काठमाडौं । त्रिवि क्रिकेट मैदानमा दर्शकको हुटिङ चर्किन थाल्छ । दर्शकदीर्घाबाट ‘लोकेश... लोकेश...’ को आवाज सुनिन्छ । उनी ब्याटिङका लागि मैदान प्रवेश गर्दा होस् वा क्रिजमा जमेर बललाई बाउन्ड्री कटाउँदा, दर्शकको उत्साह झन् बढ्छ । उनले प्रहार गर्ने प्रत्येक चौका र छक्कासँगै मैदानको माहोल तातिन्छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा लोकेश बमको ब्याटिङले सिर्जना गर्ने आकर्षण यस्तै छ । उनी मैदानमा आउँदा दर्शकले रनको अपेक्षा गर्छन् । बल ब्याटमा जोडिएपछि त्यो अपेक्षा हुटिङमा बदलिन्छ । आक्रामक ब्याटिङ, लामो छक्का र छोटो समयमा खेलको गति बदल्न सक्ने क्षमता नै लोकेशको परिचय बनेको छ ।
विराटनगर किंग्सबाट एनपीएलको तेस्रो संस्करण खेलिरहेका लोकेशले आफ्नो यही परिचयलाई ब्याटिङबाट पुष्टि गरिरहेका छन् । प्रतियोगिताका सुरुवाती चार खेलमा उनले १८८ रन बनाएका छन् । ८७ रन उनको सर्वाधिक व्यक्तिगत स्कोर हो । ४७.२५ को औसत र १६४.३५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले दुई अर्धशतक बनाइसकेका छन् । यस अवधिमा ११ चौका र १६ छक्का प्रहार गरेका उनले कुल २७ बाउन्ड्री हानेका छन् ।
लोकेशको ब्याटिङमा एउटा विशेषता छ, उनी क्रिजमा धेरै समय बिताएर रन जोड्नेभन्दा उपलब्ध बललाई अधिकतम उपयोग गर्न खोज्छन् । बलको लाइन र लम्बाइ पहिचान गरेर प्रहार गर्ने उनको शैलीले विपक्षी बलरलाई दबाबमा पार्छ । विशेषगरी आक्रामक ब्याटिङ आवश्यक पर्ने अवस्थामा उनी टोलीका लागि महत्वपूर्ण खेलाडी बन्दै गएका छन् ।

डोटीबाट राष्ट्रिय टोलीसम्म
लोकेश बमको जन्म सन् २००० अगस्ट १३ मा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा भएको हो । दायाँहाते ब्याटर तथा विकेटकिपरका रूपमा खेल्ने उनी नेपाली राष्ट्रिय टोलीका सदस्य हुन् । घरेलु क्रिकेटबाट आफ्नो यात्रा सुरु गरेका लोकेशले उमेर समूह, राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटसम्मको यात्रा तय गरेका छन् ।
उनले सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र विराटनगर किंग्सलगायत टोलीबाट क्रिकेट खेलेका छन् । घरेलु प्रतियोगितामा देखाएको प्रदर्शनकै आधारमा उनले राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
नेपालका लागि उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण १२ फेब्रुअरी २०२२ मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध भएको थियो । ओमानको अल अमेरातमा भएको उक्त खेलपछि उनी राष्ट्रिय टोलीको टी–२० संरचनामा समेटिँदै आएका छन् ।
टी-२० मा ७३६ रन, अन्तर्राष्ट्रिय क्रिकेटमा ३२१
लोकेशको टी-२० क्रिकेट करिअर हेर्दा उनको ब्याटिङमा आक्रामकता र रन बनाउने क्षमता देखिन्छ । उपलब्ध तथ्यांकअनुसार उनले टी-२० क्रिकेटका ४१ खेलमा ७३६ रन बनाएका छन् । उनको उच्चतम स्कोर १०६ रन हो ।
२६.२९ को औसत र १५२.३८ को स्ट्राइक रेटमा खेलेका उनले एक शतक र दुई अर्धशतक बनाएका छन् । यस क्रममा ५६ चौका र ५३ छक्का प्रहार गरेका छन् ।
अन्तर्राष्ट्रिय टी-२० मा भने उनले २७ खेलबाट ३२१ रन बनाएका छन् । २१.४० को औसत र १५७.३५ को स्ट्राइक रेट उनको अन्तर्राष्ट्रिय ब्याटिङ तथ्यांक हो । यस क्रममा उनले एक अर्धशतक बनाएका छन् । उनको सर्वाधिक स्कोर अविजित ५२ रन हो ।
लोकेशको करिअरमा १०६ रनको शतकीय इनिङ्स महत्वपूर्ण उपलब्धि हो । उनले नेपाल ए टोलीबाट आयरल्यान्ड वुल्भ्सविरुद्ध सन् २०२४ मा ५६ बलमा १०६ रन बनाएका थिए । उक्त इनिङ्सले उनको आक्रामक ब्याटिङ क्षमता मात्र होइन, आवश्यक पर्दा लामो इनिङ्स खेल्न सक्ने क्षमता पनि देखाएको थियो ।
