मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड नाघ्यो, लाभांश क्षमता १२.७३ प्रतिशत

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ८.९८ प्रतिशत घटेर १४ करोड १२ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ९५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५०.२६ प्रतिशत बढेर ३० करोड ७४ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २० करोड ४५ लाख ९४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ७२ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ करोड ९ लाख ४७ हजार रुपैयाँ र सञ्चालन नाफा २० करोड १७ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ३२ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१ करोड १ लाख ६८ हजार रुपैयाँ र सञ्चालन नाफा १८ करोड ५७ लाख ८ हजार रुपैयाँ थियो ।  बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.७३ प्रतिशत रहेको छ ।  १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८ लाख ४१ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.६५ रुपैयाँबाट बढेर ११.६० रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात ५०.१६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४३.२ रुपैयाँ रहेको छ ।   गत असारसम्म बैंकको निक्षेप ३६ प्रतिशत बढेर ८ अर्ब ८५ करोड ३७ लाख ७२ हजार रुपैयाँ र कर्जा २९.२५ प्रतिशत बढेर ६ अर्ब ६९ करोड २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  अघिल्लो वर्ष ०.२८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२६ प्रतिशतमा झारेको छ । 

सेयर बजारमा ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एकसचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेर २७२६ बिन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोलाको २७ करोड, रिडि पावरको २४ करोड, सोलु हाइड्रोको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।   

एनआईसी एशियाले ल्यायो निःशुल्क डिम्याट र विशेष छुट योजना

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ । निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट खाता, विद्यार्थी लक्षित विशेष योजना तथा सीमित अवधिका लागि लाइफटाइम नवीकरण सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । क्यापिटलका अनुसार नयाँ डिम्याट खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट सेवा पाउनेछन् भने पहिलो वर्षको नवीकरण शुल्क पनि लाग्ने छैन । कम्पनीले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आफ्ना सेवा थप डिजिटल बनाएको जनाएको छ । विद्यार्थीलाई पुँजी बजारतर्फ आकर्षित गर्न ‘एनआईसी एसिया स्टुडेन्ट डिम्याट अकाउन्ट’ योजना पनि सञ्चालनमा ल्याइएको छ । यसअन्तर्गत निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्क छुट तथा निःशुल्क मेरो सेयर दर्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसैगरी, सीमित अवधिका लागि डिम्याट र मेरो सेयर खाताको लाइफटाइम नवीकरण योजना पनि ल्याइएको छ । तोकिएको एकमुष्ट शुल्क तिरेर ग्राहकले आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण सुविधा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो योजना साउन मसान्तसम्म लागू रहने उल्लेख गरिएको छ । एनआईसी एसिया बैंकमार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई पनि विशेष सुविधा उपलब्ध गराइएको छ । बैंकका शाखामार्फत डिम्याट तथा मेरो सेयर सेवा लिन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।