छोरा सीए, छोरी एमबीबीएस डाक्टर, व्यवसाय संकटमा परेपछि आत्महत्या
काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा परेको असरले समग्र क्षेत्र प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजले व्यवसायमा परेको असरले व्यवसायीहरु एकपछि अर्को समस्यामा परेपछि व्यवसायहरु ठूलो समस्यामा परिरहेका छन् । व्यवसायमा समस्या आएपछि एकपछि अर्को व्यवसायीहरुले आत्महत्या गरिरहेका छन् । बुधबार मात्रै नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेल मृत फेला परे । पोल्ट्री व्यवसायी समेत रहेका कँडेल झुण्डिएको अवस्थामा आफ्नै कार्यालयमा मृत फेला परेका हुन् । व्यवसायी कँडेल भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै अफिसको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अनमोल फिड्सका सञ्चालक रहेका कँडेल झुण्डिएको कोठामा ८ पृष्ठको सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले यस विषयमा अनुसन्धान भइरहेको बताए । उनले सुसाइड नोट पनि भेटिएको जानकारी दिए । प्रहरीका अनुसार उनले सुसुाइड नोटमा केही व्यक्तिको नाम पनि उल्लेख गरेका छन् । उनले आफ्नो व्यवसायको सेयर बिक्री गरेका व्यक्तिहरुको नाम उल्लेख गरेको बुझिएको छ । नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले उनी व्यवसाय संकटमा परेर आत्महत्या गरेको हुन सक्ने बताउँछन् । ‘अहिले चितवनको पोल्ट्री व्यवसायमा संकट छ, शंकरजीले आफ्नो व्यवसायको ९० प्रतिशत सेयर बिक्री गरेर १० प्रतिशत मात्रै स्वामित्व राखेका थिए, उहाँले व्यवसाय समस्यामा छ भनेर बेला बखत भन्नु हुन्थ्यो, सबैलाई समस्या नै छ,’ अध्यक्ष पुरीले भने । ‘उहाँले मलाई शुक्रबार फोन गरेर अब छिट्टै बैठक राख्नु पर्यो भन्नु भएको थियो, म काठमाडौं आउँछु त्यतै बसेर गफ गरौंला भन्नु भएको थियो, त्यसपछि कुरा भएको छैन, बेला–बखत व्यवसाय समस्यामा छ भनेर साथीहरुमाझ भन्नु हुन्थ्यो,’ अध्यक्ष पुरीले कँडेलसँग भएको कुराकानी स्मरण गर्दै भने । बैंकको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न नसकेका कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको भनाइ छ । मृतक कँडेल काँग्रेसको चितवन जिल्ला कोषाध्यक्ष र महाधिवेशन प्रतिनिधि समेत थिए । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको बताएको छ । पारिवारिक स्रोतका अनुसार उनको छोरा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययनरत छन् भने छोरी एमबीबीएस डाक्टर हुन् । उनका भाई अमेरिकामा रहेर कृषि वैज्ञानिकका रुपमा कार्यरत छन् । मृतक कँडेलले केही समयअघि अनमोल फिड्सको १० प्रतिशत सेयर आफुसँग राखेर ९० प्रतिशत सेयर प्रदिप रुगाँटालाई बिक्री गरेका थिए । पछिल्लो समय एकपछि अर्को व्यवसायीले आत्महत्या गरिरहेका छन् । गत माघमा इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाहको प्रयास गरेका थिए । व्यवसायी समेत रहेका आचार्यले शरिरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । गत मंसिरमा पनि सिरहाका एक जना व्यवसायीले बैंकले चर्को ब्याज लिएको र आफ्नो