काठमाडौं । नेपाली खेलाडी कमलराज भट्ट (डेनिस भट्ट) ले विश्वभर तीव्र रूपमा लोकप्रिय बन्दै गएको फिटनेस खेल हाइरोक्स मा ऐतिहासिक सफलता हासिल गरेका छन् । भारतको नयाँदिल्लीमा आयोजित प्रतियोगितामा उनले चार विधामा प्रतिस्पर्धा गर्दै चारैमा स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका हुन् ।
कमलराजले ओपन डबल्स विधामा ५९ मिनेट २८ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण जिते । त्यससँगै उनले प्रो डबल्स विधाको उपाधिसमेत आफ्नो नाममा पारे ।
त्यसैगरी, मेन्स रिले विधामा पहिलो स्थान हासिल गर्दै नयाँ हाइरोक्स रिले कीर्तिमान पनि बनाए । ओपन व्यक्तिगत विधामा उनले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगिताका क्रममा उनले कुल २६ किलोमिटर दौडसँगै २६ वटा उच्च शारीरिक क्षमताका स्टेशन पूरा गर्दै उत्कृष्ट सहनशीलता र फिटनेस प्रदर्शन गरेका थि ए।
यो उपलब्धिसँगै कमलराज हाइरोक्स प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । साथै, उनले सहभागिता जनाएको लगातार १० वटा हाइरोक्स प्रतियोगितामै पोडियम फिनिस गर्दै अर्को ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छन् ।
ब्रिटिश सेनामा भर्ती हुने प्रयास असफल भएपछि पनि हार नमानी फिटनेस खेलतर्फ अघि बढेका कमलराजले अहिले विश्वस्तरको हाइरोक्स प्रतियोगितामा नेपालको झण्डा फहराउँदै नयाँ इतिहास रचेका हुन् ।
उनको सफलताले व्यक्तिगत उपलब्धिलाई मात्र होइन, नेपालको फिटनेस खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको खेल क्षेत्रका जानकारहरूको भनाइ छ । विश्वभर लोकप्रिय बन्दै गएको हाइरोक्समा कमलराजको प्रदर्शन नेपाली खेलाडीका लागि प्रेरणाको स्रोत बनेको छ ।