काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको ३७७औँ बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते समाप्त भएको थियो । सोही कारण नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कायम मुकायम सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
श्रेष्ठ यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
अमित श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव छ, जसमा नेपाल एसबीआई बैंक लिमिटेडमा काम गरेको ६ वर्षको अनुभवसमेत समावेश छ ।
उनले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड (एफएमडीबीएल) को सञ्चालकका रूपमा समेत काम गरिसकेका छन् । उनीकाे शासन व्यवस्था, संस्थागत सञ्चालन, कर्जा व्यवस्थापन तथा संस्थागत व्यवस्थापनका क्षेत्रमा अनुभव रहेको छ।