बलिउड चलचित्र ‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै, डिशहोमबाटै हेर्न सकिने
काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगम” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । तमिल चलचित्र “का पे रनसिंगम” सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने छ । असोज १६ गते रिलिज भएको चलचित्र “खाली पीली” हेर्न चाहने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने छ । दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगम” अथवा “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।
कोभिड-१९ ले बढायो मानसिक समस्या
बागलुङ । कोभिड-१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी/कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड-१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६/७ जना बिरामी अस्पताल आउँछन् । “प्यानिक अट्याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उनले भने । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ । दिग्दारीपन, आत्तिने/डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उनले बताए । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भने, “नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।” उहाँले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताए । बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताए । “अस्पताल आउने झण्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ”, उनले भने, “कोभिड-१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।” नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताए । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ । बागलुङ नगरपालिका-३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाए । उनले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको उल्लेख गरे। वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताए । “योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ”, उनले भने । डा पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताए। “शरीररमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठिक हुन्छन्”, उनले भने। अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ । मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताए। उनले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे । “अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौँ”, उनले भने, “हरेक व्यक्ति शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।” यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । वर्षेनी अङ्ग्रेजी महिना अक्टुबर १० मा यो दिवस मनाइन्छ । रासस
लिलाम सम्बन्धी सिद्धान्त र ढाँचा निर्माण गर्नेले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो । उनीहरुलाई लिलामसम्वन्धी सिद्धान्तमा सुधार गरेको र लिलामसम्वन्धी नयाँ रूपरेखा (फम्र्याट) बनाएकोले पुरस्कारका लागि छनोट गरिएको नोबेल एकेडेमीको भनाइ छ । उनीहरुले सुधार गरेको सिद्धान्त र नयाँ फर्म्याटको प्रयोगले विश्वभरीका विक्रेता, क्रेता र करदाता लाभान्वित हुने एकेडेमीले जनाएको छ । उनीहरुलाई पुरस्कार स्वरुप ११ लाख अमेरिकी डलर र स्वर्ण पदक प्रदान गरिने एकेडेमीका अधिकारीहरुले जानकारी दिएका छन् । अल्फ्रेड नोबेलको स्मृतिमा हरेक बर्ष प्रदान गरिदै आएको अर्थशास्त्रतर्फको पुरस्कारलाई “स्भेरियु रिक्सबैंंक प्राइज” पनि भन्ने गरिन्छ । सन् १९६९ देखि २०१९ सम्ममा यो पुरस्कारबाट ८४ जना पुरस्कृत भएका छन् । तीमध्ये दुई जना मात्रै महिला रहेका छन् । यसअघि नोवेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार भएको थियो भने चिकित्सा शास्त्र, रसायन शास्त्रलगायतका विभिन्न विधामा दिइने पुरस्कारहरुको पनि घोषणा भइसकेको छ । एजेन्सी