‘लकडाउन’ काे अवधिमा घरमा कसरी समय बिताउने ? ‘बोर’ नलाग्ने यस्ता छन् उपायहरू

काठमाडाैं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने ? बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्को लाग्न नदिने उपायहरु के-के हुन सक्छन् ? बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी भइरहेको छ भने विकल्प खोज्न अन्यत्र भौतारिनुभन्दा घरपरिवारमै उपयुक्त काम र सिकाइ गरेर सहजरुपमा समय बिताउन पनि सकिन्छ । यस्ता संवेदनशील घडीमा शिक्षासम्बन्धी विभिन्न संस्था, मनोपरामर्शकर्ता र अनलाइन प्रविधिमा सिकाइ सामग्री उत्पादन गर्ने संस्था र व्यक्तिले स्वयंसेवीरुपमा गरेका प्रयासलाई पनि पछ्याउन सकिनेछ । सामान्य अवस्थामा शैक्षिकसत्रको अन्त्यमा वार्षिक परीक्षापछि बिदा हुने यस अवधिमा बालबालिकालाई छुट्टी हुने भए पनि अभिभावक आफ्ना काम र रोजगारीमा व्यस्त हुने गरेकामा अहिले कोरोना भाइरसबाट बच्न सबै जना घरमा बस्नुपर्ने भएकाले आपसी सिकाइको अवसरका रुपमा यसलाई लिन सकिन्छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन सक्ने बताए । डा अधिकारीले भने, ‘यो बेला कुनै घोक्ने खालको पाठ्य सामग्रीभन्दा समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ । घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ ।’ उनका विचारमा बालबालिकालाई गीतसङ्गीत, खेल, साहित्य र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि अभ्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका महासचिव गुणराज मोक्तानले बिदाको यस अवधि बुबाआमाले छोराछोरीलाई सिकाउन पाउने सुनौलो अवसर भएकाले जीवनोपयोगी सीप, व्यवहारिक सिकाइ, घरायसी काम र मिदास संस्थाको पाठ्यक्रमअनुसारको शिक्षा लिन सकिने बताए । मोक्तानले भने, ‘छोराछोरीले बुबाआमालाई प्रविधि सिकाउने र बुबाआमाले छोराछोरीलाई व्यवहारिक एवं परम्परागत सीप सिकाएर दुई पुस्ता जोड्न यो एक मौका पनि हो । यसको सदुपयोग गरौँ ।’ विश्व शान्तिका लागि प्रशिक्षणका क्षेत्रमा कार्यरत ‘क्रोधरहित संसार’ संस्थाका अध्यक्ष देशमर्दन बस्नेतका विचारमा बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिने बताउँछन् । बस्नेत भन्छन्, ‘बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन् । यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ ।’ लकडाउनका समयमा शिक्षक र बालबालिकाको रुचि र उनीहरुको सहभागितामा सिकाइका अवसरमा जोडिइरहन इ-लर्निङका सामग्री सङ्कलन, उत्पादन र निःशुल्क प्रसारण गर्न अन्य संस्थागत पहल पनि शुरु भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र शैक्षिक सामग्री उत्पादक संस्था ‘कारखाना’बीच सहमति भएको छ । प्याब्सनका महासचिव कुमार घिमिरे र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमबीच सो सहमतित्रमा हस्ताक्षर भएको हो । कारखानाका स्वयंसेवीले यसको उत्पादन गर्नेछन् । यसबाट अभिभावकले पनि लाभ लिन सक्नेछन् । कारखानाडट एशियाबाट पाउन सकिने यी सामग्रीमा ‘स्कूल सपोर्ट रिसोर्स’, ‘वेल बिइङ: क्यारिङ फर द होल ह्युमन बिइङ, ‘किप लर्निङ’ खण्ड राखिएको छ । प्याब्सन र मिदास एजुकेशन प्रालिबीच मिदास इ क्लास एप बालबालिकाका लागि एक महिनासम्म निःशुल्क रूपमा प्रदान गर्ने सहमति पनि भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यालयका लागि उक्त एप निःशुल्क प्रदान गरिनेछ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । यो सुविधा सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीले प्रयोग गर्न