सिबिफिनको अध्यक्ष बने प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । हिमालयन बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि सिबिफिनको महासचिव थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै उनी सिबिफिनको अध्यक्ष पदबाट स्वतः हटेपछि रिक्त भएको पदमा श्रेष्ठलाई चयन गरिएको हो । सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । श्रेष्ठ अध्यक्षमा नियुक्त भएसँगै सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन् । त्यस्तै, एनआईसी एशिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई चयन गरिएको छ । सिबिफिनमा पदाधिकारी पदका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ भने अन्य पदका लागि सञ्चालक भए पनि योग्यता पुग्ने प्रावधान रहेको छ । सिबिफिनको अध्यक्ष वाणिज्य बैंकका अध्यक्षमध्येबाटै चयन गरिने व्यवस्थाअनुसार वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरूकै बीचबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । निर्णयअनुसार प्रधानले माघ ४ गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हाल्नेछिन् । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पदमा प्रधानलाई कामु सीईओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।
एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
काठमाडौं । एशिया बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहबाट अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा नियुक्त भएकी छन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव भएकी राजभण्डारीले बैंकको सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले यसअघि तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेकी थिइन् । एनआईसी एशिया बैंकले नवनियुक्त सञ्चालक राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरेको छ ।