सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैनः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाई छ । 

उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पु¥याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकार र सत्तारुढ दलको नेतृत्व सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ ।

उनले भने, ‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको सहकारी ठगी लगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन । यसको लागि नेकपा एमाले अन्य सबै दलहरूसँग आवश्यकता अनुसारको सहकार्य गर्दै आन्दोलनलाई व्यवस्थित गराउँदै, आफ्नो सङ्गठनात्मक परिणामहरूलाई व्यवस्थित गराउँदै, स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै, स्थानीय तह र प्रदेश तहका निर्वाचनलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने कार्यभार बोकेर एमाले जानेछ ।’

उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आगामी स्थानीय तह र प्रदेश तहका निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए । आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्नेगरि अगाडी बढाउन आवश्यक रहेको बताए ।

Share News