काठमाडौं । समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको जग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चितवन र काभ्रेमा रहेका जग्गा बिक्री गर्न लागेको हो ।
सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व असुल हुन नसकेपछि संस्थाको नाममा रहेको सम्पत्ति लिलाम गर्न लागिएको समितिले जनाएको छ । सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ को व्यवस्थाअनुसार जग्गाको न्यूनतम मूल्य निर्धारण गरी बोलपत्र आह्वान गरिएको हो ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारीको चितवनस्थित तीन कित्ता जग्गा लिलाममा राखिएको छ । चैनपुर-६ (६क) अन्तर्गत कित्ता नम्बर ३५३ को २०२.१८ वर्गमिटर जग्गाको न्यूनतम मूल्य १५ लाख ५२ हजार ३३८ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चितवनकै चैनपुर, ८ (८क) क्षेत्रमा रहेको कित्ता नम्बर ८७० को १७०.५० वर्गमिटर जग्गाको न्यूनतम मूल्य १६ लाख ११ हजार १९९ रुपैयाँ निर्धारण गरिएको छ । वीरेन्द्रनगर-४ (४क) स्थित कित्ता नम्बर ७५२ को १९४.६५ वर्गमिटर जग्गाको न्यूनतम मूल्य ९ लाख ४८ हजार ४४७ रुपैयाँ तोकिएको छ ।
गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा काभ्रेको नासिकास्थान साँगा-४ (४क) मा रहेको जग्गा पनि लिलाममा राखिएको छ । उक्त जग्गाको विवरणमा चार आना क्षेत्रफल उल्लेख छ । यसको न्यूनतम मूल्य प्रतिआना ४४ लाख रुपैयाँ तोकिएको छ ।
समितिले तोकेको न्यूनतम मूल्यभन्दा कम नहुने गरी इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र बचतकर्ताको दायित्व भुक्तानीका लागि सम्पत्ति बिक्री गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।