काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा जारी गरेको पहिलो ऐतिहासिक महाधिवेशनमा चार संस्थापक नेताहरू भने महाधिवेशन प्रतिनिधिसमेत बन्न पाएनन् ।
२०७९ असार ७ मा विधिवत दर्ता भई छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यस दलको महाधिवेशनमा संस्थापक तहका केही प्रमुख अनुहारहरूको अनुपस्थितिले भने पार्टीभित्रको प्रारम्भिक यात्रामाथि पुनः बहस सिर्जना गरेको छ ।
महाधिवेशनबाट पार्टीका सबै संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने तयारी भए पनि स्थापनाकालदेखि नै चर्चित रहेका चारजना संस्थापक नेताहरू भने यस पटकको प्रक्रियामा सहभागी हुन सकेका छैनन् ।
पार्टी गठनदेखि संगठन विस्तार र वैचारिक दस्तावेज निर्माणसम्म सक्रिय भूमिका खेलेका यी नेताहरू अहिले रास्वपाको औपचारिक संरचनाभन्दा बाहिर रहेका छन् ।
पार्टी छाडेका प्रमुख संस्थापक सदस्यहरूमा पूर्वप्रवक्ता तथा पछि महामन्त्री बनेका मुकुल ढकाल, सहमहामन्त्री एवं पूर्व सांसद सुमना श्रेष्ठ, संस्थापक तहका अर्का नेता सन्तोष परियार र ढाकाकुमार श्रेष्ठ रहेका छन् ।
पार्टीको प्रारम्भिक संरचना निर्माणदेखि नीति तथा संगठन विस्तारसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ढकाल एक समय अध्यक्ष रवि लामिछानेपछिको दोस्रो वरीयतामासमेत रहेका थिए ।
तर, अनुशासन उल्लंघन गरेको आरोपमा पार्टी नेतृत्वले कारबाही गरेपछि उनी रास्वपाबाट अलग भएका हुन् ।
त्यसैगरी, श्रेष्ठ पार्टीको सहमहामन्त्री तथा समानुपातिक सांसदको जिम्मेवारीमा रहेकी थिइन् । उनी पार्टीको निर्णय प्रक्रिया, कार्यशैली र आन्तरिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै केही समयअघि नै पार्टीबाट अलग भएकी हुन्।
अलग भएपछि उनी हालसम्म कुनै पनि राजनीतिक दलमा सक्रिय रूपमा आबद्ध भएकी छैनन् । जसले उनको आगामी राजनीतिक यात्राबारे समेत चासो बढाएको छ ।
अर्का संस्थापक सदस्य सन्तोष परियार भने रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् । उनी पनि प्रारम्भिक चरणमा पार्टी निर्माण, संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित थिए ।
त्यस्तै, पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पनि यस महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिने छैनन् । ०७९ को संसदमा समानुपातिक तर्फबाट सांसद बनेका ढाका स्वास्थ्यमन्त्री बन्न २ करोड मागेको आरोपमा पार्टीबाट निकालिएका थिए । उनी पनि पार्टीका संस्थापक सदस्य हुन् ।