दुर्गमका कर्मचारी भन्छन्- बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ
जाजरकोट । फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ । छ महिनाभन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जानसमेत प्राकृतिक नाकाबन्दी हुने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूति गर्न खासै नपाउने गरेको शे-फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनैलगायतका ठाउँमा आफ्नो थातथलो छाडेर अधिकांश मानिस आउने गर्छन् । जब तातो मौसम शुरु हुन्छ (हिउँ पग्लिन्छ), अनि सर्वसाधारण आफ्नो थातथलोमा फर्किने गरेको अधिकृत न्यौपानेको भनाइ छ । केही स्थानीयवासी सोही हिमपात र प्राकृतिक नाकाबन्दीको बीचमै थातथलो नछाड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भए पनि दुई दिन पैदल र दुई दिन हिँडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाए । “जनताको काम हो, जान्न भन्न कहाँ पाइयो र ?”, उनले भने । उपल्लो डोल्पाका अधिकांश सरकारीले कार्यालयका कर्मचारी उपल्लो डोल्पामा विकास निर्माणका काम गर्न निकै मुस्किल भएको बताउँदै आएका छन् । जानु मात्र ठूलो कुरा नभएको बताउँदै उनीहरू खाना, आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउँछन् । कर्णालीका हुम्ला र मुगुमा समेत यही समस्या हुँदै आएको छ । बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूति हुने कर्मचारी बताउँछन् । अक्सिजन अभावका साथै आवश्यक बन्दोबस्तीका सामग्री लैजानसमेत मुस्किल हुँदा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको र भाषासमेत नबुझ्दा काम गर्न मुस्किल हुने कर्मचारी बताउँछन् । सदरमुकाम दुनैमा एक हजार ९०० रुपैयाँमा पाइने एक बोरा (२५ केजी) चामल उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा रु पाँच हजार मूल्य पर्दछ । गाउँपालिकाको केन्द्रमा बत्ती नहुँदा काम गर्न मुस्किल हुँदै आएको कर्मचारी बताउँछन् । फोन, इन्टरनेट त धेरै ठूलो कुरा भएको अधिकृत न्यौपानेले बताए । मौसम छिनछिनमै परिवर्तन हुँदा कतिखेर के हुन्छ थाहा नहुने उनले जानकारी दिए । एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुई दिन बढी लाग्ने भएकाले सेवा दिनसमेत मुस्किल मात्र होइन, कहाँ के भइरहेको छ भन्ने सूचनासमेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको उनको भनाइ छ । सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जाँदा घरका आफन्तसँग फोनमा ‘म प्रशासकीय केन्द्रतर्फ जाँदैछु’ भनेर खबर गर्दैगर्दा मनमनै अबको चार दिनसम्म के हुने हो भन्ने चिन्ताले मुटु ढुकढुक हुने गरेको पीडा न्यौपाने सुनाउछन् । बाटोमा फोनले काम नगर्ने भएकाले बीचबाटोमै बिरामी भएमा उपचार नै नपाएर धेरैको अकालमै ज्यान गएको तीतो यथार्थ सम्झँदै उनले पीडा सुनाए । बाटोमा बस्ने बासदेखि उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा भगवान् भरोसामा यात्रा गर्नुपर्ने पर्ने पीडा यहाँका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई हुँदै आएको छ । शे-फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र पुगेपछि मात्र टेलिफोनको पहुँचमा पुग्ने अवस्था रहन्छ । न्यौपानेले भने- “त्यो पनि एकपटक १५ जनाभन्दा बढीले फोन गर्न नमिल्ने अवस्था छ । एक दिनमा खाना खाएको मात्र ९०० रुपैयाँ खर्च हुन्छ, नास्ता खाँदा त झन् धेरै हिसाब आउने गरेको छ ।” कात्तिकदेखि हिमपात शुरु हुन्छ भने फागुनको अन्तिममा हिमपात बन्द हुन्छ । विकास निर्माणको काम गर्दा सिमेन्ट, बालुवा ढुङ्गासमेत चौँरीमा बोकाएर लिँदा भारी खर्च हुने गरेको छ । सामानको मूल्यभन्दा ढुवानी भाडा बढी खर्च हुँदा हैरान हुने गरेको छ । भौतिक पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने काठ निकुञ्जको अनुमति भएपछि मात्र पाइन्छ । त्यस्तै कम पीडा छैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्ज्ञानीलाई पनि । सुविधासम्पन्न ठाउँमा बसेको आफूलाई दुर्गमको पनि अनुभव र सेवा लिनका लागि आफैँ रोजेर डोल्पा आएको बताउने पङ्ज्ञानी विकासमा राज्यको स्रोतसाधन समानुपातिकरूपमा वितरण नहुँदा पिछडिएका जिल्ला विकासको मूल प्रवाहमा आउन समय लागेको बताउँछन् । फोन गर्नसमेत निश्चित ठाउँ तथा अग्ला डाँडामा जानुपर्ने त्यो पनि पालो पर्खनुपर्ने पीडाको बीचबाट उपल्लो डोल्पाका सर्वसाधारणले हैरानी खेपेको यथार्थ उनले बताए । सर्वसाधारण बिरामी हुँदा हेलिकोप्टरमा उद्धारबाहेक अन्य उपाय नभएको गौतमको भनाइ छ । हुनेखाने मानिस हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्छन् तर गरिबहरू भने मृत्यु कुरेर बस्नुपर्ने बाध्यता छ । डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयवासी शुद्ध पानी पिउनसमेत समय हेरेर पानी जम्मा गर्नुपर्ने पीडामा छन् । “ताक्सी, धोलगायतका ठाउँमा धमिलो पानी सफा हुन समय लाग्ने भएकाले समय हेरेर पानी जम्मा गर्नुपर्ने हुन्छ”, पङ्ज्ञानीले स्थानीयवासीको खास समस्या बताए । उनले भने, “विकास गर्न मुस्किल छ, राज्यको स्रोत परिचालन समानुपातिक मात्र होइन, भूगोलअनुसार हुनुपर्छ, कर्मचारीलाई दिने भत्तासमेत सदरमुकाम दुनै र उपल्लो डोल्पामा एउटै भएर कहाँ हुन्छ ? विकासका लागि बजेट पुग्दैन, जनता बजेट थप माग्न आउँछन्, स्थानीय तहमा स्रोत छैन, कसरी दिनु ?” उनले भने । साना-साना गाउँ, छरिएर रहेका बस्तीका कारण विकास गर्न मुस्किल भएको जनप्रतिनिधि बताउँछन् । रासस
त्रियुगा डिस्टिलरीमा कार्यरत चौधरीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका-१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका-५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै विसं २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएकी थिइन् । आरोपित सुरुङ्गा नगरपालिका-६ स्थित त्रियुगा डिस्टिलरीमा कार्यरत छन् । आरोपित विनोदले फुलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई विसं २०७५ भदौ १५ गते पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते ५० हजार रुपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । अर्का आरोपित फुलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उनको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । सामाजिक परम्पराअनुसार विसं २०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् । रासस
दिव्य सेवा निकेतन र आशिर्वाद सेवा समाज नेपाललाई आरएमडीसीको सहयोग
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले दिव्य सेवा निकेतनलाई सहयोग गरेको छ । संस्थाले आज (फागुन १६ गते) आईतवारका दिन काठमाडौंको गोल्फुटार स्थित असहाय बृद्वा आमाहरुलाई आश्रय दिएको दिव्य सेवा निकेतनलाई खाद्यान्न सामाग्री, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले दिव्य सेवा निकेतनकी संथापक प्रविण दीदीलाई ७० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री तथा लत्ता कपडा र उक्त संस्थाको नाममा ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी र उक्त संस्थाका सचिव दिपक प्रसाद शर्मा लगायत सोही संस्थाका बृद्वा आमाहरुको उपस्थिति रहेको थियो । त्यस्तै, सोहि दिन संस्थाले काठमाडौंको बुढानिलकण्ठ स्थित असहाय वृद्वा आमा तथा वृद्ध बुवाहरुलाई आश्रय दिएको आशिर्वाद सेवा समाज नेपाललाई पनि संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत खाद्यान्न सामाग्री, लत्ता कपडा तथा नगद रकम सहयोग प्रदान गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले आशिर्वाद सेवा समाज नेपालकी अध्यक्ष लिला गुरुङ्गलाई २० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री तथा लत्ता कपडा र उक्त संस्थाको नाममा १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यो संस्था नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पुर्याउँदै आईरहेकोे छ ।