बाँसुरीले यसरी झार्छ पैसा, बाँसुरी बजाउन संसार घुम्ने नेपाली कलाकार

काठमाडौं । बाँसुरीसँग प्रताप केसीको बेग्लै प्रेम छ । उनले बाँसुरीमा धुन भर्न थालेको तीन दशक कटिसक्यो । कुनैबेला रहरले उनी बाँसुरी बजाउँथे । अहिले भने मुख्य पेशा नै यही बनिसकेको छ । टंगाल, काठमाडौंका स्थायी बासिन्दा केसी बाँसुरी बजाउँनकै लागि ८ महिना विदेशमा हुन्छन् । बाँकी चार महिना मात्र नेपालमा । यसपाली कोरोना महामारीले गर्दा उनका धेरै कार्यक्रमहरु रद्द हुन पुगे । नेपालमा भन्दा विदेशमा बाँसुरीवादक केसीको माग बढी छ । बाँसुरीको धुन विदेशीहरुले यति रुचाउँछन् कि एक पटक प्रस्तुती दिन गयो भने त्यतीले पुग्दैन । उनीहरु थप नयाँ–नयाँ कार्यक्रमको आयोजना गर्छन् । तिनै कार्यक्रममा सहभागी बन्दा उनको नेटवर्क फैलिदै–फैलिदै जान्छ । जब केसीले नेपाली मौलिक लोकभाका, झ्याउरे गीतहरु बाँसुरीको धुनमा सुनाउँछन्, विदेशीहरु मन्त्रमुग्ध हुन्छन् । केसी पहिलो पटक बाँसुरीको धुन सुनाउन फ्रान्स पुगेका थिए । १५ वर्ष अगाडी त्यो बेला केही दिनको टुरमा १ लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक पाएका थिए । त्यस यता उनले १५ पटक भन्दा बढी नै फ्रान्स पाइला टेकिसकेका छन् । त्यति नै पटक जर्मन पनि पाइला टेकिसकेका छन् । युरोपमा उनले पाइला टेक्न कुनै देश बाँकी छैनन् । एक पटक टुरमा जाँदा झण्डै ७, ८ लाख रुपैयाँ पारिश्रमिक उठ्ने गरेको उनी बताउँछन् । केही वर्ष यता कार्यक्रममा सिलसिलामा विदेश जाने बेला उनले नयाँ प्रतिभाहरुलाई पनि साथमा लैजान्छन् । विदेसीहरुलाई बाँसुरीसँगै तवला, मादल, सारंगी, सितार, टुङ्ना जस्ता बाजाको धुन पनि सुनाउँछन् । ‘एक पटकको टुरमा आफ्नो हातमा ५, ६ लाख रुपैयाँ हात पर्छ ।’ केसी भन्छन्, ‘बाँकी साथमा जाने प्रतिभालाई पनि बाँडनुपर्छ ।’ सन् २०१२ देखि उनले प्रणामुन्डी नामक सांगितिक ब्यान्ड पनि स्थापना गरेका छन् । ‘बाँसुरीले तपाईलाई के दियो ?’ केसीलाई सोधियो । ‘नाम र पहिचान ।’ यसो भनिरहँदा उनको मुहार उज्यालो देखिएको थियो । एउटै क्षेत्रमा निरन्तर लगाव भईरह्यो भने सफलता मिल्छ भन्ने उनी राम्रो उदाहरण हुन्, केसी । विदेशमा बाँसुरी बजाएकै कारण उनले हुन्डाईको भेनु फूल अप्सन गाडी जोडेका छन् । जसको मूल्य ४४ लाख १६ हजार रुपैयाँ पर्छ । उनले प्रयोग गर्ने ब्राण्डेड लुगा, चस्मा र परफ्यूम पनि यसै पेशाका भरमा किनेका हुन् । एक हिसाबले बाँसुरीकै कारणले उनले हाइफाइ जीवन बाँचिरहेका छन् । बाँसुरीवादक केसीको पृष्ठभुमितिर थोरै फर्कौं । उनको पुख्र्यौली काठमाडौंको टंगाल हो । जनकपुर चुरोट कारखानामा इन्जिनियरका रुपमा उनका बुबा जागिरको जनकपुर पुगेछन् । केसीको जन्म जनकपुरमै भयो । १०, १२ वर्षको उमेरदेखि नै केसीलाई बाँसुरीको यस्तो भूत चढ्यो कि कहिल्यै त्यसपछि अलग हुन सकेनन् । बुबा रिटायर्ड भएपछि उनको परिवार काठमाडौं नै फर्कियो । जनकपुरमा त्यो बेला उनका छिमेकी थिए, जेबि लामा । जो नामी बाँसुरीवादक थिए । गाउघरमा हुने कार्यक्रम, स्टेज कार्यक्रम कतै पनि उनी छुट्दैनथे । नेपालकै पुराना र उत्कृष्ट बाँसुरीवादक