सक्नेछन् । बालबालिकाले मिदास इक्लास एपको प्रयोग गरेर बालबालिका घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुनसक्ने र विभिन्न कक्षाअनुसारको सिकाइ क्रियाकलापमा भाग लिइ सिकाइ उपलब्धि हासिल गर्न सक्ने जनाइएको छ । बालबालिकाले प्लेस्टोरबाट मिदास इक्लास एप डाउनलोड गरेर इन्स्टल गरी एप खोली एपको मेनुमा रहेको अर्डर थिचेपश्चात् सब्क्रिस्पसन कार्ड लिन सक्ने र भौचर कोडमा प्याब्सन कोड लेखेर आफूले चाहेको कक्षाको मिदास इ क्लास एप प्रयोग सक्नेछन् । कास्कीमा कार्यरत कोपिला नेपालले यस अवधिमा बालबालिकालाई अनलाइन र फोनबाट आवश्यक मनोपरामर्श दिने जनाएको छ । रासस

कोरोनाको प्रभाव: गाउँतिर चहलपहल शहरमा सुनसान

काठमाडौं । केही दिन यतादेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ वस्तीमा निकै चहल पहल बढेको छ । युवा तथा परदेश गएका युवाहरु धमाधम गाउँघर फर्किएपछि यहाँका गाउँवस्तीहरु भरिभराउ देखिएका छन् । यता गाउँघरमा चहलपहल बढेपनि यहाँका प्रमुख बजार भने करिब सुनसान अवस्थामा रहेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हुन नदिन आजबाट देशैभरि ‘लकडाउन’ गरेपछि जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा पिपल्ला बजार सुनसान हुन पुगेको हो । बजारमा यातायातका साधन समेत चल्न छोडेपछि झनै सुनसान भएको दिपायल पिपल्लाका स्थानीय सर्वजित देउवाले बताए। उनले भने, “हिजो अस्तिसम्म भारत लगायत अन्य ठाउँबाट मानिस आउने गरेका कारण बजारमा ठूलै चहल पहल हुने गर्दथ्यो, हिजो आज त बजारमा मानिस भित्रिन छोडेका छन् र यातायातका साधन पनि ठप्प भएपछि सुनसान भएको छ ।” स्थानीय भन्छन्– यतिखेर बजारको चहलपहल वस्तीतिर सरेको छ । सरकारले सोमबार साँझ ‘लकडाउन’को घोषणा गरेसँगै यहाँका बजार व्यवसाय, कलकारखाना, यातायातका साधन बन्द भएपछि पिपल्ला, राजपुर, दिपायलका ठाउँहरुमा व्यवसाय गर्दै आएका व्यापारीहरु पनि पसल बन्द गरेर बसेका छन् । अधिकांश भने आ–आफना घर तथा गाउँमा फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हुन सक्ने भन्दै स्थानीयवासीहरु पनि आफ्ना घर बाहिर निस्किन सकेका छैनन् । त्यस्तै यहाँको स्थानीय प्रशासानले समेत निषेधाज्ञा जारी गरेसँगै घरबाहिर ननिस्कीन भन्दै प्रहरीले बजारमा गएराति देखि नै माइकिङ गर्न थालेको छ । बजारमा बिनाकाम निस्किने, भिड गर्ने लगायतका निषेधित कार्य गर्नेलाई प्रशासानले कारवाही गर्ने बताएपछि कारवाहीमा परिने डरले पनि स्थानीयबासी घरबाहिर ननिस्केका राजपुरका स्थानीय राजेन्द्रबहादुर शाहले बताए। उनले भने, “सरकारले घर बाहिर निस्किए कारवाही हुने भनी माइकिङ गरेपछि कतिपय मानिस घरभित्रै बसेका छन् भने गाउँमा घर भएकाहरु गाउँतिरै गइसकेका छन् ।” यहाँका बजारमा सुरक्षाकर्मीहरुको मात्रै बाक्लो उपस्थिति देखिन थालेको छ । कोरोना भाइरसको सतर्कतास्वरुप विद्यालय, क्याम्पस तथा कार्यालयहरु बन्द भएसँगै यहाँका गाउँ बस्तीमा चहलपहल बढेको हो । केही दिन अघिसम्म सुनसान देखिएका यहाँका ग्रामीण वस्तीमा दशैँमा भन्दा पनि बढी नै चहलपहल हुन थालेको स्थानीयहरु बताउँछन् । रोजगारीका लागि भारत तथा शहर बजारमा गएका मात्र नभएर तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाईँ सरेकाहरुसमेत हिजो आज गाउँघरमै फर्किएका जोरायल गाउँपालिका वडा नं ३ का स्थानीय गमबहादुर खड्काले जानकारी दिए। उनले भने, “वर्षौँ पहिले गाउँ छोडेर तरार्इ तथा शहर बजारमा बसाईँ सरी गएकाहरु पनि हिजो आज धमाधम गाउँ फर्किन थालेका छन्, दशैँ तिहार जस्ता ठूला चाड भन्दा कम्ती छैन अहिले गाउँघर ।” बजार तथा पसल बन्द भएसँगै जिल्लामा खाद्यन्नका लागि समस्या हुने कतिपयले आँकलन गर्न थालेका छन् । त्यस्तै नयाँ वर्ष नजिकिँदै गर्दा कामका लागि छिमेकी मुलुक भारत तथा देशका बिभिन्न ठाउँमा गएका सुदूरपश्चिमेलीहरु नयाँ वर्षको अवसरमा पारेर पनि केही घर आएका छन् । बडीकेदार गाउँपालिकाका स्थानीय प्रकाशबहादुर कलेलले भने, “प्रत्येक सालको नयाँ वर्षलाई सुदूरपश्चिमका स्थानीयले बिसु पर्वका रुपमा मनाउने गर्दछन्, त्यसैले बिसु पर्व मनाउन गाउँ फर्किएकाहरुका कारण पनि गाउँमा केही चहल पहल बढेको हो ।” बिसु पर्व मानाउन घर फर्किनेमा अधिकांस सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, दार्चुला र डोटीका मानिस छन् । उनीहरुमा कामको खोजीमा छिमेकी मुलुक भारत तथा अन्य देशमा गएकाहरु बढी छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रमुख भरत शाहीका अनुसार दैनिक सयौँको सङ्ख्यामा भारतका विभिन्न शहरबाट गाउँ फर्किएका छन् । यसवर्ष कोरोना भाइरस (कोभिड १९) का कारण झन् यसरी घर फर्किनेको सङ्ख्या बढ्न पुगेको हो । भारतमा पनि नेपालीले काम गर्ने ठूला कम्पनीहरु हालका लागि बन्द हुन थालेका कारण सुदूरपश्चिमेलीहरुलाई घर फर्किनुपर्ने बाध्यता पनि आइलागेको केही युवा बताउँछन् । स्थानीयहरु घर फर्किएका कारण यात्रुको चाप निकै बढेकाले यहाँका पहाडी क्षेत्रका प्रत्येक रुटमा कम्तीमा २ वटा गाडी थपगरिएको छ । तर दुई सिदन यता लामो दुरीका साधन चल्न नदिएपछि भने अहिले यहाँका सडकहरु पनि सुनसान भएका छन् । केही दिन यतादेखिको यात्रुहरुको चापका कारण यहाँका पहाडी क्षेत्रका होटेलहरु पनि खचाखच भएका थिए । डडेल्धुरा र दिपायलका होटेलमा यात्रुहरुले खचाखच भएकोमा आज बन्द भएसँगै उनीहरु गाउँ फर्किन थालेका छन् । तर टाढाका यात्रु भने सवारी साधनको अभावमा यतै बसिरहेका छन् । तर आज रातिदेखि भने यहाँका होटेल तथा रेष्टुराहरु पनि बन्द हुने होटेल व्यवसायी संघ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए । यतिखेर कामका लागि भारत गएका मात्र नभई पहाडबाट बसाइँ सरी तराई गएकाहरु पनि बिसु पर्व मनाउन आफ्नो गाउँ तथा जन्मथलो फर्किने बेला हो । केआइसिंह गाउँपालिका वडा नं ३ बासुदेबीका स्थानीय सेरु ऐरले भन्नुभयो, “शहर भन्दा गाउँमा बढी स्थानीयको चहल पहल बढेको छ, कतै गाउँबाट कोरोना फैलिन्छकी भन्ने डर हुँदै आएको छ ।” सुदूरपश्चिमका पहाडी जिल्लामा गौरा र दशैं पर्व पछिको महत्वपुर्ण पर्व बिसुलाई मानिने भएकाले पनि यहाँका स्थानीयहरु बढीजसो यो बेला आ आफनो घर फर्किने गरेको जोरायल गाउँपालिका वडा नं ५ गडसेराका मोहनबहादुर पातलीले बताए । उनले भने, “दशैँ भन्दा पनि यहाँका गाउँमा बिसु र गौरा पर्व लाई बढी महत्व दिइने भएकाले पनि मिलेसम्म यो बेला घर नआउने लगभग कोही हुदैन ।” बिसु पर्वका लागि गाउँमा नयाँ लत्ताकपडा तथा आवश्यक सामग्रीहरु किन्नेको अहिले भिडलाग्ने गरेको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका अर्का स्थानीय तथा व्यापारी चेतबहादुर विष्टले जानकारी दिए । दशैं तिहारजस्ता चाडपर्वले समेत गाउँ नफर्काएकाहरुलाई पनि कोरोना भाइरसको त्रासले अहिले आफनै गाउँ आउन बाध्य बनाएको जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं १ साना गाउँका श्यामबहादुर खड्काले बताए । उनले भने, “शहर बजारमा बढी भिडभाड हुन थालेपछि कोरोना फैलिन सक्ने डरले गाउँमा आएका छौँ, गाउँमा शान्त छ शहर बजारको जस्तो भिड नभएकाले आनन्द भएको छ ।” बिगतको समयमा गाउँघरमा जनशक्ति नभएपछि सयौँ रोपनी खेतबारी बाँझो भएको भए पनि