नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु, आज धनतेरस

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरी धनतेरस मनाउने परम्परा छ ।

त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ । कात्तिक २५ गते भाइटीका परेको छ ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइने भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथि सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलालले बताएका छन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा साँझपख दीपमालिका गर्ने चलनसमेत छ । यस दिन धातुका सामान, भाँडाकुँडा, गरगहना, कुचो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि छ ।

धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आज पनि सुनचाँदीका सिक्का बिक्री गर्ने भएको छ । बबरमहलस्थित राष्ट्र बैंकको कार्यालयबाट हिजोदेखि सुनचाँदीका सिक्का बिक्री सुरु गरिएको थियो ।

Share News