मिटरब्याजमा ऋण दिनेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) मार्फत सर्वसाधारणलाई शोषित–उत्पीडित बनाउने कार्यलाई कडा आर्थिक अपराधका रूपमा लिँदै मिटरब्याजीहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून अनुसार कारबाही अघि बढाउने भएको छ । गृह मन्त्रालय र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरी नेपाल राजपत्रमा प्रकाशित गरेसँगै मिटरब्याज सम्बन्धी कुप्रथाको उन्मूलनको घोषणा गर्ने तयारी गरिएको छ । यो घोषणासँगै नागरिकहरूमाथि आपराधिक तथा दूषित मनसायका साथ बनाइएका तमसुक, दृष्टि बन्धक, छिनुवा पास र बाध्यकारी चेकजस्ता सम्पूर्ण फर्जी लिखतहरू स्वतः अवैध हुनेछन् । गृह मन्त्रालयले तीन महिनाभित्र मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयकको मस्यौदा तयार गरी कानून निर्माणको प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ । प्रस्तावित ऐनमा मिटरब्याजमा गैरकानुनी रूपमा ऋण लगानी गर्ने व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अपराधमा अनुसन्धान गरिने, अनुचित लेनदेनका कारण पीडितले गुमाएको चल–अचल सम्पत्ति फिर्ता गराई उचित क्षतिपूर्ति भराइने र मुद्दाको द्रुत न्याय निरुपणका लागि विशेष न्यायाधीकरणको गठन गरिनेछ । यसका साथै स्थानीय तह (वडा) बाट लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको निस्सा र बैंकिङ वा विद्युतीय कारोबारको प्रमाण नभएमा वा एक पक्षको मात्र उपस्थितिमा गरिएको प्रमाणीकरणलाई आधिकारिकता नदिने कानुनी प्रबन्ध मिलाइनेछ । नयाँ कानुनी ढाँचा अनुसार वास्तविकभन्दा बढी रकमको लिखत बनाउनु, सावाँमा ब्याज जोडेर नयाँ लिखत खडा गर्नु, प्रचलित कानूनभन्दा बढी ब्याज लिनु, खाली चेक वा ल्याप्चे गराउनु, धम्की दिनु, शारीरिक तथा मानसिक हिंसा वा शोषण गर्नु र सम्पत्तिको हक हस्तान्तरण गराउनु जस्ता १६ प्रकारका कार्यहरूलाई मिटरब्याज अपराधको परिभाषाभित्र समेटिनेछ । यस्ता अपराधको अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण, सर्जमिन र फरेन्सिक परीक्षण लगायतका कार्यहरू मुलुकी फौजदारी संहिता बमोजिम अघि बढाइनेछ । पीडितका समस्या स्थानीय स्तरमै समाधान गर्न देशभरका सबै जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भू–प्रशासन, प्रहरी र आन्दोलनका प्रतिनिधिसहितको जिल्लास्तरीय सहजीकरण समिति गठन गरिनेछ । यो समितिले हरेक साता कम्तीमा ४ पटक बैठक बसी ६ महिनाभित्र प्राप्त सबै उजुरीहरू फछ्यौट गर्नुपर्नेछ । समितिको कामकारबाही अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति समेत रहनेछ । सहमति अनुसार मिटरब्याज पीडितहरूका विरुद्धमा सरकार वादी भई चलेका फौजदारी मुद्दाहरू कानून बमोजिम फिर्ता लिने र फैसला भइसकेका मुद्दामा सजाय माफी मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय भएको छ । साथै, आर्थिक रूपमा विपन्न नागरिकहरूलाई पुनः मिटरब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमै विशेष आर्थिक सहायता, राहत र क्षतिपूर्तिको कार्यक्रम समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस गरिनेछ ।
आज खिर खाएर मनाइँदै साउन १५, किन खाइन्छ आजको दिन खिर ?
काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरम मसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ । साउनमा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ । साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने यसका जानकारहरूको भनाइ छ । तर यसको कुनै शास्त्रीय वचन भने कतै पाइँदैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावदाना, सेवइ, मकै, गाजरलगायतको खिर पनि बनाउने गरिन्छ । सावदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउनमा हरिया मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन नेपाली समाजमा छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउखट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । प्रशोधित दूधमा तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ‘ल्याक्टोज’ र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ । यस वर्ष आठौँ खिर दिवस मनाउन लागिएको हो ।
सुनसरी घटनापछि निजी क्षेत्रको अपिल, शान्ति कायम गर्न आग्रह
काठमाडौं । सुनसरीको देवानगञ्ज, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति निजी क्षेत्रका दुई ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको बताए । कुनै पनि बहानामा हुने हिंसा, झडप र अशान्तिले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको जनजीवन, उद्योग–व्यवसाय तथा समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने उनको भनाइ छ । महासंघले मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । साथै भ्रम, उत्तेजना र अफवाहबाट टाढा रही संयमता अपनाउन तथा परम्परादेखि कायम सामाजिक भाइचारालाई थप मजबुत बनाउन सबैमा आग्रह गरेको छ । महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय नेतृत्वलाई पनि तनाव साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेको छ । यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ । कुनै पनि समस्या वा असन्तुष्टिको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई वार्ता र संवादबाट मात्रै सम्भव हुने भन्दै शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको उल्लेख गर्दै यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा प्रतिकूल असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । साथै, सामाजिक तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्न सद्भाव र्यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघहरू तथा निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।