उनले घरेलु टी-२० क्रिकेटमा अहिलेसम्म १५ खेलबाट ४६५ रन बनाएका छन् । यसक्रममा एक शतक र दुई अर्धशतक बनाएका छन् । घरेलु टी-२० मा उनको औसत ३३.२१ र स्ट्राइक रेट १४५.७७ छ । यसले अन्तर्राष्ट्रिय क्रिकेटको तुलनामा घरेलु प्रतियोगितामा उनी अझ प्रभावकारी रूपमा रन बनाउन सफल भएको देखाउँछ ।
एनपीएलमा निरन्तर प्रभाव
एनपीएलमा पनि लोकेशको प्रदर्शन क्रमशः प्रभावकारी हुँदै गएको छ । सन् २०२४ मा विराटनगर किंग्सबाट खेलेका उनले लुम्बिनी लायन्सविरुद्ध ४७ बलमा ७१ रन बनाएका थिए । सन् २०२५ को एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध ४८ बलमा ७२ रन बनाए । सन् २०२६ को संस्करणमा भने कर्णाली याक्सविरुद्ध ५२ बलमा ८७ रन बनाएका छन् ।
यस संस्करणमा कर्णालीविरुद्ध ८७ रन बनाएका उनले सुदूरपश्चिमविरुद्ध १० बलमा २५ रन र जनकपुरविरुद्ध ४० बलमा ५० रन बनाए । चितवनविरुद्धको पहिलो खेलमा १४ बलमा २६ रन बनाएका थिए ।
यी फरक इनिङ्सले उनी परिस्थितिअनुसार आफ्नो ब्याटिङ शैली बदल्न सक्ने खेलाडी रहेको देखाउँछन् । आवश्यक पर्दा लामो समय क्रिजमा टिकेर रन बनाउन सक्छन् भने अन्तिम ओभरतिर तीव्र गतिमा रन जोड्ने भूमिका पनि निर्वाह गर्न सक्छन् ।
उनी चार खेल खेल्दासम्म एनपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडीमात्रै बनेका छैनन्, सबैभन्दा बढी बाउन्ड्री प्रहार गर्ने, एकै गेममा बढी स्कोर बनाउने र बढी अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा चिनिएका छन् ।

आक्रामकता नै पहिचान
लोकेश दायाँहाते ब्याटर हुन् । उनी विकेटकिपिङ पनि गर्छन् । उनको ब्याटिङको मुख्य विशेषता आक्रामकता हो । टी-२० क्रिकेटमा कम बलमा धेरै रन बनाउनु महत्वपूर्ण हुन्छ । त्यसका लागि उनी चौका र छक्कालाई प्राथमिकता दिने गर्छन् ।
उनको करिअरको स्ट्राइक रेटले पनि यही कुरा देखाउँछ । समग्र टी–२० मा १५२.३८ र अन्तर्राष्ट्रिय टी–२० मा १५७.३५ को स्ट्राइक रेटमा ब्याटिङ गर्नु उनको आक्रामक शैलीको प्रमाण हो । ५३ छक्काको तथ्यांकले पनि बललाई सीमापारि पु¥याउने क्षमताको संकेत गर्छ ।
अर्को महत्वपूर्ण पक्ष उनको विकेटकिपिङ क्षमता हो । ब्याटिङसँगै विकेटपछाडिको जिम्मेवारी पनि पूरा गर्न सक्ने भएकाले टोलीले उनलाई दोहोरो भूमिकामा उपयोग गर्न सक्छ । टी-२० क्रिकेटमा यस्तो खेलाडी टोलीका लागि उपयोगी हुन्छन् ।
एनपीएलमा विराटनगर किंग्सका लागि लोकेशको भूमिका महत्वपूर्ण देखिएको छ । टोलीमा आन्द्रे रसेलजस्ता विस्फोटक ब्याटर रहे पनि नेपाली खेलाडीबाट ठूलो योगदान आउनु टोलीका लागि सकारात्मक पक्ष हो । लोकेशले ब्याटिङमा देखाएको प्रदर्शनले विराटनगरको मध्यक्रमलाई थप बलियो बनाएको छ ।
तर, आक्रामक ब्याटिङ उनको बलियो पक्ष भए पनि त्यसलाई निरन्तर प्रदर्शनमा बदल्नु चुनौती छ । अन्तर्राष्ट्रिय टी–२० मा २७ खेलबाट ३२१ रन र २१.४० को औसत छ । घरेलु क्रिकेटमा शतक बनाइसकेका उनले अन्तर्राष्ट्रिय स्तरमा पनि नियमित रूपमा ठूलो इनिङ्स खेल्न सक्ने क्षमता विकास गर्नुपर्ने देखिन्छ ।
लोकेशको ब्याटिङमा दर्शकले खोज्ने कुरा रन मात्रै होइन, मनोरञ्जन पनि हो । उनी क्रिजमा हुँदा दर्शकले चौका र छक्काको अपेक्षा गर्छन् । उनको ब्याटबाट बल उड्दा मैदानमा हुटिङ गुञ्जिन्छ । यही आक्रामक शैली र दर्शकसँग जोडिने खेलले लोकेशलाई एनपीएलका आकर्षक नेपाली खेलाडीमध्ये एक बनाएको छ ।
डोटीबाट क्रिकेट यात्रा सुरु गरेका लोकेशका लागि अबको लक्ष्य आफ्नो यही क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तरता दिनु हो । दर्शकको हुटिङलाई रनमा बदल्दै नेपाली क्रिकेटमा आफ्नो पहिचान अझ बलियो बनाउने अवसर उनका सामु छ ।