युवा जनशक्ति अहिले गाउँ फर्किएसँगै यस वर्ष ती बाँझा खेतबारीमा अन्नबाली लगाउन सकिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “गाउँ छाड्ने प्रबृतिले यहाँको सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो अवस्थामा थिए अहिले सबै घर फर्किएका छन्, बाँझो जमिनमा खेती गरेर अन्न उत्पादन बढ्ने भयो ।” कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्वकै आर्थिक क्षेत्रमा ठूलो गिरावट आउने आँकलन गरिएको छ । तर डोटी लगायत समग्र सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा यतिबेला जम्मा भएका युवा तथा सबै नागरिकले आफ्नो घरगाउँमा बाँझो रहेका पुख्र्यौली खेतबारीमा खनजोत गरी खेतीगर्ने आसा पलाएको छ । यतिबेला गाउँमा आएकाहरु बिसु पर्व मनाएर फर्किहाल्ने अवस्था नरहेको र कोरोनाको असर अझै कतिसम्म रहने हो भन्ने अनुमान नरहेकाले पनि आगामी समयमा यहाँ अन्न उत्पादनको अवस्थामा बृद्धि हुने अपेक्षा स्थानीयको छ । सडक मार्गबाट एक हप्तामा कम्तिमा पनि एक हजार जनाको सङ्ख्यामा स्थानीय जिल्ला भित्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । एक हप्तामा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला भित्रिने भिमदत्त पन्त राजमार्गबाट कम्तिमापनि ५ सय २७ ओटा जीप र १ सय ओटा बसमार्फत कम्तिमा ५ हजार ७ सय ९७ नागरिक भित्रिएको पहाडी जिल्लाका नाकाका रुपमा रहेको अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ । सार्वजनिक गाडीको अभिलेख प्रहरीसँग भए पनि निजी गाडीबाट पनि ठूलो सङ्ख्यामा यात्रु भित्रिएको प्रहरीको भनाइ छ । जिल्लाबाट बाहिरिनेको सङ्ख्या कम र भित्रिनेको सङ्ख्या अत्याधिक रहेको शैलेश्वरी यातयात व्यवसायी समितिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए । स्थानीय नागरिक भन्छन्– ‘संसारमा र हाम्रो नेपालमा पनि कोरोनाको कहर त छँदैछ, तर पनि यस क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरु आफ्नो जन्मस्थलमा आएकोले गाउँघर यतिखेर निकै भरिभराउ र रमणीय बन्दै गएको छ ।’ रासस

के हात धुन सबैले एउटै साबुन प्रयोग गर्दा किटाणु सर्छ ?

काठमाडौं । हातको फोहोर, किटाणुलाई सफा गर्नको लागि साबुन पानीलाई सबैभन्दा उपयुक्त सामाग्री मानिन्छ । खाना खानुअघि, खाईसकेपछि, चर्पी गईसकेकपछि जहिले पनि नियमित रुपमा साबुन पानीको प्रयोग गर्न विशेषज्ञहरु सल्लाह दिन्छन् । तर हामी सबैले एउटै साबुन प्रयोग गर्दा रोग त सर्दैन भन्ने हामी मध्ये धेरैको चाँसोको विषय हो । यस प्रश्नको उत्तर सन् १९६५ मा सार्वजनिक भएको थियो । उक्त अध्यन अनुसार एउटै साबुन प्रयोग गर्दा रोग नसर्न बताएको छ । वैज्ञानिकहरुले श्रखलावद्ध रुपमा ५ बिलियन ब्याक्टेरियाले हात फोहोर गरेका थिए । त्यो रोग लाग्ने ब्याक्टेरिया थियो । उनीहरुले एउटा साबुन प्रयोग गरेर हात धुए र सोही साबुन दोस्रो व्यक्तिलाई प्रयोग गर्नदिए । यसरी एउटै साबुन प्रयोग गर्दा उक्त ब्याक्टेरिया दोस्रो व्यक्तिमा सरेको पाईएन र उनीहरुले एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्ने पुष्टि गरे । यस्तै सन् १९८८ मा साबुन उत्पादनकर्ताले राखेका वैज्ञानिकहरुले https://www.ncbi.nlm.nih.gov/pubmed/?term=3402545 एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्न पुष्टि गरेको थियो । स्वास्थ्य विशेषज्ञहरु साबुन पानीले हात धुनु किटाणुको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । त्यसैले मानिसहरुले किटाणुबाट बच्नलाई नगर्ने एक मात्र गल्ती भनेको साबुन पानीले हात नधुनु हो ।