भूकम्पको आठ वर्षमा पनि बनेन गोरखा स्मृति उद्यान

गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण ग¥यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ । ‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ’, उनले भने, ‘त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायतका काम पनि सम्पन्न भएको छ ।’ उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए । उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको इञ्जीनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए । उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने इञ्जीनियर पङ्गेनीको भनाइ छ । ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ’, इञ्जीनियर पङ्गेनीले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’ उद्यान निर्माणको जिम्मा स्वच्छन्द/होम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए । पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ । उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए । ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए । उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ’, उनले भने, ‘झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा झनै ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।’ निर्माणमा ढिलाइ हुँदा सुरुमा १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ रुपैयाँ पुगेको उनले जानकारी दिए । बारपाक सुलीकोटमा सार्वजनिक बिदा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो । गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए । रासस

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ । नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने जनाईएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने बैशाख १३ गते बुधबार हुनेछ । प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ । सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ । प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् । उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’ शाखाको उद्घाटन कार्यक्रममा सबैको उपस्थिति रहने जनाईएको छ ।

वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेट खेल प्रभावित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । तेस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ । रासस