युनाइटेड मोदी हाइड्रोले ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निकाल्ने

काठमाडौं । विद्युत् नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको छ ।

आयोगको भदौ २५ गते बसेको ३१९औँ बैठकको निर्णयअनुसार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । सो पुँजीको १:०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्दा ७९ करोड ९८ लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले आयोगसमक्ष पेस गरेको थियो ।

तर, आयोगले कम्पनीले मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि लिएको ऋणलाई आधार मानेर ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो ।

कम्पनीले यसअघि मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ ऋण लिएको जनाएको छ । थप १२ करोड ५० लाख रुपैयाँ कर्जा समेत गरी कुल ८० करोड रुपैयाँ ऋण लिएकोमा हकप्रद सेयरबाट प्राप्त रकम बैंक कर्जा भुक्तानीमा प्रयोग गर्ने कम्पनीको योजना छ ।

युनाइटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लामा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

कम्पनीको दशौँ वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई संशोधन गर्दै एघारौँ वार्षिक साधारणसभाले १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ९ बमोजिम उक्त पूर्वस्वीकृति दिएको जनाएको छ ।

Share News