सभामुख अर्यालको प्रश्न: नागरिकलाई नियम, सरकारलाई छुट ?

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाईएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माण गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्लास्टिकका झोला देखिनु उचित नभएको उनले बताए । 

उनले उत्पादित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) पनि स्पष्ट रूपमा उल्लेख नगरिएको बताए । निजी क्षेत्रका व्यवसायीलाई आफ्ना उत्पादनमा एमआरपी अनिवार्य रूपमा राख्न निर्देशन दिइरहेको सरकारले आफ्नै उत्पादनमा भने एमआरपी स्पष्ट नदेखिएको उनको भनाइ थियो । उनले प्लाष्टिक झोला प्रयोग नगर्न तथा अनिवार्य रुपमा एमआरपी लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज बनाऊँ भनेर भनिरहेछ । तर सरकारकै तर्फबाट राखिएका केही स्टलहरूमा प्लास्टिकका झोलाहरू देखियो । त्यसलाई हामीले सुधार्नुपर्छ । हामीले जनतालाई एमआरपी राख भनेर एकदम निर्देशन दिइरहेको देखिन्छ । तर सरकारकै प्रडक्टमा एमआरपी स्पष्टसँग देखिएन । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

खाद्य संस्थानले आयोजना गरेको तिहार विशेष रैथाने मेलामा करिव २६ वटा स्टल रहेका छन् । मेलामा तिहारको लागी सामान किन्नेहरुको भीड लागेको छ । सभामुख अर्यालले पनि सोमवार मेलाको अवलोकन गर्नुको साथै आवश्यक सामान खरिद गरेका थिए ।

Share News