अपि पावर कम्पनीको सीईओमा शिशिर भट्टराई नियुक्त

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार उनको कार्यकाल चैत १७ गतेदेखि लागू हुनेगरी सुरु भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको अध्यक्ष बने ज्ञानेन्द्र ढुंगाना

काठमाडौं । बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका ज्ञानेन्द्र ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीकाे अध्यक्षमा नियुक्त भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरञ्जन फुयालका अनुसार सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले सोही दिनदेखि लागू हुने गरी ढुंगानालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । यसअघि ढुंगानालाई कम्पनीको फागुन १२ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको थियो। ढुंगाना हालै नबिल बैंककाे सीईओ पदबाट राजीनामा दिएका हुन् । त्यसअघि उनी साबिक नेपाल बंगलादेश बैंकका सीईओ र एनसीसी बैंक का जनरल म्यानेजर रहिसकेका थिए । बैंकिङ क्षेत्रमा पुर्याएकाे योगदानलाई सम्मान गर्दै उनलाई प्रबल जनसेवा श्री पदक बाट सम्मानित गरिएको थियो । साथै, उनी नेपाल बैंकर्स’ एसोसिएसनका पूर्व अध्यक्ष पनि हुन्।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा केन्द्रित हुने जस्ता एजेण्डासहित श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । उनले बागमती प्रदेशका भूगोलका उद्योग वाणिज्य संघहरू, सबै वस्तुगत संघहरू तथा एसोसियट सदस्यहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली र लेखा प्रणालीदेखि नापतौल सम्मका विषयमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । बजार अनुगमनमा नाममा व्यवसायीहरूले पाउने दुःख र हैरानी सधैँका लागि अन्त्य गर्न बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरूसँग स्थानीय प्रशासनले सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध गर्ने आफ्नो योजना रहेको पनि श्रेष्ठले बताएका छन् । २०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भएका थिए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए । उनी उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् । पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित हुने प्रतिवद्धतासहित आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।