनाल बताउँछन् । नव बिचौलिया इनम सापकोटा विचौलिया राज्यका आदर्श युवा रहेको उनले कटाक्ष गरे ।  

राज्यको चरित्र नै विचौलिया भएपछि छद्म विचौलिया (कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि) लाई परास्त गर्दै बालेन्द्र शाह, रवि लामिछाने र सुदन गुरुङजस्ता प्रत्यक्ष विचौलिया मैदानमा आएका हुन् र भ्रममा पर्नै पर्दैन,’ उनले भनेका छन् ।

सम्पर्क, संलग्नता र प्रमाणका आधारहरू खुल्दै जान सक्ने उनको भनाइ छ । मुलुकको लागि दुःखको कुरा राज्यको उच्च पदमा पुगेका हरेक व्यक्तिले एक अर्कालाई बदनाम गर्दा मुलुक शून्यतामा भासिएको खनालले टिप्पणी गरेका छन् । 

Share News