व्यवसायले थेग्न नसकेको भन्दै आत्महत्या गरे । सिरहा गोलबाजारमा व्यापार गर्दै आएका पप्पु महासेठले बैंकको ब्याज तिर्नै नसकेको भन्दै आत्महत्या गरेका थिए । यस्तै, गत भदौ २१ गते काठमाडौं न्यूरोडमा कपडा व्यापार गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले पनि आत्महत्या गरे । उनले पनि बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको सुसाइड नोट भेटिएको थियो । मासिक ४० हजार बढी सटर भाडा र लाखौं रकम बैंकको किस्ता तिर्नु परेको र सोही अनुसार व्यापार नचलेपछि मृत्युको बाटो रोज्नु परेको हुदयविदारक शब्दहरु उनको सुसाइड नोटमा उल्लेख थियो । भक्तपुर मध्यपुर ठिमीका व्यवसायी सुदीप अधिकारीले पनि अघिल्लो वर्ष बैंकको ऋण तिर्न नसकेको भन्दै परिवारको समेत हत्या गरेर आत्महत्याको बाटो रोजे । यस्तै, गत माघमै पोखराका व्यवसायी बलराम गौतम बिरगञ्जमा मृत फेला परेका थिए । उनले पनि व्यवसायमा संकटमा परेर आत्महत्या गरेको बुझिएको छ ।
वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी
काठमाडौं । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउँछन् । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उनी अहिले २४ वर्षको भए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिसकेका छन् । कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा होमिभएका उनी अहिले भने आर्थिक समस्याका कारण स्वदेशमै खेलबाट भविष्य नदेखेपछि वैदेशिक यात्रा तय गरेका छन् । ‘खेल खेल्ने रुचि र इच्छा धेरै भएपनि आर्थिक सङ्कटले भलिबलमा जीवन बिताउन सक्छु भन्ने सपना देखिनँ’, उनले भने,’खेलाडी पैसाले भरिपूर्ण हुँदैन, आफैँले लगानी गर्नुपर्दा यस क्षेत्रलाई छाडेर वैदेशिक रोजगारको सपना बुनेको छु ।’ राज्यले स्तर छुट्याएर राम्रो खेलाडी स्वदेशमै टिकाइराख्न भत्ताको व्यवस्था, रोजगारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उहाँको भनाइ छ । खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ । आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरिरहेको छ । पूर्वखोला गाउँपालिका–६ हेक्लाङका २२ वर्षीय देउबहादुर सिंजाली पाँचवर्षदेखि भलिबल खेल खेल्दै आएका छन् । कक्षा १२ सम्मको अध्ययन गरेका उनी खेल क्षेत्रबाट राम्रो गर्छु भन्ने सपना बोकेर सो क्षेत्रमा प्रवेश गरे । खेल खेल्दै जाँदा आर्थिक समस्याका कारण उनीपनि वैदेशिक रोजगारमा जाने तयारीमा छन् । प्रतियोगिता हुँदामात्रै खेल खेलाइने भएकाले अन्य समय खाली बस्नुपर्दा आर्थिक उपाजर्नमा समस्या परिरहेको उनको गुनासो छ । बाहिर प्रतिस्पर्धामा जाँदा खाने, बस्नेलगायतका क्षेत्रमा आफैँले लगानी गर्नुपर्दा खेलाडीलाई समस्या परेको तिनाउँ गाउँपालिका–५ बिस्कुनडाँडाका १७ वर्षीय रेशम विक बताउँछन् । उनी भविष्यमा खेलबाट पहिचान दिन भलिबलमा आकर्षित छन् । कक्षा ११ मा दमकडा माध्यमिक विद्यालयमा व्यवस्थापन समूहमा अध्ययनरत विकले अहिले पढाइसँगै खेललाई अगाडि बढाएका छन् । तीनवर्षदेखि विभिन्न जिल्ला तथा प्रदेशस्तरीय खेलमा प्रतिस्पर्धा गरिरहनुभएको छ । खेलमा