लामाको कला देखेर किशोरवयमा केसी पनि प्रभावित बने । त्यही देखेर रहरै रहरले केसीले बाँसुरीलाई नै साथी बनाए । पछि संगीत सिक्न उनी पटना पुगे । उस्ताद फैमुल्लाखानको घरमा एक वर्ष बसेर बाँसुरी बजाउने कला र शास्त्रीय संगीतबारे ज्ञान सिके । रेडियो पटनाका जागिरे फैमुल्लाखान स्थापित बाँसुरीवादक र सहनाइबादक थिए । उनीसँग एक वर्षको संगतले केसीले धेरै कुरा सिक्ने मौका पाए । ०४६ सालतिर नेपालमा बाँसुरी बजाउनेहरुको संख्या कमै थियो । कतै कार्यक्रम आयोजना हुँदा केसी सहभागी हुन्थे । रानी ऐश्वर्यको जन्मदिनमा उनले तीन पटक सहभागी भएर लाइभ बाँसुरी बजाउने मौका पाएका छन् । त्यसबेला देशका बिभिन्न स्थानबाट नाँचगानका लागि कलाकारहरु काठमाडौं आइपुग्ने गर्थे । रानीको जन्मोत्सव नेपाल प्रभा भवन र राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम हुन्थे । उनले पनि रानीको जन्मोत्सवमा भाग लिने अवसर पाए । केसीले बाँसुरी बजाएर पहिलो पटक पारिश्रमिक ४० रुपैयाँ पाएका रहेछन् । लोक गायक कृष्णविक्रम थापाले वर्दिवासमा एक कार्यक्रमका लागि उनलाई बोलाएका थिए । ‘त्यही कार्यक्रममा मैले ४० रुपैयाँ पारिश्रमिक पाए ।’ उनले त्यो बेला स्मरण गरे । त्यसपछिका दिनमा उनी नेपालका केही स्थानहरुमा सांगितिक कार्यक्रमका सिलसिलामा पुगे । उनी पश्चिमको धनगढीदेखी पूर्व काँकरभिट्टासम्म आफ्नो प्रस्तुतीका लागि पुगेका छन् । बिगत पन्ध्र वर्ष यता त नेपाल भन्दा बढी विदेशकै कार्यक्रममा उनको व्यस्तता छ । विदेशमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा भन्दा विदेसीले आयोजना गर्ने कार्यक्रममा उनको माग बढी छ । सन् २०१६ मा लक्जेम्बर्गमा उनको प्रस्तुती हेर्न युवराज र त्यहाका प्रधानमन्त्री आएको देख्दा उनलाई गर्व लागेको थियो । घुमेका मध्ये स्वीट्जरल्याण्ड उनलाई एकदमै मन परेको देश हो । ‘त्यहाँको वातावरण, दृश्यले उनलाई निकै लोभ्यायो । जता हेरे पनि पोलिस गरे जस्तो, टिलिक्क टल्काए जस्तो लाग्यो ।’ उनी सुनाउँछन् । बाँसुरीवादक केसी घुम्नमा अत्यन्तै रुचि राख्छन् । उनी प्राय: एक्लै यात्रा गर्न रुचाउछन् । मुड चल्दा गाडी लिएर कतै एक्लै निस्किएका हुन्छन् । ब्राण्ड कन्सियस केसीलाई लिभाइजका लुगा र भ्यान्सको जुत्ता, सिकेवान परफ्यूम प्रयोग गर्छन् । उनले ओकिली र नाटिभा ब्राण्डका चस्मा प्रयोग गर्छन् । नाटिभाको चस्मालाई १ लाख रुपैयाँमाथि र ओकिलीको चस्मालाई ६० देखि ८० हजार रुपैयाँ पर्ने उनी बताउँछन् । अहिलेसम्म केसीले बाँसुरीकै लागि २ लाख रुपैयाँ भन्दा बढी खर्चिए । एक सेटमा २४ वटा बाँसुरी हुन्छन् । जसको मूल्य ४५ देखी ५० हजार रुपैयाँ पर्छ । जता पुगेपनि एक सेट बाँसुरी उनको साथमा कहिल्यै छुट्दैन । कोरोना नभईदिएको भए यतिखेर केसी कुनै युरोपियन देशमा सांगितिक कार्यक्रम गरिरहेका हुन्थे । धेरै वटा कार्यक्रमहरु कोरोनाकै कारण उनले मिस गरे । अब छिटै नै फेरी युरोप यात्रामा उनी निस्किदैछन् ।

पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालविवाह र बहुविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागि यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उनीहरुले बेहुला र बेहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथवा पहिलो विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेर मात्र विवाहको काम गर्न सहमत भएको बताए । “बालविवाह र बहुविवाह न्यूनीकरणका लागि पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकाले वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरिएको छ”, पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले भने, “पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पुरोहितहरूलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन आग्रह गरिएको छ ।” कानूनले २० वर्ष उमेर नपुगेको विवाहलाई बदर गरेको छ । बालविवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसैगरी बहुविवाह गर्ने वा गराउनेलाई एक देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवानाको व्यवस्था छ । बालविवाहपछि भविष्यमा थुप्रै खालका घरेलु तथा लैङ्गिक हिंसाहरु बढ्दै गएका छन् । पुरोहितहरुले विवाह गराउँदै गर्दा २० वर्ष पार गरेको छ कि छैन निक्र्यौल गर्ने र यदि नपुगेको भए उनीहरुलाई विवाह बन्धनमा नवाधिन सल्लाह दिनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । कानूनले बर्जित गरेका कुराहरुलाई समाजका प्रतिष्ठित र बौद्धिक व्यक्तिको रुपमा रहेका पुरोहितहरुले निस्तेज गर्नुपर्ने बताउँदै उनले त्यस्तो विवाह गर्दै गरेको जानकारी पाएमा प्रहरीलाई सूचना दिन समेत सबैमा आग्रह गरे । “रीतिअनुसार पुरोहितले विधी पु¥याएमा मात्र विवाह हुने हो, यसक्रममा धेरैजसो बालविवाह पुरोहितले विधी पु¥याउँछन्”, उनले भने, “तिनै पुरोहितहरुलाई एक ठाउँमा भेला गराएर बालविवाहका विविध विषयमा प्रशिक्षण दिएमा न्यूनीकरणमा केही सघाउ पुग्ने अपेक्षा गरिएको छ ।” बालविवाह सम्बन्धी कानूनी व्यवस्थाको बारेमा पुरोहितलाई सचेत गराउने, बालविवाह अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । बालविवाह हो भन्ने थाहा पाएपछि त्यसलाई रोक्न पहल गर्ने, बालविवाह र बहुविवाह सामाजिक कुरीतिविरुद्ध चेतना अभिवृद्धि गर्न र यस्तो गरेमा परिवार र व्यक्तिलाई हुने नाकारात्मक परिणामको जानकारी दिन पनि पुरोहितहरुलाई उनले आग्रह गरे । विश्व हिन्दु महासङ्घ पर्वतका सभापति लोकनाथ आचार्यले कतिपय बाध्यात्मक अवस्थामा पुरोहितहरुले काम गर्नुपर्ने भएकाले विवाह रोक्नु ठूलो जोखिम हुने बताए । उनले सहज परिस्थितिमा बाहेक सबै ठाउँमा सम्भव हुन नसक्ने बताए । सो अवसरमा बालविवाह र बहुविवाहको कानूनी अवस्थाका बारेमा प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी गराए ।

हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुन्छ- कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै सो बताएका हुन् । साथै, उनले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । उनले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन् । देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहाना राख्नुपर्ने बताए ।