इन्जिनियरविरुद्ध सवा २ करोडको भ्रष्टाचारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार चौधरीले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०८२ असार २९ गतेसम्मको आम्दानी र खर्चको विश्लेषण गर्दा वैध आयको स्रोतले नधान्ने गरी २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ । अनुसन्धानका क्रममा चौधरी र उनको एकाघर परिवारले जाँच अवधिमा वैधानिक रूपमा २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ आम्दानी गरेको देखिएको छ । तर सोही अवधिमा जग्गा, घर, सवारीसाधन, शेयर, सुन, घर निर्माण, शिक्षा, बीमा तथा अन्य लगानीसहित ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आयभन्दा बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालिएको हो । त्यसै आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद, जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ । यस्तै, चौधरीकी श्रीमती अर्पना कुमारीको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति पनि जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।
२ अर्ब रुपैयाँको हुण्डी कारोबार, व्यक्तिगत खाता प्रयोग
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीका अनुसार गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङको सत्यदेवी–८ घर भई हाल काठमाडौं महानगरपालिका–नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजालले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त आरोपमा काठमाडौं जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिएपछि सोही दिन नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीले पक्राउ परेका रिजालमाथि हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
करोडौँमा बिक्री हुने भन्दै पुरानो सिक्का देखाएर ठगी, तीन जना पक्राउ
भद्रपुर । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार ठगी गर्ने समूहले पुराना तथा धार्मिक आकृति भएका सिक्काहरू विदेश वा बजारमा करोडौँ मूल्यमा बिक्री हुने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका छन् । सुरुमा विश्वास दिलाउन सिक्का देखाउने र त्यसपछि सिक्का परीक्षण वा खरिद प्रक्रियाको बहानामा रकम असुलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकांश पीडितहरूले कानुनी जटिलता वा लाजका कारण उजुरी नगर्दा यस्ता गिरोह थप सलबलाउने गरेको प्रहरी नायब उपरीक्षक अवाले बताए । प्रहरीले कुनै पनि वस्तु रातारात करोडौँमा बिक्री हुने वा अस्वाभाविक नाफा हुने प्रलोभनमा परी आर्थिक कारोबार नगर्न आमनागरिकलाई अनुरोध गरेको छ ।