काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ ले कलाकारहरूको आकर्षक लाइनअप तयार पारेको छ ।
मंगलबार निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ । यससँगै चलचित्रको कलाकार टोली अझ सशक्त बनेको छ ।
विशेष आकर्षणका रूपमा चलचित्रमा अभिनयसँगै मदनकृष्ण श्रेष्ठले एउटा गीतमा स्वर पनि दिने भएका छन् । मंगलबार नै उनको स्वरमा चलचित्रको एक गीत रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ ।
यसअघि नै चलचित्रका लागि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठलगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन् । पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ । चलचित्रकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन् ।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि चलचित्रको मुख्य छायांकन गरिने तयारी गरिएको छ ।
प्राविधिक पक्ष पनि उत्तिकै सशक्त देखिएको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ भने कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टको कोरियोग्राफी रहनेछ । द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन् ।
त्यसैगरी नवराज शर्मा मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् भने निर्माण व्यवस्थापनको जिम्मेवारी प्रताप सुवेदी (भोला)ले सम्हाल्नेछन् ।