काठमाण्डू गोखार्जको पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले पहिलो जित दर्ज गरेको छ । गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै जितको खाता खोलेको हो । काठमान्डुको यो पहिलो जित हो भने कर्णालीको पहिलो हार हो । कर्णाली याक्सले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य काठमान्डुले २ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्यो । काठमान्डुका लागि रसिद खानले सर्वाधिक ५० रनको इनिङ्स खेलेका थिए । उनीबाहेक डेभिड वार्नरले १६ रन बनाउँदा करण केसीले २० बलमा ४४ रन बनाए । कर्णालीका लागि सोमपाल कामी र हुसेन तलातले २–२ विकेट लिँदा मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए । त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले ४४, मार्क वाटले १७, पवन सर्राफ ३० र हुसेन तलातले ४० रन बनाए । त्यस्तै, गुल्सन झाले २० रन बनाए । काठमान्डुका लागि करण केसीले २ विकेट लिँदा सहाब आलम, देव साह र सन्तोष यादवले १–१ विकेट लिए ।
कर्णालीले काठमाण्डूलाई दियो १८१ रनको लक्ष्य
काठमाडौं । कर्णाली याक्सले काठमाण्डू गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुल २० ओभरमा ६ विकेट गुमाउँदै कर्णालीले १८० रनको योगफल तयार पारेको हो । कर्णालीका लागि हुसेन तलतले ४०, पवर सर्राफले ३०, गुल्सन झाले २० र मार्कले १७ रन बनाए । काठमाण्डूका लागि कप्तान करण केसीले दुई विकेट लिए । त्यसैगरी, साहब आलम, जाहाडाड खान, देव साह र सन्तोष यादवले समान एक विकेट लिए । कर्णाली जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराउँदै तालिकाकाे शीर्ष स्थानमा छ । यसअघि काठमाण्डूले टस जित्दै फिल्डिङ रोजेको थियो ।
एनपीएलमा आज काठमाडौं-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । आजको पहिलो खेलमा काठमाडौं गोर्खाज पहिलो जितको खोजीमा मैदान उत्रनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यता, कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघिका दुवै खेलमा जित हात पारेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिमका लागि यो खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ । उसले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ । अर्कोतर्फ, चितवन राइनोज प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए । आजको खेल जित्दै चितवन अपराजित यात्रा कायम राख्न चाहन्छ ।