काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले पहिलो जित दर्ज गरेको छ ।
गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै जितको खाता खोलेको हो । काठमान्डुको यो पहिलो जित हो भने कर्णालीको पहिलो हार हो ।
कर्णाली याक्सले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य काठमान्डुले २ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्यो ।
काठमान्डुका लागि रसिद खानले सर्वाधिक ५० रनको इनिङ्स खेलेका थिए । उनीबाहेक डेभिड वार्नरले १६ रन बनाउँदा करण केसीले २० बलमा ४४ रन बनाए ।
कर्णालीका लागि सोमपाल कामी र हुसेन तलातले २–२ विकेट लिँदा मार्क वाट र नन्दन यादवले १–१ विकेट लिए ।
त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले ४४, मार्क वाटले १७, पवन सर्राफ ३० र हुसेन तलातले ४० रन बनाए । त्यस्तै, गुल्सन झाले २० रन बनाए ।
काठमान्डुका लागि करण केसीले २ विकेट लिँदा सहाब आलम, देव साह र सन्तोष यादवले १–१ विकेट लिए ।