चितवनमा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिए
चितवन । जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मङ्सिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । अभियानअन्तर्गत पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन हजार ५४२ जनाले नाम दर्ता गराएका छन् । पुस ४ गतेदेखि सञ्चालन भएको दोस्रो चरणअन्तर्गत अभियानमा राप्ती, खैरहनी र रत्ननगरमा एक हजार ७८८ जनाले नाम दर्ता गराएको उहाँले जानकारी दिए । उनका अनुसार माडी नगरपालिकामा ७१२ महिलासहित एक हजार ५५१, कालिका नगरपालिकामा ६६२ महिलासहित एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ३१५ महिलासहित ६१४ ले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत राप्ती नगरपालिकामा ३६४ महिलासहित ७६९, खैरहनी नगरपालिकामा २५६ महिलासहित ५३७ र रत्ननगर नगरपालिकामा २४८ महिलासहित ४८२ जनाले नाम दर्ता गराएका छन् । दोस्रो चरणअन्तर्गत मतदाता नामावली सङ्कलन कार्य पुस १८ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय चितवनमा अभियानका क्रममा एक हजार ३९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये महिला ४७४ महिला र ५६५ पुरुष रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा दुई हजार ६१३ जनाले नाम दर्ता गराएका हुन् । जसमध्ये एक हजार ३८१ पुरुष, एक हजार २३२ महिला रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ । अभियानकै क्रममा स्थायी वसोवास अन्य जिल्ला भएर चितवनमा आएर मतदाता नामावली सङ्कलन गराउने ५७२ रहेका छन् । अभियानका लागि दोस्रो चरणमा पालिकाको कार्यालय रहेको स्थानमा एक/एक वटा दर्तास्थल राखिएको छ । जिल्ला निर्वाचन कार्यालयमा तीन वटा र जिल्ला प्रशासन कार्यालयमा एउटा दर्तास्थल राखेर मतदाता नामावली सङ्कलन कार्यलाई तीव्र पारिएको कार्कीले जानकारी दिए । कार्यालयका अनुसार अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । विसं २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता रहेका थिए । जुन नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका थिए । मतदाता नामावलीमा नाम सङ्कलनका लागि राजनैतिक दलले चासो दिन थालेको कार्कीको भनाइ छ । उनले भने, “राजनैतिक दलहरुले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि फाराम लाने, फाराम भरेर मतदाता ल्याउने जस्ता काम गरिरहनुभएको छ ।” मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । रासस
मेलम्चीको पानी छिट्टै आउँछः खानेपानी मन्त्री चौधरी
काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री चौंधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका हुन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए। मन्त्री चौधरीले भने, ‘मैले एउटा उद्देश्य पक्कै लिएको छु । आज मेलम्चीको खानेपानी काठमाडौंबासीले खाईरहनु भएको थियो । तर आज बाढिपहिरोको कारणले बन्द भएको छ । संविधानमा मौलिक हकको रुपमा शुद्ध खानेपानी र सरसफाई हरेक नागरिकको अधिकार भएको कारणले काठमाडौंबासीलाई यतिमात्रै म भन्न चाहन्छु–मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होईन् तत्काल अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु । आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ त्यस अवसरमा मन्त्री चौंधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पु¥याएका व्यक्ति तथा संघ, संस्थाहरुलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताए ।
उद्यमशील बन्न सीप सिक्दै महिला
तनहुँ । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ । घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् । यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ । बढ्दो शहरीकरणका कारण घरलगायतका संरचना निर्माण अत्याधिक हुन थालेपछि दक्ष जनशक्तिको माग बढेका कारण महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । “दक्ष जनशक्तिको माग बढेको र अन्य कामको तुलनामा सजिलो पनि भएको हुँदा यसतर्फ महिलाको आकर्षण बढेको छ,” रेग्मीले भने, “त्यसैका लागि महिलालाई दक्ष बनाउन तालिम दिएका हौँ ।” रासस