चलचित्र ‘जारी’ले २१ दिनमा गर्यो १५ करोडभन्दा बढीको व्यापार

काठमाडौं । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ । वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले २५ लाख र ‘प्रसाद २’ ले ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् । यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको छ । नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे। जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने ।

‘घडियाल काव्य उत्सव–२०८०’

नवलपुर । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । जिल्लाको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताएका हुन् । ‘घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेको छ’ उनले भने। पानीका मुहान जोगाउन र पानी सफा राख्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । मानवीय कारणले प्राकृतिक सम्पदाको नास हुँदै गइरहेकाले यस्ता सम्पदा जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा कोइरालाले जोड दिए। सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । पहिलो संस्करणका विषयवस्तु र मुद्दालाई परिस्कृत तथा परिमार्जित गर्दै आयोजना गरिएको उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ । उत्सवको दोस्रो दिन आज शनिबार ‘प्रकृतिसँग साहित्य’, ‘शिरको गाथा तीरको व्यथा’ र ‘वैभवशाली देवचुली शीर्षक’मा बहस तथा छलफलका कार्यक्रम हुँदैछन् । आज बिहानबाट काव्य वाचनको कार्यक्रम सुरु भएको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्दै हुनुहुन्छ । आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदैछ । विभिन्न तीन चरणमा हुने आजको छलफलमा छुट्टाछुट्टै विषयवस्तुमाथि छलफल गरिने कडरियाले बताए। कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ । खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ । उत्सवको पहिलो दिन शुक्रबार ‘सङ्कटमा घडियाल ः लोभदेखि लोपसम्म’, ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’ गरी पाँच वटा चरणमा कार्यक्रम भएका छन् । छलफलमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, पूर्वमन्त्री गणेश शाह, मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सहभागी थिए । त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लुडब्लुएफका प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारी, संरक्षणकर्मी डिबि चौधरीसहितका व्यक्तिले छलफलमा सहभागिता जनाएका थिए । निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीवासीले निकुञ्जसँग सम्बन्धित स–साना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयलाई छलफलमा चर्चा गरिएको थियो ।

दुर्गमको गोठमा नन्दप्रसादको रमाइलो जीवन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताएका छन् । ‘यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो’, ७६ वर्षीय पुनले भने, ‘बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन’, बाबुबाजेले गर्दै आएको भैंसीपालनलाई निरन्तरता दिन जङ्गल पस्नुअघि पुनले काम र दामको खोजीमा भारतको उत्तरप्रदेशमा १६ महिना बिताएका थिए । पुनले पञ्चायतकालमा करिब पाँच वर्ष राम्चे गाउँमा जनप्रतिनिधिको रुपमा समेत काम गरेका थिए। तीन छोरी र दुई छोराका अभिभावक पुनले घरखर्च चलाउने, छोराछोरी र नाति नातिनालाई पढाउने खर्च भैँसीपालन र तरकारी खेतीबाट जुटाएका छन् । ‘राँगो, भैँसी, घ्यू, साग, बन्दा, काउली र आलु बेचेर परिवार धानेको छु’, पुनले भने, ‘विसं २०४५ तिर गलेश्वरमा कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएर पुरस्कृत भएपछि भैँसीपालन र तरकारी खेतीलाई निरन्तरता दिन प्रोत्साहन मिल्यो ।’ वर्षमा चार/पाँच वटा राँगा भैँसी र मासिकरुपमा २० देखि ३० लिटरसम्म घ्यू बेच्ने गर्छन् । घोडेपानी, हिस्तान, राम्चे र पोखरामा घ्यू बिक्री गर्छन् । दूध, दही गोठमै बिक्री हुन्छ । दुई वर्ष पालेको राँगोलाई रु ५० हजार, दुहुना भैँसीलाई एक लाखसम्म मूल्य पर्छ । तीन वर्षअघि श्रीमती भक्तिमायाको निधन भएपछि नन्दप्रसादलाई छोरा रेमुले भैँसीपालनमा साथ दिएका छन् । अविवाहित एक छोरीले घर धानेर बसेकी छन् । बिवाह भइसकेका दुई वटा छोरी पोखरामा बस्छन् । एक जना छोरा बेनीमा छन् । दुई जना छोरा छोरीलाई दश जोड दुई तह पढाउने खर्च भैँसीपालनबाटै खर्च जुटेको छ । ‘दिदीहरुको पोखरामा आफ्नै घर छ । बुबालाई उतै बस्ने भनेर लगेर जानुभएको थियो’, रेमुले भने, ‘बजारको कोलाहाल, धुलो मन परेन, गोठमै ताजा तरकारी, दूध, घ्यू खाएर बस्छु भनेर आउनुभयो, बृद्ध बुबालाई एक्लै छोड्न भएन भनेर म पनि गोठमा आएको छु, दिदीले घरबाट खर्च पानी ल्याइदिनुहुन्छ ।’ नन्दप्रसादको जङ्गलको बसाई फरक किसिमको छ । उनले भैँसी बाध्ने गोठ र आफू बस्ने घर काठैकाठको बनाएका छन् । छानो र चारैतिर काठले बारेको घरको भुइँमा बस्ने ठाउँमा पनि काठनै छन् । काठको घर न्यानो हुने र धेरै खप्ने पुनको अनुभव छ । तिनपोखरी पुनहिल र मोहरेडाँडा जोड्ने गुराँस पदमार्गमा पर्छ । हालै सञ्चालन भएको यो पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि नन्दप्रसादको भैँसी गोठ र काठका घर आकर्षक बनेको छ । पर्यटक, पर्यटक मजदुरहरुले दूध, दही किनेर खाने र नन्दप्रसादसँग भलाकुसारी गर्छन् । एक जना फ्रान्सका पर्यटकले नन्दप्रसादका लागि काठकै व्यवस्थित किसिमको दुई कोठे घर पनि बनाइदिएा छन् । भैँसी चरनका लागि जङ्गलमा छाडिदिने गर्छन् । गोठमा बाधिएका पाडापाडीका लागि जङ्गलमा गएर घाँस ल्याउने, भकारो सफा गर्ने, भैँसी दुहुने, मोही पार्ने, घ्यू बनाएर बेच्न लैजाने नन्दप्रसादका दैनिकी हुन् । भैँसी गोठ नजिकै करिब पाँच रोपनी जमिनमा माघ–फागुनमा आलु र आलु खनेपछि साग, बन्दा र काउली खेती गर्नुहुन्छ । चिसो हावापानीमा उत्पादन भएको तिनपोखरीको आलु र साग मोहरेडाँडा, फूलबारी र घोडेपानीको होटलमा खपत हुन्छ । चम्किलो र हसिलो अनुसार, पुष्ट शरीर भएका नन्दप्रसादले जङ्गल जाँदा होस् या गोठमा बस्दा रेडियोको साथ छुटाउनुहँुदैन । गीत सङ्गीत सुन्दै काम गर्ने उहाँ अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय घटनाक्रमको बारेमा उत्तिकै जानकारी राख्न रुचाउँछन् । रासस ।