काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी विज्ञप्ति अनुसार महाधिवेशनमा देश तथा विदेशबाट व्यापक प्रतिनिधिहरूको सहभागिता रहने सुनिश्चित भएको छ, जसमा ३३ वटा देशबाट मात्रै १६३ जना प्रतिनिधिहरू छानिएर आएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा कुनै नाम छुटेको, विवरण सच्याउनु पर्ने वा दावी विरोध गर्नुपर्ने भएमा चितवनको औद्योगिक प्रदर्शनी स्थलमा अवस्थित महाधिवेशन सचिवालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
निर्वाचन आयोगले उम्मेदवारीका सम्बन्धमा कडा नीति अवलम्बन गरेको छ । यसअघि पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवार भई पराजित भएका पार्टी सदस्यहरू राष्ट्रिय महाधिवेशन अन्तर्गत कुनै पनि पदमा उम्मेदवार बन्न पाउने छैनन् । यस विपरीत उम्मेदवारी दिएमा सो स्वतः रद्द हुने उल्लेख गरिएकाे छ ।