एनपीएलमा आज काठमाडौं-कर्णाली र सुदूरपश्चिम-चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

आजको पहिलो खेलमा काठमाडौं गोर्खाज पहिलो जितको खोजीमा मैदान उत्रनेछ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यता, कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघिका दुवै खेलमा जित हात पारेको कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो ।

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिमका लागि यो खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ । उसले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ ।

अर्कोतर्फ, चितवन राइनोज प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए । आजको खेल जित्दै चितवन अपराजित यात्रा कायम राख्न चाहन्छ ।

Share News