सबै दलका नेताले घण्टी बजाएर उद्घाटन गरे रास्वपा महाधिवेशन
काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा बरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेस सभापति गगन थापा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइसहित विभिन्न दलका नेताहरूले रास्वपा चुनाव चिन्न घण्टी बजार महाधिबेशन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा भारी वर्षा भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । उद्घाटन सत्रमा विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् । रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले नयाँ नेतृत्व चयन गर्नुअघि विधान संशोधन गरिसकेको छ । संशोधित विधान अनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।
रास्वपा महाधिवेशन : ३३ देशबाट आए १६३ जना प्रतिनिधि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी विज्ञप्ति अनुसार महाधिवेशनमा देश तथा विदेशबाट व्यापक प्रतिनिधिहरूको सहभागिता रहने सुनिश्चित भएको छ, जसमा ३३ वटा देशबाट मात्रै १६३ जना प्रतिनिधिहरू छानिएर आएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा कुनै नाम छुटेको, विवरण सच्याउनु पर्ने वा दावी विरोध गर्नुपर्ने भएमा चितवनको औद्योगिक प्रदर्शनी स्थलमा अवस्थित महाधिवेशन सचिवालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारीका सम्बन्धमा कडा नीति अवलम्बन गरेको छ । यसअघि पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवार भई पराजित भएका पार्टी सदस्यहरू राष्ट्रिय महाधिवेशन अन्तर्गत कुनै पनि पदमा उम्मेदवार बन्न पाउने छैनन् । यस विपरीत उम्मेदवारी दिएमा सो स्वतः रद्द हुने उल्लेख गरिएकाे छ ।
४ संस्थापक महाधिवेशन प्रतिनिधि बन्नै छुटे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा जारी गरेको पहिलो ऐतिहासिक महाधिवेशनमा चार संस्थापक नेताहरू भने महाधिवेशन प्रतिनिधिसमेत बन्न पाएनन् । २०७९ असार ७ मा विधिवत दर्ता भई छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यस दलको महाधिवेशनमा संस्थापक तहका केही प्रमुख अनुहारहरूको अनुपस्थितिले भने पार्टीभित्रको प्रारम्भिक यात्रामाथि पुनः बहस सिर्जना गरेको छ । महाधिवेशनबाट पार्टीका सबै संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने तयारी भए पनि स्थापनाकालदेखि नै चर्चित रहेका चारजना संस्थापक नेताहरू भने यस पटकको प्रक्रियामा सहभागी हुन सकेका छैनन् । पार्टी गठनदेखि संगठन विस्तार र वैचारिक दस्तावेज निर्माणसम्म सक्रिय भूमिका खेलेका यी नेताहरू अहिले रास्वपाको औपचारिक संरचनाभन्दा बाहिर रहेका छन् । पार्टी छाडेका प्रमुख संस्थापक सदस्यहरूमा पूर्वप्रवक्ता तथा पछि महामन्त्री बनेका मुकुल ढकाल, सहमहामन्त्री एवं पूर्व सांसद सुमना श्रेष्ठ, संस्थापक तहका अर्का नेता सन्तोष परियार र ढाकाकुमार श्रेष्ठ रहेका छन् । पार्टीको प्रारम्भिक संरचना निर्माणदेखि नीति तथा संगठन विस्तारसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ढकाल एक समय अध्यक्ष रवि लामिछानेपछिको दोस्रो वरीयतामासमेत रहेका थिए । तर, अनुशासन उल्लंघन गरेको आरोपमा पार्टी नेतृत्वले कारबाही गरेपछि उनी रास्वपाबाट अलग भएका हुन् । त्यसैगरी, श्रेष्ठ पार्टीको सहमहामन्त्री तथा समानुपातिक सांसदको जिम्मेवारीमा रहेकी थिइन् । उनी पार्टीको निर्णय प्रक्रिया, कार्यशैली र आन्तरिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै केही समयअघि नै पार्टीबाट अलग भएकी हुन्। अलग भएपछि उनी हालसम्म कुनै पनि राजनीतिक दलमा सक्रिय रूपमा आबद्ध भएकी छैनन् । जसले उनको आगामी राजनीतिक यात्राबारे समेत चासो बढाएको छ । अर्का संस्थापक सदस्य सन्तोष परियार भने रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् । उनी पनि प्रारम्भिक चरणमा पार्टी निर्माण, संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित थिए । त्यस्तै, पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पनि यस महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिने छैनन् । ०७९ को संसदमा समानुपातिक तर्फबाट सांसद बनेका ढाका स्वास्थ्यमन्त्री बन्न २ करोड मागेको आरोपमा पार्टीबाट निकालिएका थिए । उनी पनि पार्टीका संस्थापक सदस्य हुन् ।