राज्यले सहयोग गरी खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाइदिएमा यसैबाट राम्रो खेलाडी बनेर चिनिने उनको सोच छ । खेलाडीलाई संरक्षण र रोजगार दिन सकियो भने खेलाडीले नेपालमा बसेर खेल उत्पादन गर्ने प्रक्रियालाई अझ बढावा दिनेछन्, राज्यले खेलाडीको संरक्षण गर्न नसकेको बताउनुहुन्छ, राष्ट्रिय भलिबल रेफ्री तथा प्रशिक्षक अनन्त श्रेष्ठ । उमेर हुँदासम्म खेल खेल्ने र खेल खेल्ने उमेर सकिएपछि घरपरिवारको गुजारा चलाउन राम्रो सम्भावना बोकेका खेलाडी विदेशतिर खेलाडी जान बाध्य रहेको श्रेष्ठले बताए । उनी २०५२ देखि २०६५ सालसम्म निरन्तर भलिबल खेलमार्फत स्थानीय, जिल्ला हुँदै राष्ट्रियस्तरसम्मको खेलमा प्रतिस्पर्धामा पुगे । भलिबल खेल खेल्ने क्रममा धेरै अनुभव बटुलेका उनी हाल भलिवल रेफ्री तथा प्रशिक्षकको काम गर्दै आएका छन् । ‘खेलको लागि राम्रो सम्भावना बोकेका खेलाडी उत्पादन छन्, तिनलाई जिल्लाले संवद्र्धन र संरक्षण गर्नुपर्ने हो, प्रदेशमा पुगेका खेलाडीलाई पहिचान हुने गरी एउटा रोजगारीको भूमिका निभाएर संरक्षण गरेर राख्नुपर्ने थियो’, उनले भने,’राज्यले पनि अन्तर्राष्ट्रियस्तरमा खेल खेलिसकेका खेलाडीलाई नेपालमै राखेर स्वदेशको खेलकुदको विकासका लागि गर्नुपर्ने दायित्व पूरा गर्न सकेको छैन ।’ राज्यले कुनैपनि समस्या समाधानका लागि योजना बनाएर खेल क्षेत्रका विकास गर्ने हो भने ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा पूरा हुनेछ । राज्यले खेल्नुपर्ने भूमिका सहज ढङ्गले खेलिदिएको खण्डमा विदेश पलायन हुने दर घट्नेछ । स्थानीयस्तरदेखि जिल्ला, प्रदेश र राष्ट्रियस्तरसम्म जतिपनि खेलाडी उत्पादन हुन्छन् ती खेलाडीको रोजगारको तरिकाले जुनसुकै माध्यमले संरक्षण गर्न सकियो खेलकुद क्षेत्रको विकास हुनेछ । रासस
एशिया कपका कान्छा क्याप्टेन
काठमाडौं । नेपालले यूएईलाई पराजित गरेको छ । एसीसी प्रिमियर लिगमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । नेपालले ३०.३ ओभरमा ११८ रन बनाउँदै यूएईलाई पराजित गरेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेल यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि हात पारेको हो । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । भिम शार्की अविजित ३६ रनको योगदान गरे । यो जितसँगै एशिया कपमा खेल्ले सपना पुरा गरेको नेपालको क्याप्टेनको जिम्मेवारीमा रोहित पौडेल छन् । रोहित पौडेल एशिया कप खेल्ने ६ टीममध्ये सबैभन्दा कान्छो क्याप्टेन हुन् । समूह ‘ए’मा पाकिस्तान र भारत छन् । नेपालले यही समूशमा रहेर खेल्ने भएको छ । भारतको टीमका क्याप्टेन रोहित शर्मा ३६ वर्षका भए भने पाकिस्तानको क्याप्टेन मोहमद बाबर अजम २८ वर्षका भए । यस्तै, एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । श्रीलंकाका क्याप्टेन दिमुथ करुणारत्ने ३५ वर्ष, बंगलादेशका क्याप्टेन शकिब अल हसन ३६ वर्षका र अफगानस्थानका क्याप्टेन रशिद खान २४ वर्षका भए । यी सबै क्याप्टेनहरु मध्ये नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल २१ वर्षका भए ।