एमालेको प्रश्न : रास्वपाको राजनीतिक सिद्धान्त र वैचारिक दिशा के हो ?

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो राजनीतिक सिद्धान्त र वैचारिक दिशा स्पष्ट गर्न आग्रह गरेका छन् । 

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले अब आन्दोलनलाई संस्थागत राजनीतिक संगठनमा रूपान्तरण गर्नुपर्ने बेला आएको बताए । उनले रास्वपाले राष्ट्रिय राजनीतिमा आफू कहाँ उभिने भन्ने विषय स्पष्ट पार्नुपर्ने धारणा राखे ।

'राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ रु यसको राजनीतिक सिद्धान्त के हो रु पार्टी केन्द्रमा उभिन्छ, वामपन्थी धारमा जान्छ, दक्षिणतर्फ ढल्किन्छ वा 'सेन्टर टु राइट' को बाटो रोज्छ ? यी प्रश्नहरूको उत्तर सिंगो देशले खोजिरहेको छ,' ज्ञवालीले भने ।

उनले निर्वाचनबाट प्राप्त जनादेशलाई सुदृढ लोकतन्त्र निर्माणमा रूपान्तरण गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जनादेशको रक्षा सबै राजनीतिक दलको साझा दायित्व भएको बताए। 'मत दिने र मत नदिने दुवै जनताको अनुहारमा उज्यालो ल्याउने गरी राजनीति अघि बढ्नुपर्छ', उनले भने।

ज्ञवालीले नेपालको भूराजनीतिक अवस्थाप्रति पनि ध्यानाकर्षण गराउँदै छिमेकी मुलुकहरूबीचको सन्तुलित कूटनीति कायम राख्नु आवश्यक रहेको बताए । उनले रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्रीको भारत भ्रमणपछि नेपालको भूराजनीतिक अवस्था कस्तो दिशातर्फ जान्छ भन्ने विषय चासोको रहेको उल्लेख गरे ।

'नेपालजस्तो मुलुकका लागि भूराजनीतिक दबाब थेग्न सहज हुँदैन । सरकारका केही प्रारम्भिक निर्णयले केही दबाब सिर्जना गरेका छन् । ती विषय अपवादमै सीमित रहून् भन्ने हाम्रो अपेक्षा छ', ज्ञवालीले भने । 

Share News