ब्याटिङ र बलिङमा चम्किएका १० खेलाडी

कसले कति रन बनाए, कति विकेट लिए ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुरुवाती खेलसँगै ब्याटिङ र बलिङ दुवैतर्फ खेलाडीबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । केही खेलाडीले आक्रामक ब्याटिङबाट रनको वर्षा गरेका छन् भने केही बलरले निरन्तर विकेट लिँदै आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

अहिलेसम्म एनपीएलमा विराटनगर किंग्सका लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलबाट १८८ रन बनाएका छन् । उनको ब्याटिङ औसत ४७ र स्ट्राइक रेट १६२.०७ छ । उनले ११ चौका र १६ छक्का प्रहार गरेका छन् । दुई अर्धशतक बनाएका बमको सर्वाधिक व्यक्तिगत स्कोर ८७ रन हो ।


बमपछि विराटनगरकै आन्द्रे रसेल दोस्रो स्थानमा छन् । उनले चार खेलबाट १४१ रन बनाएका छन् । ७०.५० को औसत र १९८.५९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका रसेलले ८ चौका र १४ छक्का प्रहार गरेका छन् ।

उनको नाममा एक अर्धशतक छ । ब्याटिङसँगै बलिङमा पनि प्रभाव जमाएका रसेलले ६ विकेट लिएका छन् । जनकपुर बोल्ट्सविरुद्धको खेलमा उनले २९ बलमा अविजित ५२ रन बनाउनुका साथै ६ विकेटसमेत लिएका छन् ।

कर्णाली याक्सका अरिफुल इस्लाम ११९ रनसहित तेस्रो स्थानमा छन् । उनले तीन खेलमा आठ चौका र १० छक्का प्रहार गरेका छन् । जनकपुरका सैफ हसन ११२ रनसहित चौथो स्थानमा छन् । उनले ५६ को औसतमा एक अर्धशतक बनाएका छन्। उनको सर्वाधिक स्कोर ७१ रन हो । 

जनकपुरकै मोइन अली १०८ रनसहित पाँचौँ स्थानमा छन् । उनले एक अर्धशतक बनाएका छन् । ब्याटिङभन्दा बलिङमा उनको प्रदर्शन अझ प्रभावकारी देखिएको छ । १४ ओभर बलिङ गरेका उनले सात विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ १३ रन दिएर तीन विकेट लिनु हो । बलिङमा उनको इकोनोमी दर ४.८६ छ ।

कर्णालीका पवन सर्राफले तीन खेलमा १०३ रन बनाएका छन् । उनको औसत ५१.५० छ । विराटनगरका इमरान शेखले १०० रन बनाउँदा एक अर्धशतक पूरा गरेका छन् । उनले १० चौका र चार छक्का प्रहार गरेका छन् ।

null

छक्का र चौकामा पनि लोकेशकै दबदबा

छक्का प्रहार गर्ने खेलाडीको सूचीमा पनि लोकेश बम पहिलो स्थानमा छन् । उनले १६ छक्का प्रहार गर्दा रसेलले १४ छक्का हानेका छन् । अरिफुल इस्लामले १० छक्का प्रहार गरेका छन् । सैफ हसन र पवन सर्राफले समान आठ छक्का हानेका छन् । 

चौका प्रहारमा पनि लोकेश ११ चौकासहित अगाडि छन् । इमरान शेखले १०, जनकपुरका त्रितराज दासले नौ तथा रसेल र अरिफुलले समान ८ चौका प्रहार गरेका छन् । यसले विराटनगरका ब्याटरले प्रतियोगितामा आक्रामक खेल देखाइरहेको पुष्टि गर्छ । 

null

अर्धशतकको हिसाबले लोकेश बम दुई अर्धशतकसहित अगाडि छन् । रसेल, सैफ हसन, मोइन अली र इमरान शेखले एक-एक अर्धशतक बनाएका छन् । यस्तै, दीपेन्द्रसिंह ऐरी, त्रितराज दास र राशिद खानले पनि एक-एक अर्धशतक बनाएका छन् । 

विकेटमा तीन खेलाडी शीर्षमा

बलिङतर्फ जनकपुर बोल्ट्सका मोइन अली, विराटनगर किंग्सका एन्जेलो म्याथ्युज र कर्णाली याक्सका सोमपाल कामीले समान सात विकेट लिएका छन् । उनीहरू सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा अगाडि छन् । 

मोइनले १४ ओभर बलिङ गर्दै ६८ रन खर्चेर सात विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ १३ रन दिएर तीन विकेट हो । म्याथ्युजले ८ ओभरमा ८० रन खर्चेर सात विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २५ रन दिएर तीन विकेट लिनु हो । 

कर्णालीका सोमपालले तीन खेलमा सात विकेट लिएका छन् । उनले १० ओभर बलिङ गर्दै ८२ रन खर्चिएका छन् । उनको उत्कृष्ट बलिङ ३३ रन दिएर चार विकेट लिनु हो । चार विकेट लिने प्रदर्शन गर्ने उनी प्रतियोगिताका प्रभावशाली बलरमध्ये एक हुन् । 

सुदूरपश्चिम रोयल्सका अनिल खरेल र जनकपुरका हरमित सिंहले समान ६ विकेट लिएका छन् । जनकपुरकै राहुल यादव र विराटनगरका आन्द्रे रसेलले पनि समान ६ विकेट लिएका छन् । रसेलले चार विकेट लिने प्रदर्शनसमेत गरेका छन् । \

null

व्यक्तिगत प्रदर्शनमा नयाँ कीर्तिमान

एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सविरुद्धको खेलमा अर्को कीर्तिमान बनाएको छ । उक्त खेलमा लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले एउटै इनिङ्समा अर्धशतक बनाए । एनपीएल इतिहासमा एउटै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएको यो पहिलो घटना हो । 

लोकेशले ४० बलमा तीन चौका र तीन छक्कासहित ५० रन बनाए । इमरानले ४५ बलमा पाँच चौका र दुई छक्कासहित ५६ रन बनाए । रसेलले २९ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५२ रन बनाए । यी तीन खेलाडीले मात्रै विराटनगरको कुल १७४ रनमध्ये १५८ रन बनाएका थिए ।

Share News