मेयरकप हेर्न नगरले दियो सार्वजनिक बिदा
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले बताए । मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ । संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करण मेयर रनिङ कप भलिबको आयोजना गरिएको नगरप्रमुख प्याकुरेलले बताए । पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए । मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले दुई लाख २१ हजार १०० रुपैयाँ र रनिङ कप पाउनेछ । उपविजेता टोलीले एक लाख ११ हजार १०० रुपैयाँ र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
कोरोना कहरः रोजगारी छाडेर घर फर्किनेको लर्को, सीमा क्षेत्रमा कडाई गर्न निर्देशन
डोटी । पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ-आफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएका ११ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोनाका कारण रोजागारी छाडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा पुनः कोरोना सङ्क्रमण फैलिने भन्दै स्थानीय प्रशासनले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका छन् । उता गृह मन्त्रालयले समेत क्वारेन्टिन तयारी अवस्थामा राख्न निर्देशनसहितको पत्राचार गरेसँगै यहाँका स्थानीय तहमा सबैले क्वारेन्टिन निर्माणका लागि तयारी गर्न थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । कोरोना जोखिमबाट बच्नका लागि सम्पूर्ण तयारी र सावधानी अपनाउनका लागि यहाँका स्थानीय तहलाई स्थानीय प्रशासनले आग्रहसमेत गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात घर फर्किनेको सीमा नाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । अहिले यहाँका सीमा नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सुदूरपश्चिमेली भित्रिन थालेका छन् । रोजगारीका लागि भारत गएका स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण फैलिने जोखिम बढेकाले सावधानीका लागि सबै तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए । उनले भने, “सीमामा घर फर्किनेको क्रम बढेको छ, कोरोना जोखिम नबढोस् भनेर हामीले सबै सावधानी अपाउनुका साथै स्वास्थ्य जाँचमा पनि निकै ध्यान दिएका छौं ।” भारतमा कोरोना सङ्क्रमण पुनः देखिएसँगै सुदूरपश्चिमेलीको प्रमुख पर्व बिशु नजिकिँदै आएकाले पनि अहिले रोजगारी गरी घर फर्किनेको सङ्ख्या बढेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनले भने, “भारतबाट नेपाल आएका सबै नागरिक कोरोना त्रासले आएका होइनन्, अधिकांश बिशु पर्व मनाउन आएका पनि छन्, घर आउँदै गरेकासँग कोरोना जोखिम हुनसक्ने भएकाले हामीले सीमा क्षेत्रमा स्वास्थ्य जाँचदेखि अन्य कुरामा ध्यान दिन आफू मातहतका निकायलाई निर्देशन दिएका छौं ।” उनका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा बढी हाराहारीमा नेपाली नोपल प्रवेश गरिरहेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट विगत १० दिनको अवधिमा कम्तीमा पनि आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । भारतबाट फर्किका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सीमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेकोसमेत जनाएको छ । कञ्चनपुरको गड्डाचौकी, त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएका हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । भारतबाट स्वदेश फर्किने सबैको सीमा नाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताए । उनले भने, “सीमा नाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिँदैन । सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँचसम्बन्धी कुनै परीक्षण नहुँदा समस्या भएको छ ।” भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले भने, “सीमा नाकामा सबैको एक-एक गरी स्वास्थ्य जाँच गर्न केही असहज भएका कारण सम्बन्धित स्थानीय तहले जाँच गर्ने गरी एन्टिजेन पठाइएको छ, भारतबाट आएकाहरुको सम्बन्धित स्थानीय तहमा स्वास्थ्य जाँच हुनेछ ।” रासस
हुम्लामा दैनिक २० घण्टा विद्युत कटौती, सर्वसाधारणलाई सास्ती
हुम्ला । हुम्लामा पछिल्लो समय हिल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रबाट वितरित विद्युत् नियमित रुपमा कटौती भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ । विगतका वर्षभन्दा यो वर्ष अझ बढी विद्युत् आपूर्तिमा समस्या भएपछि मानवअधिकार रक्षक सञ्जालको टोलीद्वारा यही चैत १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा गएर प्रजिअको ध्यानार्कषण गराएको टोलीका संयोजक राजन रावतले बताए । मानवअधिकारका क्षेत्रमा आवाज उठाउनका लागि आज बिहान मानवअधिकार रक्षकको जिल्लास्तरीय सञ्जाल गठन भएको जानकारी गराउँदै ज्ञापनपत्र पेश गराइएको थियो । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टासम्म विद्युत्भार कटौती गरिरहेको भन्दै सो समितिद्वारा आपत्ति जनाइएको थियो । विद्युत्भार कटौती हुँदा उद्योगी, व्यवसायीलाई नोक्सानी हुनुका साथै सीमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कार्यालयबाट सर्वपक्षीय बैठक बसालेर समस्याको चाँडोभन्दा चाँडो समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ । समितिद्वारा बुझाएको ज्ञापनपत्रको सम्मान गर्दै विद्युत् समस्या समाधानको वैकल्पिक विकल्प रोज्नका लागि हिल्दुम साना जलविद्युत् आयोजनाका प्रमुखसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले दिए ।